पेशाप्रति समर्पित जिज्ञासु र आफूमा भएको ज्ञान र सीपलाई निरन्तर परिमार्जन र परिष्कृत गर्दै जाने दृढ इच्छाशक्ति भएको इमान्दार जनशक्तिबाट मात्रै कार्यरत संस्था फस्टाउने कुरामा दुईमत हुन सक्दैन् । सक्षम जनशक्तिलाई संस्थाभित्र भित्र्याउन तथा उनीहरुलाई संस्थाको हितमा दत्तचित्त भएर निरन्तर लाग्न अभिप्रेरित गर्न सकेमा व्यवस्थापन पक्ष सफल भएको मानिन्छ ।
उपलब्ध जनशक्तिको योग्यता र क्षमतालाई परिष्कृत र परिमार्जित गर्दै उनीहरुमा अन्तरनिहित प्रतिभाको भरपूर उपयोग संस्थाको हितको लागि गर्न उत्प्रेरित एवम् उत्साहित बनाउनु पर्ने हुन्छ । स्वच्छ र सक्षम प्रशासनको सुनिश्चितताको लागि विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ ।
कार्यरत जनशक्तिको पेशागत उत्कृष्टताका लागि नौ ‘नि’ अर्थात् नीतिज्ञता, निर्दिष्ठता, नियमितता, निष्ठता, निस्वार्थता, निसङ्कोचता, निष्कलङ्कता, निर्भिकता, निष्पक्षतालाई सुत्रको रुपमा अनुकरण र अभ्यास गर्न सार्थक हुनसक्छ ।
यी पक्षहरुको प्रयोग सावधानीपूर्वक स्वयम् पेशाकर्मी र संस्थाबाट अनुशरण गरेमा संस्थागत प्रगति र प्रतिष्ठा बढाउन उल्लेख्य भूमिका खेल्ने अपेक्षा गर्नु अन्यथा नहोला । सुशासनको प्रवद्र्धन गर्न अत्यावश्यक पर्ने पारदर्शिता, विकेन्द्रितता, सहभागिता तथा विधिको शासन जस्ता आधारभूत पक्षलाई अर्थपूर्ण बनाउन समेत प्रस्तुत नौ “नि” कोसेढुंगा सावित हुनेछ ।
नीतिज्ञता : नीतिज्ञता आफूले अंगालेको पेशाका सैद्धान्तिक तथा व्यावहारिक धरातल एवम् आधार र आचरणको बारेमा स्पष्ट धारणा भएको शक्ति हुनुपर्दछ । संस्थाको सफलताको लागि लगनशील र समर्पित तथा अनुशासित जनशक्तिको खाँचो पर्दछ । कार्यरत संस्थाकोे उद्देश्य प्राप्तिका लागि अवलम्बन गरिएको आधारभूत दर्शन सिद्धान्त र लक्ष्य बारेमा स्पष्ट जानकारी राखी पारङ्गत हुनुपर्दछ ।
तब मात्रै संस्थाको उद्देश्यपूर्ती गर्न पेशाकर्मी सक्षम हुन्छ । दृढ इच्छाशक्तिका साथ भूमिका निर्वाह गर्न पनि आफूले अंगालेको पेशाको कार्य सम्पादनको विधि र प्रक्रियाका बारेमा यथेष्ट जानकारी राख्नुपर्दछ । अन्यथा कुहिरोको काग हुन बेर लाग्दैन । नेता भन्दा नीतिको आधारमा प्रशासन चलाउन कृतसङ्कल्पित नेतृत्व आजको खाँचो हो । कञ्चन आचरण, आचरसंहिताको अक्षरस अनुशरण तथा संस्थाको उद्देश्य प्राप्तिको लागि आवश्यक नविनतम् ज्ञान र सीपबाट सुसज्जित सकारात्मक सोंच भएका कर्मचारीबाट मात्र संस्थाको विकास र विस्तारको अपेक्षा गर्न सकिन्छ ।
