• मंसिर ११ २०८१, मंगलवार

अमेरिकी उपविदेशमन्त्रीले चीन तर्फ संकेत गर्दै दिन खोजेको सन्देश के हो?

माघ १७ २०७९, मंगलवार

काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालको दुई दिने भ्रमणमा चीन तर्फ संकेत गर्दै अधिनायकबाद भएको टिप्पढी गरेकी छिन् । सोमबार ललितपुरको पाटनमा भएको पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा नुल्याण्डले घुमाउरो तरिकाले चीन र रसियालाई जोडिन् ।

नेपालमा नयाँ सरकार गठनपछि पहिलो पटक अमेरिकाबाट यो उच्चस्तरीय भ्रमण हो । उनको भ्रमणको उद्धेश्य नयाँ सरकारको अमेरिकाप्रतिको धारणा र अमेरिकाले लगानी गरेको साझेदारको परियोजनाको अध्ययन गर्नु थियो । गत वर्ष मात्रै ६० अर्बको अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको संसदबाट अनुमोदन भएको थियो । जसलाई अनुमोदन गर्नु अघि नेपालको सार्वभौम अधिकारको विषयलाई लिएर चीन र अमेरिकाबीच आरोप प्रत्यारोप चल्यो । जसले नेपालको भूराजनीतिमा एउटा उछाल ल्यायो ।

विश्वको ठुलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुमधुर ढंगले अगाडि बढिरहेकै बेला एमसीसीले एउटा तरंग त ल्यायो । सो तरंगपछि चीनका उच्च अधिकारीहरुले पनि नेपाल भ्रमण गरेर नेपाल सरकारको धारणा बुझेका थिए । कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठनपछि अमेरिका प्रतिको धारणामा केही बदलाब आयो कि भन्ने बुझाइमा अमेरिकी उपविदेशमन्त्री नेपाल आएकी थिइन् ।

चीन र रुस जस्ता मुलुकसँग नेपालको सम्बन्ध सघन नहोस् भन्नेमा अमेरिकी चिन्ता देखिन्छ। अधिनायकवादी शासनव्यवस्था भएका मुलुकसँग नेपालको सम्पर्क बढे अमेरिकी प्रभाव कम हुने विश्लेषण छ। युक्रेन मामिलादेखि ताइवानसम्मका विश्वव्यापी भूराजनीतिक मुद्दामा अमेरिकाले नेपालको साथ खोजेको छिपेको छैन।

साेही प्रसंगमा उनले नेपाल भ्रमणका क्रममा शीर्ष नेताहरु मात्रै भेटिनन् । विश्वका ठूला राष्ट्र चीन र रसियाको विषयमा घुमाउरो ढंगमा प्रसंङ्ग उब्जाइन् । ‘नेपालमा हालै भएका चुनाव पनि लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण रहे। हामी अहिले विश्वभर अधिनायकवादीले बलपूर्वक विश्वव्यापी नियमलाई आफ्नो हातमा लिन प्रयास गरिरहेको देख्न सक्छौँ,’ उनले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘तर, नेपाल र अमेरिका त्यो बाटोमा हिँड्दैनन्। यी दुवै मुलुक आफ्ना जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न चाहन्छन्। जनताको चाहनाद्वारा शाषित हुन चाहन्छन् र सरकारले जनताको हितमा काम गर्छन्। यो नै नेपाल र अमेरिकाको लोकतन्त्रको मुख्य अवयव हुन्, त्यसकारण हामी लोकतन्त्रको रक्षाका लागि मिलेर काम गर्नुपर्छ। मैले यही कुरा यहाँको सरकारसमक्ष बताएँ।’

अमेरिकाले आफूलाई लोकतन्त्रको पहरेदार ठान्दै आएको छ। उसले खासगरी आफ्ना प्रतिद्वन्द्वी मुलुक रुस र चीनलाई अधिनायकवादीको संज्ञा दिने गर्छ। चीन र रुस एकातिर, अमेरिका सहित पश्चिमा शक्ति अर्कोतिर भई विश्वराजनीति धु्रवीकृत भइरहेका बेलामा नेपाल आएकी अमेरिकी वरिष्ठ अधिकारीले लोकतन्त्रको रक्षामा नेपाल अमेरिकाको महत्वपूर्ण साझेदार रहेको बताएकी हुन्।