काठमाडौं । नेपालमा एउटा निश्चित समुदायलाई केन्द्रित गरेर राजनीतिक दल बनाउने चलन रहिआएको छ । खासगरी ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि यस्तो लहर चलेको इतिहास रहेको छ । त्यसमा ती पार्टीहरुले समाज र राजनीतिमा आफ्नो समुदायको पनि प्रतिनिधित्व हुनुपर्दछ भन्ने उद्धेश्य रहेको हुन्छ । नेपालमा पनि माओवादी जनयुद्ध र ६२–६३ को जनआन्दोलनसँगै विभिन्न जाति वा समुदायहरुले पनि आफ्नो पहिचान स्थापना गर्नका लागि विभिन्न मागहरु राखेर आन्दोलन गर्दै राज्यलाई दबाब दिँदै आएको अवस्था छ ।
अझ त पछिल्लोचरणमा आजसम्म खासै आफूलाई छुट्टै पहिचानका हौं भनेर चर्चामा नआएको खस जातिले पनि आफूलाई बेग्लै पहिचान भएको जाति भएको र आफूलाई आर्यसित जोड्न नहुने र आफूहरुको छुट्टै जातीय पहिचान भएको बताउँदै आएको छ । यसैबीच खसहरुलाई आर्य भन्दा छुट्टै जाति (समुदाय)को रुपमा स्थापित गर्ने आन्दोलनको अगुवाई गर्दै आएका युवराज कार्कीको पनि यस्तै भनाई रहेको छ । उनी भन्छन्,‘खस र आर्य अलग क्लस्टर हो भन्ने मुद्धा उठाउँदै आएका छौं । खस र आर्य एउटै हुनु भनेको खसको अस्तित्व सिध्याउनु हो भन्ने हाम्रो बुझाई रहेको छ । किन कि खसहरुको आर्य भन्दा अलग पहिचान छ तर खसलाई उसको अलग पहिचानलाई मेटाएर आर्यमा मिसाउनु गलत हो भन्ने मान्यतालाई अब हामीले स्थापित गर्दै लगेका छौं ।’
यसैबीच नेपाल राष्ट्रिय जागरण नाम दिइएको सो अभियानको यही माघ २२ गते काठमाडौंमा राष्ट्रिय भेला गरिँदैछ । नेपालको शासन व्यवस्थामा आर्यहरुकै बाहूल्यता रहेका कारणले आजसम्म खसलाई पनि आर्यसँग जोडेर राखियो । तर नेपालमा बनाइएको ७२ सालको संविधानमा चाहिँ खसहरुले आफ्नो अलग पहिचान मागेमा मान्यता पाउन सक्ने प्रावधानहरु पाइन्छन् । छुट्टै भूगोल, भाषा, संस्कृति, अर्थतन्त्र र अलग मनोविज्ञान भएको कुनैपनि जातिले आफ्नो पहिचान पाउनुपर्छ भन्ने कुराहरु उठिरहेको अवस्थामा खसहरुले पनि यही माग राखेर आन्दोलन गर्दै आएका छन् ।
कार्कीले पनि खसहरु छुट्टै पहिचान भएको जाति भएको र आफूहरुलाई आर्यसँग जोड्नु गलत भएको तर्क गर्दै संविधानको संशोधन भएको ५९ नम्बर दफा उल्लेख गर्दै ‘कुनै पनि जातिको पहिचान अर्को जातिमा घुलन गर्नु भनेको पनि जातीय नरसंहार गर्नु हो’ भन्ने बलियो तर्क पेश गर्दछन् । आर्यकरण गरेर खसहरुको पहिचान नष्ट गरिनु भनेको खस समुदायमाथिको नरसंहार भएको तर्क कार्कीको छ ।
