विश्वभर नक्कली मदिराले बजार लिइरहँदा नेपालमा पनि यसको बजार बढेर गएपछि यसको स्रोत र सञ्जालको खोजी सुरू भएको छ । नेपाल सरकार र यस मातहतका निकायहरू महङ्गा नक्कली विदेशी मदिरा आयात नियन्त्रणको प्रयासमा जुटिरहे पनि सफलता भने हात लाग्न सकिरहेको छैन ।
संघीय राजधानी काठमाडौंमा विभिन्न ब्रान्ड र लेबलका स्वदेशी तथा विदेशी नक्कली मदिराको बिगबिगी बढेपछि यो सरकारका लागि चुनौतीका रूपमा देखा परिरहेको छ । काठमाडौं प्रहरीले अनुसन्धान र खोजतलास थालेको धेरै समय भए पनि यसको रूट र स्रोत पत्ता लगाउन प्रहरी सफल भएको छैन ।
उपत्यकाको प्रहरी केवल बजार अनुगमन र सूचना सङ्कलनसम्म मात्र पुगे पनि नक्कली रक्सीको बजार व्यवस्थापनमा कुनै पनि कमी आएको छैन । प्रहरी अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा बजार अनुगमन गरिरहेको बताउँदै गर्दा बिक्रि वितरणमा संलग्नहरूमध्ये केहीलाई पक्राउ गरेपनि खासै उपलब्धी हात लाग्न सकिरहेको छैन ।
यता काठमाडौं उपत्यकमा विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखाना नै फेला परेको तथ्य खुलेपछि यसले अनुसन्धान कति फितलो र अप्रभावकारी रहेछ भन्ने कुरा सतहमा ल्याएको छ ।
विशेष अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यकाको कुपण्डोलमा अवैध नक्कली मदिरा उत्पादन तथा कारोबार गर्ने क्रममा उक्त नक्कली कारखानामा मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको खाली बोतल, स्टिकर, राजस्व/अन्तःशुल्कको प्रयोगका कागजात तथा लेबलिङ एवं प्याकेजिङ गर्ने सामान र मेसिनलगायत विभिन्न सामग्री अनुसन्धान प्रहरीको हातमा परेको छ ।
यसले खोजी प्रक्रियालाई केही सुराक र बल पनि दिलाएको छ । नेपाल आफैमा अन्तर्राष्ट्रिय पर्यटनको नीति योजना र कार्यक्रम कार्यान्वयनको दीर्घकालीन प्रक्रियामा छ । यस्तो बेलामा विदेशी पाहुना नेपालमा आएर नक्कली मदिराको राज थाह पाए भने यसले पर्यटकीय क्षेत्रमा पनि ठूलो असर पार्ने देखिन्छ ।
साथै, सरकारले प्राप्त गर्नुपर्ने राजस्वमा पनि निकै कमी हुन जाँदा देशमा आर्थिक विचलनको समस्या झनै दुरूत्साहित भएर जाने कुरामा दुविधा देखिदैन । हाल बजारमा विदेशी ब्राण्डका रक्सीहरूमध्ये नक्कली गोल्डेनवाक, भोड्का, मुगलान, एफल, खुकुरी रम, रुस्लान भोड्का आदिका बोतल र तिनका लागि नक्कली रक्सी तयारीका लागि आवश्यक सामग्री भेटिएपछि नक्कली रक्सीको फ्याक्ट्रि एक ठाउँमा मात्र छ भनेर चूपचाप रहन सक्ने अवस्था देखिदैन ।
अहिले पनि यस्ता प्रकृतिका नक्कली रक्सीहरू स्पष्ट लेबल र मापदण्डविपरीत धमाधम बिक्री भइरहेका छन् । यस्ता रक्सी सेवनबाट सेवनकर्ताको ज्यानै जानसक्ने र यस्ता पेय निकै जोखिम रहने अनुसन्धानले देखाएको छ ।
नक्कली रक्सी उत्पादनका लागि आवश्यक पर्ने सारा सामग्री पाइएको अनुसन्धानमा खुलेपछि यसको स्रोत र रूट अन्तर्राष्ट्रिय नै रहेको सामान्य अनुमान जोकसैले पनि गर्न सक्छ ।
देशभर मदिराको अवैध कारोबारको मात्रा ह्वात्तै बढेको हालको अवस्थामा सम्बन्धित निकाय निकै सम्वेदनशील बन्नैपर्छ । त्यसैले बेलैमा नक्कली मदिराको सञ्जाल तोड !