• आश्विन ५ २०८१, शनिबार

मगर विद्यार्थी संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्र पुलामी चयन

माघ १२ २०७९, बिहीबार

बुटवल । नेपाल मगर विद्यार्थी संघको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चित्र पुलामीमगर चयन भएका छन् । संघको बुटवलमा सम्पन्न महाधिनेशनबाट पुलामीमगर अध्यक्षमा चयन भएका हुन् ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजु पुनमगर, उपाध्यक्ष खुलामा नरेन्द्र घर्तीमगर, महिला उपाध्यक्षमा किरण सिंजालीमगर, भाषिक उपाध्यक्ष (बाह्र मगरात)मा मनिष फालमगर, भाषिक उपाध्यक्ष (अठार मगरात)मा हर्क घर्तीमगर, भाषिक उपाध्यक्ष (काईके)मा विष्णु आलेमगर महासचिवमा चन्द्रबहादुर थापामगर, महिला सचिवमा युद्धदेवी मगर, संगठन सचिवमा वीरेन्द्र अछामीमगर, संचार सचिवमा विनोद आलेमगर, सचिवमा डिबी आलेमगर, कोषाध्यक्षमा प्रशान्त लुङ्गेलीमगर पदाधिकारीमा चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा समीक्षा मगर, नसिव सोरालीमगर, प्रकाश ल्हायोमगर, रेश्मी किङ्रिङमगर, सोमन रैकामगर, अञ्जान थापामगर, किशोर मगर, सर्मिता गन्द्रमामगर, आशा नाम्जालीमगर, शिव पुलामीमगर, राजन दगालीमगर, कुमार सिंजालीमगर, प्रेम बुढामगर, समिर रोकामगर, राजिव थापामगर, सहज रानामगर, बुद्ध गर्जामगर, ऋषिराम रानामगर, धनिराम पुनमगर, प्रविन बुढामगर, कमल थापामगर, वेदना बुढामगर, अमित रास्कोटीमगर, ललित बरालमगर, छिनिङ्लाल थापामगर, वीरबहादुर सारूमगर, पुनम थापामगर, यामबहादुर रोकामगर, लोकेन्द्र रानामगर चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपाललाई यहाँसम्म ल्याउन मगर समुदायको महत्वपूणर् भूमिका रहेको बताए । उनले मगर समुदायले राष्ट्र र जनताका लागि देखाएको इमान्दारीतालाई राज्यले कहिल्यै बिर्सिन नहुने बताए । मुख्यमन्त्री गिरीले मगर समुदाय लगायत राज्यको दमनमा परेका समुदायका लागि आर्थिक पक्षलाई सबल बनाउँदै स्वदेशमै रोजगार दिनसक्ने कार्यनीति बनाउनु पर्नेमा जोड दिए । युवाहरुलाई विदेश जानबाट रोकेर स्वदेशमै भएका सामग्रीलाई प्रयोग गर्दै उद्योग र कलकारखाना स्थापना गर्नुपर्ने उनको भनाई थियो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले २०७२ को संविधानले मगरात प्रदेश बनाउन नदिएको गुनासो गर्दै सोही संविधानमा टेकेर मगरात स्वायत्त बनाउन सकिने हुँदा विद्यार्थीहरुले आन्दोलन गरेर आफ्नो अधिकार स्थापित गर्नुपर्ने धारणा राखे ।

सभामुख घर्तिमगरले आफू मगर भएको नाताले सभामुख नभई राजनीतिमा दखल राख्ने र लामो समय राजनैतिक, सामाजिक क्षेत्रमा योगदान दिएकोले पार्टीले मूल्यांकन गरी सभामुख भएको बताए । उनले विद्यार्थीहरुले आफूमाथि भएका विभेद तथा अन्याय र अत्याचार विरुद्ध सधैं सशक्त भएर राज्यलाई खबरदारी गर्नु पर्ने उल्लेख गरे ।

उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले मगर विद्यार्थीहरु आफ्नो भाषा, धर्म, संस्कृति तथा पहिचानलाई बचाउन सक्रिय भएर लाग्नुपर्ने धारणा राखे । पछिल्लो समयमा मगर विद्यार्थीले उठाएका मुद्धाहरु ओझेलमा परेको बताउँदै उनले मगर विद्यार्थीहरु आफ्ना मुद्धाहरुमा जुझारु भएर अघि बढ्नु पर्ने बताए ।