त्यसकारण यो कार्य खसका लागि बाहुनवाद भएको भन्दै उनले यो मुद्धा अब अझ जोडले उठाउने प्रतिवद्धता व्यक्त गरे । उनले राज्यका हरेर स्थानमा खस जातिको पहिचान स्थापित गर्नका लागि आफूहरुले पहिचानमा आधारित राजनीतिक दल बनाउन लागेको जानकारी पनि दिए । उनले सो पार्टीमा खस, जनजाति, सिल्पी लगायत उत्पीडनमा पारिएका र पहिचान स्थापित गर्न चाहने समुदायका साथीहरु जोडिन सक्ने बताए ।
साथै उनले यसअघि आफूहरु जनता समाजवादी पार्टीमा आवद्ध भएको भएपनि सो पार्टीले पहिचान स्थापित गर्नका लागि उठाइएका मुद्धाहरुप्रति चासो नदिएका कारण सो पार्टीबाट अलग भएका र बाहिर रहेका सबैलाई एकै ठाउँमा ल्याएर अर्को पार्टी बनाउन लागेको बताए । कार्की यसअघि जनता समाजवादी पार्टीका उपाध्यक्ष थिए । उनी यसअघि खस एकता समाजका संयोजक पनि थिए भने उनलाई हालको अभियानमा पूर्वमन्त्री केशवमान शाक्य, टेकबहादुर थापा लगायतका बौद्धिकहरुले साथ दिएका छन् ।
यति धेरै राजनीतिक पार्टीहरु भएको देशमा फेरि अर्को छुट्टै पार्टी किन बनाउन पर्यो र यिनै पार्टीहरुमध्येबाट पहिचानको लागि आवाज उठाउनेवाला पार्टी खाजेर समाहित भए हुँदैन र ? भन्ने प्रश्नमा उनी भन्छन्,‘परम्परागत पार्टीहरु माओवादीदेखि मधेसवादीसम्म र राप्रपादेखि जेजेवादी भनेपनि तात्विकरुपमा खास भिन्नता देखिएन । सिद्धान्तप्रति यिनीहरु इमान्दार देखिएनन् । यिनीहरु राजनीति, आर्थिक र साँस्कृतिक सबै हिसाबले बेइमान बन्दै गएकोले पहिचानमा आधारित राजनीति गरी उत्पीडनमा पारिएका पहिचानहरुलाई एक ठाउँमा ल्याउनका लागि एउटा राजनीतिक अभियान नै चलाउनु पर्ने आवश्यकता हामीले ठानेका हौं ।’
कार्कीले यसको उद्धेश्य वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु रहेको पनि दाबी गरे । उनले स्वतन्त्ररुपमा रहेका वा जुनसुकै पार्टीमा रहेको भएपनि त्यसलाई परित्याग गरेर आफ्नो राजनीतिक अभियानमा जोडिन सक्ने बताए ।
हामीले बनाएका नीतिमा सहमत हुनेहरु यसमा जोडिइरहनु भएको छ । जसपा, लोसपाबाट बढी र कांग्रेस र माओवादी पार्टीहरुबाट पनि साथीहरु जोडिरहनु भएको उनको भनाई रहेको छ, कार्कीले भने । कार्कीको नेतृत्वमा यसअघि खस जातिको मुक्तिको लागि भन्दै अभियान नै चलाइएको थियो । कार्की नेपालका खस समुदायको संस्कृतिका बारेमा खोज अनुसन्धान गर्ने अनुसन्धानकर्ता पनि हुन् ।
तपाईंहरु खस आन्दोलनबाट स्थापित भएको नेताहरु भएकोले यो अभियानमा त्यो समुदायबाट मात्रै हो की भन्ने लागेको छ नी ? भन्ने प्रश्नमा उनी भन्छन्,‘यसमा सबै साथीहरु जोडिनु भएको छ । धेरै त खस समुदायका साथीहरुपनि हुनुहुन्छ । ज्यादा त सिल्पी समुदायका साथीहरु पनि हुनुहुन्छ । हामी जनजाति र उत्पीडितको पहिचान पक्षधर भएकोले पनि करिब करिब सबै क्षेत्रका मानिसहरु जोडिनु भएको छ ।’