निर्दिष्टता : एकातिर संस्थाको उद्देश्य प्राप्तिमा मन, वचन र कर्मले समर्पित जनशक्तिको आवश्यकता पर्दछ भने अर्कातर्फ संस्थाले Vision, Mission, Strategies को बारेमा कार्यरत सबै कर्मचारीलाई प्रशिक्षित गराउनु पर्दछ । संस्थाको उद्देश्यप्रति सदैव अजुर्नदृष्टि राख्ने हौसला भएका कर्मचारीबाट मात्रै अपेक्षित उपलव्धि हासिल गर्न सकिन्छ । साथै उनीहरुमा संस्थाप्रति स्वामित्वको अनुभूति गराउनु पर्दछ । यसले अपनत्वको भावनाको विकास हुन्छ । कार्यशैलीमा सक्षमता र प्रभावकारिता ल्याउँछ । पेशाकर्मीको वृत्तिविकास, अनुगमन मूल्याङ्कन प्रभावकारी र प्रभावशाली बनाउँदै उसको उच्च मनोबल र दृढ इच्छाशक्तिलाई संस्थाको हितमा निरन्तर प्रयोगको लागि प्रोत्साहित गर्ने वातावरण बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।
नियमितता : तोकिएको समयभित्र मितव्ययीरुपले सुगमतापूर्वक लक्ष्यमा पुग्नको लागि कार्यशैलीमा नियमितता र निरन्तरता हुुनुपर्दछ । कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने बानीको विकास गर्नुपर्दछ । पारदर्शी एवम् सहभागितामूलक सहमतिमा आचारसंहिता लागू गर्नुपर्दछ । व्यक्तिभन्दा विधिको शासनलाई प्राथमिकता दिन चुक्नु हुँदैन । कार्य सम्पादनमा चुस्त दुरुस्तता ल्याउन अर्थपूण नियमित अनुगमन निरीक्षणलाई विशेष ध्यान दिनुपर्दछ । जसकालागि कार्ययोजनाको नियमित मूल्यांकन, निर्णय प्रक्रिया तथा अनुगमन निरीक्षणको सार्थकता साथै कार्यदक्षताको आधारमा पुरस्कार र दण्डको व्यवस्थालाई इमान्दारीपूर्वक अवलम्वन गरेमा नियमिततालाई प्रवद्र्धन गर्न सघाउ पुर्याउँदछ ।
निष्ठता : आफूले अंगालेको पेशाप्रति श्रद्धापूर्वक आस्था र विश्वास राख्दै पेशागत धर्म निर्वाहमा समर्पित हुनुलाई निष्ठापूर्वक लागेको मान्न सकिन्छ । भनिन्छ, मन अनुसारको धर्म, पेशा अनुसारको कर्म । पेशागत प्रतिष्ठालाई सर्वोपरी मानी निर्दिष्ट कानून अनुरुपको कार्यशैलीलाई अपनाउनाले कार्यरत संस्थाको प्रतिष्ठा र सफलतालाई अभिवृद्धि गर्दछ । जसले अब्बल र सफल पेशाकर्मीको रुपमा स्थापित हुन टेवा पुर्याउँदछ ।
आफूले अंगालेको पेशाप्रति अनास्थापूर्वक बद्खुवाई तथा निरासा जाहेर गर्नाले सेवाग्राहीको विश्वास गुमाउन पुगिन्छ । जुन एक सफल संस्था र पेशाकर्मीको लागि घातक बन्न पुग्दछ । कार्य क्षमता मापनमा पराक्रम भन्दा परिक्रमाले अर्थात् गणेश प्रबृतिले प्रश्रय पाएको वर्तमान टिठलाग्दो यथार्थतामा निष्ठतालाई जतन गर्नु चुनौतीपूर्ण काम हो । त्यसकारण कुनै पनि पेशा अंगाल्नु पूर्व राम्रो सोचविचार गर्नुपर्दछ । पेशामा प्रवेश गरि सकेपछि निष्ठापूर्वक पेशागत धर्म निर्वाह गनुपर्दछ । अन्यथा आफू र संस्था प्रति बेइमानी गरेको ठहर्छ ।
