काठमाडौं । आगामी चैत २ देखि ६ गतेसम्म हुने छैठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दुई जुरी समितिमा दुईजना नेपाली कलाकर्मी मनोनित भएका छन् । अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्रलाल बलामी छोटा र बृत्तचित्र जुरी समितिमा मनोनित भएका छन् ।
अभिनेत्री कार्कीले दर्जनौं चलचित्रमा अभिनय गरेकी छिन् भने माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्रलाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफयोग्य भूमिका निर्वाह गर्दै आएका छन् ।
यस वर्ष निफमा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । निफमा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिनेछ । निफका अध्यक्ष के.पी. पाठकले एक विज्ञप्तिमार्फत् यो कुराको जानकारी दिएका हुन् ।