• मंसिर १७ २०८१, सोमबार

चार्ल्सको टाउको काटेका क्रमवेलको अस्थिपञ्जरलाई यसरी दिइएको थियो फाँसी

माघ १२ २०७९, बिहीबार

ओलिभर क्रमवेल बेलायतका निकै चर्चित राजनीतिक नेता हुन् । उनको नेतृत्वमा गणतन्त्र बेलायत स्थापना भएको थियो । बेलायतमा राजतन्त्र, त्यो पनि निकै गएगुज्रेको अवस्थामा चलिरहेको थियो । जनता निकै आजित थिए भने सेनाहरु पनि राजाको विपक्षमा थिए ।

यस्तो मौकाको फाइदा उठाउँदै क्रमवेल अगाडि बढे । उनलाई क्रमशः सेनाले साथ दिन थाल्यो । सेनाको सहयोगमा उनी बेलाती संसदमा सांसद बन्न सफल भए । त्यसपछि सन् १६४९ देखि १६५३ सम्म बेलायतका हर्ताकर्ता अभिभावक बनेरै रहे ।

ओलिभर क्रमवेलले गणतन्त्रको स्थापनासँगै राजा चार्ल्सको टाउको काटेका थिए । भनिन्छ, चार्ल्स निकै निरंकुश थिए । जनताबाट बहिस्कृत भएका थिए । चार्ल्सले बेलायती समाजलाई कहिल्यै पनि परिवर्तन गर्ने र परिवर्तन हुन दिने छैनन भनेर सबैलाई लागेको थियो ।

चार्ल्सको टाउको गिंडनका लागि क्रमवेलको हस्ताक्षर जरुरी थियो । तर धेरैलाई के आशंका थियो भने क्रमवेल आफैमा प्युरिटन धर्मावलम्बी भएकाले उनले राजाको टाउको गिंड्ने कुरामा हस्ताक्षर गर्ने छैनन् ।

किनकि प्युरिटनहरु ईश्वरले दिएको भाग्य र भविष्यमा निकै विश्वास गर्छन् । तर क्रमवेलले राजा चार्ल्समाथि एक्सन लिनका लागि हस्ताक्षर गरे । राजा काटिए ।

क्रमवेलका पालामा होटेलहरु, डान्सवारहरु, रक्सी पसलहरु र नाटकघरहरु पनि बन्द गरिए । धेरै खेलहरुमाथि प्रतिबन्ध लगाइए । सन्डे बिदाका दिन फुटबल खेल्ने केटाहरुलाई कडा सजाय दिन थालियो । महिलामाथि कडा निगरानी सुरु भयो ।

महिलाका लागि चर्च बाहेक मर्निङवाक बन्द गरियो । महिलाका लागि कपडा सिफारिस गरिए अनुसार लगाउनु पर्ने नियमहरु बनाइए । मेकअपका सामानहरुमाथि प्रतिवन्ध लगाइएको थियो । चहकिला कपडाहरुमाथि प्रतिबन्ध लगाइएको थियो ।

कुर्कुच्चासम्म ढाकिने काला कपडा महिलाका लागि सिफरिस गरिएका थिए । त्यसमाथि सेतो एप्रोन र कपाल फोको पारेर बाँध्ने नियम बनाइएको थियो । पुरुषहरु छोटो कपाल पाल्ने र कपडा प्राय कालो नै लगाउने गर्दथे । क्रमवेलले त क्रिसमस मनाउन पनि प्रतिवन्ध लगाएका थिए ।

किनकि त्यसबेला क्रिसमस मनाउने भनेको रक्सीखाने, रमाइलो मनाउने र समय खर्चगर्ने मात्र बन्न पुगेको थियो । यी सबै कुरा एउटा प्युरिटन धर्मावलम्बीका लागि पाप हुन जान्थ्यो । मानिसले पछि मात्र थाह पाए कि क्रिसमस पर्वमाथि लगाइएको प्रतिवन्ध रक्सी, जुवा, भट्टी, समय खर्च आदि नगरुन् भनेर गरिएको थियो ।

तर आश्चर्यको कुरा त के थियो भने क्रमवेलले जे कुरा जनताका लागि नगर्न कानुन बनाएका थिए, ती कुरामा उनको लत नै थियो । अर्थात् उनलाई यी कुराहरु छुट थिए । उनी खेल खेल्थे, सङ्गीत सुन्थे र छोरीहरुको विहेमा निकै फजुल खर्च गर्ने गर्दथे ।

बेलायतलाई राजनीतिक रुपमा ११ वटा प्रशासनिक इलाकाहरुमा विभाजन गरिएको थियो । हरेक प्र्रशासनिक इलाकाहरु आर्मी जनरलहरुबाट शासित थिए । यी जनरलहरु क्रमवेलका विश्वास पात्रहरु हुन्थे ।

यस्ता धार्मिक मानिसमा भने आइरिश क्याथोलिक धर्मप्रति निकै घृणा थियो । उनले यी सबैलाई राष्ट्रघाती देख्ने गर्दथे । यीमाथि बेलायतले आफ्नो दबदबा बढाउनै पर्दछ भन्ने सोच्दथे ।

यसै कारणले गर्दा उनले आइरिश दमनका लागि पठाएका सेनाहरुका अगाडि आत्मसमर्पण गर्न आएका आइरिस मानिस तथा सेनाको कत्लेआम गराएका थिए । आइरिशमाथि उनी र उनका सेनाले आतंक नै खडा गरेका थिए । गणतन्त्रका नेता तथा अभिभावक क्रमवेलले आइरिश इतिहासमा कालो छबी बनाएका छन् ।

बेलायती जनता क्रमवेलको शासनबाट छोटो अवधिमा नै वाक्कदिक्क भएका थिए । जब क्रमवेलको १६५८ मा मृत्यु भयो, उनको शब ३० हजार सेनाहरुको लावालश्कर लगाएर वेस्टमिन्स्टरमा लगेर दफनाइयो । जनता भने त्यो लाश खोसेर त्यहाँ दफनाउन नदिने तयारीमा थिए । किनकि यहाँ केवल राजारानीको लाश मात्र दफनाउने गरिएको थियो ।

त्यसपछि क्रमवेलका छोरा रिचर्ड सत्तामा बसालिए । तर उनले सत्ताको चहना गरेनन् र चार्ल्स द्वितीयलाई राजा हुन आग्रह गरियो । तर उनले क्रमवेलको लाश वेस्टमिन्स्टरबाट झिकेर मिल्काएपछि मात्र राजा हुने बचन दिए ।

त्यसपछि उनलाई राजारानी काटेको अभियोग लगाइयो । उनको हड्डी तथा अस्थिपञ्जर जमिनबाट झिकियो र हाइड पार्कमा ल्याएर फाँसी दिइयो । उनको खप्पर बेलायतमा लामो समयसम्म जनताका माझमा देखाउनका लागि लट्ठीमा घोपेर राखियो ।