• आश्विन ५ २०८१, शनिबार

राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको अध्यक्षमा पदम पुनमगर निर्वाचित

माघ १७ २०७९, मंगलवार

पोखरा । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पदमबहादुर पुनमगरलाई सभापतिमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा द्वय पूणर् सिरानामगर, काशी रानामगर र सचिवमा महाविर थापामगर, सहसचिवमा मोहन थापामगर, कोषाध्यक्षमा विष्णुबहादुर थापामगर चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्याप्टेन हरिबहादुर थापामगर, शिवबहादुर थापामगर, ज्योति थापामगर, माया पुनमगर, दलबहादुर थापामगर, रुपामाया रानामगर, बुद्धिमाया शेरपुञ्जा, श्रीराम रानामगर, धनकुमारी थापामगर, ओमकुमारी फगामीमगर, सनबहादुर रानामगर, चित्रबहादुर थापामगर र हिराबहादुर घर्तिमगर चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले मगर समुदायको हक अधिकारकालागि कांग्रेसले सक्दो प्रयास गर्ने बताए । उनले नेपाल राष्ट्रिय मगर संघ कांग्रेसको भातृसंस्था भएको बताउँदै प्रजातान्त्रिक मगरलाई पार्टीले मूल्यांकन गर्ने बताए ।

मगर समुदायले पनि आफ्ना हक अधिकारकालागि पार्टीभित्र निरन्तर संर्घष गर्दै आफ्ना अधिकार प्राप्तिका लागि लड्नु पर्नेमा जोड दिए । नेपाल राष्ट्रिय मगर संघको कार्यलाई पार्टीले मूल्यांकन गर्दै लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा समेत समावेश गरेको उल्लेख गर्दै मगर समुदायको भाषा, धर्म संस्कृतिलाई जगेर्ना गर्दै पहिचान दिन नेपाली कांग्रेस सधै लागि पर्ने बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अथिति कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले मगर समुदायले राज्य एकीकरणदेखि हालसम्म देशको रक्षाकोलागि  महत्वपूर्ण काम गरेको बताए । मुलुककोलागि मगर समुदायले गरेको योगदानलाई कांग्रेसले पहिचान गर्दै पार्टी भित्र प्रजातान्त्रिक मगर समुदायको पहुँच र अवसरकोलागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले राज्यको हरेक तहमा पुग्न मगर समुदायले निरन्तर प्रयास गर्दै आफ्ना अधिकारकालागि पार्टीको गतिविधिमा सक्रिय हुनुपर्ने पनि बताए ।

उद्घाटन सत्रमा बोल्दै नेपाल राष्ट्रिय मगर संघका काबा अध्यक्ष दिनेश थापामगरले राष्ट्रिय मगर संघले पछिल्लो समय निकै नै सक्रिय भएर देश र समाजकालागि काम गरेको बताए । उनले कांग्रेसको विचारलाई आत्मसाथ गर्दै प्रजातान्त्रिक मगरहरुले देशव्यापी रुपमा कार्यक्रम गरेको बताए । प्रजातान्त्रिक मगरहरुलाई कांग्रेसले अवसर प्रदान गर्दै राज्यको हरेक तह र तप्का  पुर्याउन पर्नेमा जोड दिए ।

उद्घाटन सत्रमा नेपाल राष्ट्रिय मगर संघका महामन्त्री इच्छु रानामगर, सहमहामन्त्री जीतराज रानामगर, कोषाध्यक्ष कृष्ण थापामगर, गण्डकी प्रदेशका सांसद दिपेन्द्र थापामगर, संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य विन्दादेवी आले, नेपाली कांग्रेस स्याङज्याका निवर्तमान काबा सभापति कुमार राना, नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेशका सांसद जीतप्रकाश आले, राष्ट्रिय मगर संघ तनहुँका सभापति माया राना, राष्ट्रिय मगर संघका प्रतिनिधि तथा नेपाली कांग्रेस जिल्ला सदस्य मायादेवी राना लगायतले प्रजातान्त्रिक मगर समुदायलाई पार्टीले मूल्यांकन गरी राज्यको मूलधारमा लग्न पार्टीलाई ध्यानाकर्षण गरेका थिए ।

मगरको आर्थिक, सामाजिक, साँस्कृतिक तथा पहिचानलाई पार्टीले उच्च मूल्याकंन गर्दै कांग्रेस पार्टीको केन्द्रीय समितिमा पुर्याउन र अवसर दिन भूमिका खेल्नु पर्ने धाराणा राखेका थिए ।

कार्यक्रमको अध्यक्ष पदम पुनमगरले गरेका थिए भने कार्यक्रमको सहजिकरण सचिव खड्क थापागमरले गरेका हुन् । अधिवेशनमा मगर संस्कृति झल्किने गीत र नृत्य गरिएको थियो । साथै कार्यक्रममा संगठनमा योगदान पुर्याउने व्यक्तित्व तथा निर्वाचनमा विजयी व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।