त्यसैगरी नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले २०७२ को संविधान सम्झौताको दस्तावेज भएको बताउँदै नेपालका उत्पीडित समुदायको भाषा, धर्म, संस्कृति र पहिचानलाई २०७२ को संविधानले नसमेटेको बताए । उनले हालको संघीय मन्त्रीमण्डलमा एकजना पनि मगर समुदायबाट मन्त्री नभएकोमा दुःख व्यक्त गरे । राज्यले अहिलेसम्म पनि मातृभाषालाई संवद्र्धन र प्रवद्र्धन नगरेको टिप्पणी गर्दै अध्यक्ष मगरले तत्काल मगर समुदाय जहाँ-जहाँ बढी बसोबास गर्दै आएका छन् ती प्रदेशमा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल मगर संघका निवर्तमान अध्यक्ष नविन रोकामगरले राज्यले नै मगरात आन्दोलन कमजोर बनाएको बताए । उनले अनुहार मगरको भए पनि राजनैतिक विचार पहिचान विरोधी भएका कारण मगरातको मुद्धालाई ती व्यक्तिहरुले कमजोर पारेको बताए । मधेश प्रदेश हुनसक्ने मगरात स्वायत्त प्रदेश किन हुन नसक्ने ? भनेर उनले राज्यसँग प्रश्न गरे । नेपाल मगर विद्यार्थी संघले मगर समुदायले उठाएका मुद्धालाई गम्भीरका साथ लिंदै राज्यलाई खबरदारी गर्न सधैं सशक्त भूमिका खेल्नु पर्ने धारणा उनको थियो ।

सो अवसरमा कार्यक्रमको शुभकामना व्यक्त गदै नेपाल मगर विद्यार्थी संघका पूर्वअध्यक्ष दिपा आलेमगरले नेपालको माटो अनुसार शिक्षा नीति हुनुपर्ने बताइन् । उनले मगर विद्यार्थीले लामो समयदेखि उठाउँदै आएको वैज्ञानिक, व्यवहारिक तथा बहुभाषिक शिक्षा अहिलेसम्म पनि राज्यले व्यवस्था नगरेको बताउँदै अब तत्काल सातै प्रदेशका सरकारले त्यो लागु गर्नुपर्ने माग गरिन् ।

उनले मगर विद्यार्थी संघको ११औं महाधिवेशनको सफलताको शुभकामना दिंर्दै पर्यटन तथा संस्कृति मन्त्रालयले आदिवासी जनजातिको मौलिक संस्कृतिहरुलाई सूचिकृत गर्दै पर्यटन क्षेत्रबाट आर्थिक उन्नती गर्न समेत राज्यलाई आह्वान गरिन् ।

महाधिवेशनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका सांसद माया पुनमगर, पूर्व सिचाई राज्यमन्त्री अम्मर पुनमगर, वरिष्ठ अधिवक्ता द्वय गौबहादुर आलेमगर र सुरेन्द्र थापामगर, नेपाल मगर संघका सहअध्यक्ष दलबहादर बिरकट्टामगर, नेपाल मगर संघका सल्लाहकार द्वय कृष्ण थापामगर, दिलबहादुर मगर, विद्यार्थी संघ केन्द्रिय समितिका पूर्वअध्यक्ष माधव दर्लामीमगर, रेनुका काउचामगर, कमल थापामगर, मगर महिला संघका अध्यक्ष हिरु रानामगर, गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापामगर, रुपेन्देही जिल्लाका मगर संघका अध्यक्ष आनबहादुर सोतीमगर, रुपेन्देही जिल्लाका मगर विद्यार्थी संघका अध्यक्ष रमेश सारुमगर लगायतले मगर विद्यार्थीको शैक्षिक, भाषिक, साँस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

साथै उनीहरुले वैज्ञानिक, व्यवहारिक तथा बहुभाषिक शिक्षा तथा युवा शक्तिलाई स्वदेशमा रोजगार सिर्जना गर्न समेत राज्यसँग माग गर्दै ११औं महाधिवेशनको शुभकामना मन्तब्य राखेका थिए ।

११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको सहजीकरण निवर्तमान महासचिव प्रेम रोकामगर र सचिव दिपु मगरले गरेका थिए । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष विष्णुकुमार थापामगरले गरेका थिए । महाधिवेशन सफल पार्न देशभरबाट मगर विद्यार्थी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता थियो । कार्यक्रममा विभिन्न जातीय विद्यार्थीहरुका प्रतिनिधिहरुको पनि सहभागिता थियो । कार्यक्रममा मगर साँस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो ।

तस्विर : रोमन बुढामगर ।