• असार २२ २०८१, शुक्रबार

बजार सफा राख्न पिसाब गर्ने ठाउँमा भगवानका तस्विर राख्ने र चिम्टाले टिप्ने विधि अपनाइयो

माघ १० २०७९, मंगलवार

घोराही, १० माघ । चिम्टाले फिलिङ्गो टिपे जस्तै ट्याप्प टिप्दै थैलोमो हाल्दै गरेका बिमबहादुर डाँगी घोराही–१५ मेनरोडमा भेटिनुहुन्छ । उहाँ तुलसीपुर चोकदेखि टिप्दै उत्तरी गल्लीबाट वीपी चोक पुग्नुहुन्छ । त्यहाँबाट फर्केर दक्षिण सडकको टिप्दै उही ठाउँ फर्किनुहुन्छ । ‘तपाईंको पसल अगाडि कस्तो राम्रो सफा छ’ जनता एजुकेशनल हाउस अगाडि पुगेर सञ्चालक रामभक्त गुप्तालाई भन्नुभयो, ‘सबैले आफ्नो पसल अगाडि यस्तै बनाए समस्यै थिएन ।’

उहाँका अनुसार कसैले पसल भित्रैबाट फोहोर सडकमा फाल्छन् । अरुले नदेखेको बेला सुटुक्क लगेर टुसुक्क बसाल्छन् । कतिले देखेको फोहोर मेरो होइन भनेर उठाउँदैनन् । आफ्नो अगाडि हावाले ल्याएपनि मेरै फोहोर सम्झिनुपर्छ । ‘सबैभन्दा बढि फोहोर बस लाग्ने ठाउँमा हुन्छ’ तुलसीपुर चोक पूर्वतर्फ गाडी लाग्ने ठाउँलाई संकेत गर्दै डाँगीले भन्नुभयो, ‘लाइनमा गाडी र मोटरसाइकल हुन्छन् टिप्ने ठाउँ नै हुँदैन ।’ उहाँका अनुसार फाल्न लागेको भेटिए टिप्न लगाउनुहुन्छ । व्यवारिसे भेटिए टिप्नु हुन्छ । उहाँले सबै जनाले फोहोर फाल्ने देख्यो नै उठाउन लगाउनुपर्छ ।
हरेक विहान दुई बोरा जति संकलन हुने टोलहरुले नियुक्त गरेका सरसफाई स्वयंसेवी डाँगीको भनाई छ । उहाँका अनुसार दिउँसो एकबोरा गरी तिनबोरा भरिन्छ । सबै भन्दा फोहोर तुलसीपुर चोक र दोस्रोमा वीपीचोक नजिक टायर पसलमा भेटिन्छ । गत पुस २५ बाट शुरु गरिएको यो टिप्ने अभियान हो । अहिले धेरै ठाउँमा सफा देखिन थालेको छ । सडकका किनारा रा रोड बेल्टका किनारा पनि टुक्रा देखिन छोडका छन् । बस भित्रैबाट पानीका बोतल, कुर्कुरे दाल्मोट लगायतका खोलका फोहार यात्रुले फाल्थे । त्यसले गर्दा धेरै समस्या निम्त्याउने गरेको तुलसीसपुर चोक नजिकका खनाल इलेक्टोनिक्सका शालिक खनालको भनाई छ ।

डस्टविन राख्नेदेखि अनेक प्रयास गर्दापनि सफल हुन सकेको थिएन । त्यसक्षेत्रका व्यवसायी फोहोरदेखि आजित थिए । यसैगरी ओम स्विट हाउसदेखि उत्तरी गल्ली जाने बाटो सार्वजनिक शौचालय जस्तै दुर्गन्धित थियो । घरका भित्ताहरु पिसाबले पहेंलै भएका हुन्थे । फोर केका सञ्चालक शरद केसीका अनुसार जतिखेर पनि पिसाब गरिरहेका भेटिन्थे । आउन जानै लाजमर्दो र घिनलाग्दो थियो । महिला ग्राहक पनि भित्र पस्न लगाउँथे । अहिले अभियान चलेपछि परिवर्तन भएको छ ।

उहाँका अनुसार अभियान चलेपछि पिसाब गर्नेहरु हटेका छन् । ‘भित्र जाने बाटोमा भगवानका फोटा लगेर स्थापना गरेको छु’ गौतम बुद्ध टोलका अध्यक्ष मिनराज घिमिरेले भन्नुभयो, ‘हरेक विहान दैनिक पूजा गर्न जान्छु । पिसाब गर्नेहरुले पनि छोडेका छन् ।’ उहाँका अनुसार त्यहाँ शिव पार्वती, सरस्वती लगायत दर्जन बढि भगवानका पोष्टर टाँसिएका छन् । अविर लगाई धुप बालेर सुगन्धित बनाइएको छ । पिसाबको हस्को आउने र नाकै थुन्नुपर्ने गन्ध हट्दै गएको छ ।

स्वर्गद्धारी र गौतम बुद्ध टोलले संयुक्त रुपमा सरसफाई अभियान थालेका छन् । सटरवाला व्यवसयीबाट शुल्क उठाएर सरसफाई स्वयमसेवक डाँगीलाई खाजा खर्च तथा न्यूनतम पारिश्रमिक दिएका छन् । उनको सकृयताले अहिले देखिने गरी मेनरोड परिवर्तन भएको छ । केही ठाउँमा कार्टुन र केही ठाउँमा बोरा राखेर फोहोर जम्मा गरेको भेटिन्छ । पहिलाको जस्तो फोहोरका डुंगुरहरु लागेको भने कतै भेटिंदैनन् ।