• मंसिर २० २०८१, बिहीबार

नेपाली अपनत्व नबिर्स

माघ १८ २०७९, बुधबार

नेपालमा संघीय संविधान र व्यवस्था कार्यान्वयनका क्रममा २/२ वटा आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेका छन् । पछिल्लो समयमा लेखिएको संविधान र अपनाइएको व्यवस्था केही नेपाली विशिष्टतामा ढालिएका पनि छन् ।

यसमा साझेदारहरू पनि रहेको यथार्थता अहिले आएर व्यवहारमा देखा पर्न थालेका छन् । विश्व शक्तिका रूपमा उदय हुँदै गरेका हाम्रा विसाल उत्तरी तथा दक्षिणी छिमेकीहरूको आआफ्नो सोच, विचार र योजनाहरू रहेका छन् ।

यी दुई छिमेकी आफ्नो मित्र तथा छिमेकी देश नेपालको भूमिबाट आफूहरू विरूद्ध कुनै पनि काम नहोस् भन्ने चाहन्छन् । यी दुईको चासो यस अर्थमा समान छ । नेपाल पनि यही समदुरी व्यवहारका कारण आजपर्यन्त यहाँ आइपुगेको छ ।

विश्व महाशक्तिका रूपमा रहेको अमेरिका नेपालको मित्र राष्ट्र हो । यससँग पनि लामो र अन्तरङ्गपूर्ण सम्बन्ध रहिआएको छ । तर अहिले विश्व परिवेशमा केही मौलिक फरक देखा परेको छ ।

त्यो हो, अबका दिनमा विश्व गुटबन्दीका रूपमा रहेका तात्कालीन ‘वार्सा’ र ‘नेटो’ उही र उस्तै शक्तिमा रहेका छैनन् । वार्सा विघटन भइसकेको छ भने नेटो विघटोन्मुख अवस्थामा छ ।

तर पनि त्यति बेलाका महाशक्ति राष्ट्रहरू अमेरिका, रूस आदि अहिले पनि संसारमा कतै न कतै आफ्नो प्रभुत्वका लागि प्रयासरत छन् । चीन, जापान, भारत, ब्राजिलजस्ता देशहरू उदीयमान अवस्थामा छन् ।

यस्तो बेलामा साधन र स्रोतले सम्पन्न एशिया महादेशमा रहेको नेपाल आफै भूरणनीतिक महत्वको क्षेत्रमा परेको छ । बदलिँदो परिस्थितिले नेपाललाई पुरानै अवस्थामा रहिरहन दिने ठाउँ कतै पनि देखिदैन ।

पुराना सम्बन्धहरू नवीकरणको मुखमा आइरहेका छन् । पुराना शासकीय सोचहरू काम नलाग्ने अवस्थामा पुग्न थालिसकेका छन् । देशमा आएको राजनीतिक परिवर्तनको प्रतिफलको चाहना जनतामा उत्कट रूपमा अभिव्यक्त भइरहेको छ ।

सानो होस् वा ठूलो या त भद्र होस् वा विद्रोहात्मक जे र जुन रूपमा भए पनि विकल्पको चाहना र खोजी जनतामा व्यवहारिक रूपमा अभिव्यक्त भइरहेको छ । पुराना राजनीतिक पार्टी र नेताहरू नयाँपन थाम्न र सम्बोधन गर्न सक्ने क्षमता र हैसियतबाट बञ्चित हुँदै गइरहेका छन् ।

नयाँ विकल्प स्पष्ट रूपमा देखा परिरहेको छैन । यसले सिंगो देशलाई अझैं पनि राजनीतिक संक्रमणको बाटोमा हिँडाइरहेको छ । यति बेला समस्याको समाधान विदेशी पहल र निर्देशनबाट हुन सम्भव छैन ।

नेपाल आफ्नो विशिष्ट पहिचान र विशिष्टताका कारण नेपाल भएको हो र नेपाल रहेको हो । यसको आफ्नो विशिष्टता छन्, जो अरू देशको तुलनामा भिन्न छन् ।

यही स्वत्वरूपी विशिष्टता र भिन्नता पहिचान गरेर शासकहरूले नेपाल र नेपालीको भविष्य तय गर्न भुल्नु हुँदैन ।