एजेन्सी । युक्रेनमाथि रुसको आक्रमण सन्दर्भमा एक “असाधारण” फोन सम्पर्कमा भ्लादिमिर पुटिनले आफूलाई क्षेप्यास्त्र हमलाको धम्की दिएको बोरिस जोनसनले बताएका छन्।
तत्कालीन ब्रिटिश प्रधानमन्त्री जोनसनका अनुसार पुटिनले त्यस्तो आक्रमणका लागि “एक मिनेट मात्र लाग्ने” बताएका थिए।
जोनसनले सन् २०२२ को फेब्रुअरीमा भएको “निकै लामो” कुराकानीका क्रममा युद्ध “पूर्ण रूपमा विध्वंशकारी” हुने चेतावनी दिएपछि पुटिनले त्यस्तो टिप्पणी गरिएको बताए।
उक्त संवादको विवरण बीबीसी निर्मित वृत्तचित्रमा सार्वजनिक गरिएको छ जसमा पुटिनको विश्व नेताहरूसँगको अन्तरक्रियाबारे विश्लेषण गरिएको छ। जोनसनले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी प्रतिबन्धहरू सामना गर्नुपर्ने र रुसको सिमानामा नेटो सेना थपिने चेतावनी दिएका थिए।
उनले पुटिनलाई युक्रेन “निकट भविष्यमा” नेटोमा संलग्न नहुने बताउँदै रुसको कथित सैन्य कारबाहीलाई रोक्न खोजेका थिए।
जोनसनले भने, “उनले मलाई एक विन्दुमा धम्की दिँदै भने,’बोरिस, म तिमीलाई पीडा दिन चाहन्न तर क्षेप्यास्त्रले चोट पुर्याउन एक मिनेट मात्र लाग्छ।’” बीबीसी