देशमा अहिले भागबण्डाको राजनीति फलिफाप हुन गएको छ । नयाँ, पुराना सबै राजनीतिक दलहरू बाँडीचुँडी सत्ता भोग गर्ने लीलामा व्यस्त छन् ।
बाजे, बावु र नाति पुस्ता एकै ठाउँमा छन् । तीन पुस्ते भागबण्डालाई जनताले आश्चर्यका साथ हेरिरहेका छन् । यिनीहरूमा विचारको भिन्नता पनि देखिदैन । नारा पनि अलग हुन छाडेका छन् ।
देशमा व्यवस्था संसदीय प्रकृतिको छ । तर संसदीय मान्यता अनुसार संसद छैन । संसद सिंगो सत्तापक्ष छ । सरकार निर्माण गरेको दललाई गल्ती गर्न नदिने, सबक सिकाउने र सत्ता स्वार्थका कारण बाटो बिराएपछि ठीक बाटोमा ल्याउने काम प्रतिपक्षको हो ।
तर प्रतिपक्ष विहीनतामा छ संसद ! जनताले राम्रो काम गर्ने राजनीतिक दलको उदय होस् भन्ने चाहिरहेका छन् । संख्यात्मक रूपमा धेरै देखिने अहिलेका एकै प्रकृतिका दलहरू भन्दा फरक विचार र पहिचानसहितको लोक कल्याण गर्ने राजनीतिक दल नियालिरहेका छन्, सर्वसाधरण ।
तर जुन दल आए पनि सत्ताको बाहिर रहन नसक्दा र प्रतिपक्षीको भूमिका निर्वाह उचित रूपमा हुन नसक्दा अब दलीय व्यवस्था कतै अप्ठेरोमा त पर्दैन भन्ने अडकलबाजी पनि सार्वजनिक भइरहेका छन् ।
दलका बूढो पुस्ताका नेताहरूलाई एक आवधिक निर्वाचन उनीहरूको उमेर हदका कारण ‘मृत्युपर्यन्त’जस्तो देखिन थालेको छ । त्यसैले भागबण्डा अति उत्तम र सर्वोत्तम संसदीय विधि बन्न पुगेको छ ।
पुस्ता हस्तान्तरण र निष्ठाको राजनीति हराउँदै गइरहेको छ । ‘विकल्प’मा आउन खोजेका जस्ता देखिने दलहरू पनि ‘संकल्प’ गर्दै उही ‘हवन कुण्ड’मा स्वहास्तुतीमा रमाइरहेका छन् ।
देश र जनताका लागि नयाँ किसिमले सोचौ न भन्नेहरू राजनीतिक दलमा देखिन छाडेपछि अब यो भूमिका के नागरिक समाज, सचेत जनसमुदाय वा वौद्धिक वर्गको काँधमा आएको हो र ! भन्ने जिज्ञासा पनि उठेको देखिन्छ ।
विगतमा नागरिक समाजको भूमिका राजनीतिक दलको छायाँका रूपमा उदय र अस्त हुने उदाहरण हाम्रा सामु छन् । त्यसैले यी वहसको तुक र गुन्जायस पनि देखिदैन ।
त्यसैले राजनीतिक दलहरूले देश र देशको सत्ता भनेको भागशाान्ति मात्र होइन भन्ने सन्देश जनतामा दिन सक्नुपर्छ । राजनीति भनेको आशा र भविष्य पनि हो । यसले आशावादी भविष्यको बाटो देखाउन सक्नुपर्छ ।