निस्वार्थता : आफ्नो व्यक्तिगत लाभहानीलाई भन्दा पनि संस्थाको नीति नियमको परिधिभित्र रहेर सेवाग्राही तथा संस्थाको लागि समर्पित, परोपकारी भावनाबाट प्रेरितभई कार्य सम्पादन गर्ने बानीले लोकप्रियता कमाइन्छ साथै स्वभिमानी भई समाजमा प्रतिष्ठित नागरिकको रुपमा जीवनयापन गर्न बल पुग्दछ । साथै मानसिक शारीरिक विकास एवम् आत्मसन्तुष्टी हुने यथार्थलाई नकार्न सकिन्न । सदाचारको विद्यमान खस्किंदो अवस्थामा इमान्दारिताको खडेरी परेको छ । तसर्थ कर्मचारीले आफ्नो छवि सुधार्नु पहिलो प्राथमिकतामा पर्दछ । सबै क्षेत्रमा चाकडीमा रमाउने कमिसनमा कमाउने स्वार्थी मनोवृतिले गाँजेको वर्तमान परिप्रेक्षमा निस्वार्थ बन्न र बनाउन ठूलै त्याग र तपस्याको खाँचो पर्दछ ।
निसंकाेच : आफूमा भएको प्रतिभा वा मनमा लागेको कुरालाई आवश्यकता अनुसार बिना हिच्किचाहट निर्धक्क राख्ने साहस गर्नाले व्यक्तित्वको विकास हुन्छ । निर्धक्कसँग आफ्ना कुरा राख्ने वातावरण हुँदा संस्थाले आफ्नो कर्मचारीको धारणा बुझेर उनीहरुको चाहना अनुरुप व्यवस्थापन गरी अधिकतम् लाभ लिन सक्छ । त्यसैले पेशाकर्मीले पनि आफ्नो कमी कमजोरी र सवल पक्ष पहिचान गरी सुधार्ने मौका मिल्दछ । सेवाग्राही वा अन्यबाट प्राप्त प्रतिक्रियाको आधारमा आफ्नो कमी कमजोरीलाई समयमानै सच्याउने अवसर मिल्छ । जसले आफ्नो योग्यता क्षमतालाई अरु परिस्कृत गर्दै पेशागत सक्षमता ल्याउन सहयोग गर्दछ । भनाई पनि छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । तसर्थ आफ्नो प्रतिभाको प्रदर्शन गर्नाले पनि पेशागत उत्कृष्टता सशक्त बनाउन होस्टेमा हैंसे गर्दछ ।
निस्कलंकता : भनिन्छ, प्रतिष्ठा आर्जन गर्नभन्दा त्यसलाई निष्कलङ्क राख्न चुनौतिपूर्ण हुन्छ । जताततै बग्रेल्ती अनुशासनहीन काम भइराखेको वर्तमान अवस्थामा त निष्कलंकतालाई जतन गर्न झन चुनौति भएकाे छ । एक सभ्य सुशील एवम् स्वाभिमानी आर्दश नागरिक बन्नको लागि उसको चरित्र तथा व्यक्तित्वमा कुनै किसिमको दाग लाग्न दिनुहुँदैन । सार्वजनिक पेशाकर्मीले त झन चनाखो हुनुपर्दछ ।