कुनै पनि राजनीतिक दल स्थापना हुनका लागि दर्शन, सिद्धान्त र कार्यक्रम चाहिन्छ । त्यसैले तपाईंहरुले स्थापना गर्ने पार्टीको दर्शन र सिद्धान्त के हो भन्ने प्रश्नमा कार्की भन्छन्,‘हाम्रो आइडोलोजी समाजवाद हो । प्राथमिक मुद्धा चाहीँ पहिचान, समानता र खस तथा सिल्पीहरुको मुक्ति नै हो ।’
भने जस्तो भयो र तयारी पूरा भयो भने आगामी ५ वर्षपछि हुने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने पनि कार्कीले बताए । तर हालका ठूला भनिएका पार्टीहरु सुध्रिएर आएभने उनीहरुसित कार्यगत एकता हुनसक्ने नत्र एक्लै भएपनि संघर्षमा होमिने कार्कीको दावी रहेको छ ।
उनी अगाडि भन्छन्,‘अहिले हामी देशभर संगठन बनाएर अघि बढ्छौं । अर्को चुनाव आउनेबेलासम्म के कस्तो अवस्था आउँछ त्यसैबेला निर्णय गरेर अघि बढ्छौं । एक्लै भाग लिने कि, तालमेल गरेर जाने कि, कुनै दललाई सपोर्ट गरेर हुन्छ कि ? त्यसै बेलाको परिस्थिति हेरेर अघि बढ्छौं तर हाम्रो उद्धेश्य सत्ता प्राप्ति भन्दा पनि मुद्धा सम्बोधन गराउनु हो ।’ त्यसरी संघर्ष अगाडि लैजाँदा हालका पार्टीहरु सुध्रिएर आए र आफ्ना मुद्धा सम्बोधन भए भने त्यो पनि आफूहरुको अभियानको उपलब्धि नै मान्नु पर्ने कार्कीको बुझाई रहेको छ ।
हामीसितको कुराकानीमा कार्कीले आफ्ना केही साथीहरुले हाम्रो मुद्धा अरुले अपहरण गरिदिए भन्ने गुनासो रहेको पनि बताउन भ्याए । मुद्धा अपहरण भएको भएपनि केही फरक नपर्ने, बरु मुद्धा उठाउने तर इमान्दार नहुनु चाहीँ बेइमानी भएको उनको ठम्याई छ । हुन पनि जनताले उठाएका जनताका मुद्धाहरु हालका आन्दोलनकारीहरुकै पहलमा स्थापित भए पनि यिनीहरुले नै माग पूरा गर्नुपर्छ भन्ने के नै छ र ? तर हालको सत्ताको संरचना र सत्तामा रहेका पार्टीहरुले उनीहरुका मागहरु पूरा गर्लान् भन्ने सम्भावना भने छैन ।
किन कि हालका सत्ता सञ्चालकहरुले पिछडिएका समुदायका मुद्धा सुन्ने र मागहरु सम्बोधन गर्ने छाँटकाँट छैन । संविधानमै उल्लेख भएका समावेसी जस्ता कुराहरु लागु नभएको अवस्थामा यसले अर्को आन्दोलनको आवश्यकताको माग गरिरहेको छ । बाध्यात्मक अवस्था आइपरेमा कुराहरु सुनेपनि मागहरु पूरा गर्नेतिर हालका सत्ताधारीहरु लाग्लान् भन्ने अहिलेलाई कम्तिमा लागेको छैन । त्यसैले पहिचान पक्षधर जाति र उत्पीडनमा पारिएका भूगोलका जनताहरु फेरि एकपटक जुर्मुराउनु पर्ने बेला आएको महसुस धेरैलाई भएको छ ।