सामाजिक प्रतिष्ठालाई उदाहरणीय बनाउन विकृति, विसंगति, लोभ, लालचा त्यागेर व्यवहार र आचरणमा निर्मलता ल्याउन सदैव प्रयत्नशील रहनुपर्दछ । कुनै पनि प्रलोभनमा परेर आफ्नो आर्दश र नैतिकतालाई दाऊमा राख्नु हुँदैन । सेवाग्राहीको विश्वास जित्न काइते बानीलाई ढिम्किन नदिई निस्वार्थ मन बचन कर्मले लाग्नु पर्दछ । स्वच्छ, उदार र निर्मल हृदय भएको हुनुपर्दछ । कार्यस्थलमा कसैको दवाब, प्रभाव अभाव, र रवाफमा नपरिकन कार्य सम्पादन गर्ने उत्साहित तथा ऊर्जाशील वातावरणको सिर्जना आजको खाँचो हो । जसले गर्दा कर्मचारीलाई अरुको आस र त्रासमा बाँच्नुपर्ने वाध्यता पर्दैन ।
निर्भिकता : आफूलाई लागेको सान्र्दर्भिक विषय वस्तु तथा जिज्ञासालाई निर्भिक भई प्रस्तुत गर्नाले आफ्नो बौद्धिकतालाई अद्यावधिक गर्दै परिमार्जन एवम् परिस्कृत गर्न योगदान पुर्याउँदछ । यसबाट आत्मसन्तुष्टि प्राप्त भई दृढ इच्छाशक्ति एवम् उच्च मनोवल बनाउन मद्दत गर्दछ । निर्भिकता कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न आवश्यक पहिलो शर्त हो । यो संसार सुराहरुको हो र इतिहास निर्माण कायरले गर्दैनन । त्यसकारण पेशागत उत्कृष्टता हासिल गर्न आफ्नो योग्यता र क्षमतालाई उचित ठाँउमा निर्भिकतासाथ हाकाहाकी राख्ने आँटिलो बानीको विकास गर्न पछि पर्नु हुँदैन । निर्भिक हुनाले आफ्नो मनको कुण्ठालाई माझ्न, भ्रमलाई चिर्न र उत्साही बन्न थप ऊर्जा प्रदान गर्दछ । ‘स्पष्टवक्ता सुखिभवेत’ भन्ने भनाईको तात्पर्य पनि यही हो ।
निष्पक्षता : आफ्नो कार्य सम्पादनमा कुनै पनि प्रकारको प्रलोभनमा नपरी वा नाता गोता आदिको आफ्नो कार्य सम्पादनमा प्रभाव नपारी तटस्थतापूर्वक कार्य सम्पादन गर्नुलाई निस्पक्षता भनिन्छ । विकृति विसंगती र स्वार्थी सोच र संस्कारले गाँजेको वर्तमान परिवेशमा निष्पक्षतालाई मुलमन्त्र ठानेर निर्णय प्रक्रिया टुङ्ग्याउने प्रवृतिको विकास गर्नु चुनौती भएको छ । त्यसकारण आफ्नो काम कार्वाहीमा हाम्रा भन्दा राम्रालाई प्राथमिकता दिई प्रशासन चलाउने उच्च आर्दशबाट प्रेरित हुनसकेमा निष्पक्षता कायम गराउन बल पुग्दछ । सेवाग्राहीसँग आत्मीय सम्वन्ध कायम राख्न र उनीहरुको विश्वास जित्न सक्नु पर्दछ । त्यस्तै नतिजामुखि अनुगमन, निरीक्षण, पुरस्कार र दण्डको व्यवस्थाले पनि निष्पक्षतालाई सुनिश्चित गर्न सघाउ पुर्याउँदछ ।
निष्कर्षमा भन्नुपर्दा पेशाकर्मीले आफ्नो पेशागत धर्म निर्वाह गदै सर्वोत्कृष्ट बन्ने दृढ इच्छाशक्ति राखेर मन, वचन र कर्मले समर्पित हुनुपर्दछ । प्रशासन मायाले भन्दा न्यायले चल्नुपर्दछ । उल्लेखित नौ ‘नि’ले पेशाकर्मीलाई पदीय सफलता हासिल गरेर अब्बल र उदाहरणीय व्यक्तित्व विकास गर्दै सुशासनको प्रत्याभूतिको लागि मार्ग दर्शनको भूमिका खेल्ने छ ।