• आश्विन १४ २०८१, सोमबार

तामाङ्ग समुदायद्वारा सोनाम ल्होसार भव्यताका साथ मनाइयो (तस्विर सहित)

माघ ८ २०७९, आईतवार

काठमाडौं। तामाङ्ग समुदायले काठमाडौँको टुडिखेलमा सोनम ल्होसार भव्यका साथ मनाउँदै छन् । यस वर्ष बाघ वर्गलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरिने संकेतका साथ ल्होसार मनाइएको हो ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसर पारी तामाङ्ग समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउँदै आएका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालमा चलिआएको अधिनायकवादी शासनबाट जनजातिमाथि दमन गर्ने प्रक्रिया र विदेशी संस्कृति नेपालमा बढि हावी भएको बताए ।

उनले यस्तो प्रवृतिलाई हटाउनेमा सम्पूर्ण देशवासीको दायित्व रहेको बताए । उनले नेपाली संस्कृतिलाई जगेर्ना गरी आफ्नो कला–संस्कृतिलाई पुस्तान्तरण गर्न अनुरोध गरे । उनले आगामी दिनमा चाँडै नै तामाङ्गको एउटा छोरा र एउटी छोरी सत्ताको नेतृत्व गर्न सफल हुने कुराको भविष्यवाणी पनि गरे ।

त्यसैगरी अर्का अतिथि तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ्गले आफ्नो समुदायबाट देशको नेतृत्व गर्ने पदसम्म नपुग्नुमा तामाङ्गको पनि कमजोरी रहेको बताए । उनले कुनै दुई पार्टीको झगडाको होहल्ला सुन्दा अन्तिममा तामाङ्ग नै घाइते र तामाङ्ग नै दोषी भएको धेरै घटना सुन्नमा आएको स्मरण गरे । उनले विदेशबाट आयात हुने करोडौंको रक्सी चियर्स गर्नुको सट्टा स्वदेशी कोदोको रक्सीको ब्राण्ड बनाई निर्यात गर्नुपर्नेमा तामाङ्ग समुदायलाई सुझाव दिए ।

कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिनले तामाङ्ग समुदायले एक दिन मात्र नभएर लामाको विधि अनुसार १५ दिनसम्म ल्होसार माउने गरेको बताए । उनले प्रधानमन्त्री दाहाललाई तामाङ्ग समुदायको कुनै एक व्यक्तिलाई मन्त्री पद दिलाउन अनुरोध गरे ।

ल्होसारमा तामाङ्ग समुदायका सहभागिहरु आफ्नो समुदायको भेषभूषासहित टुडिखेलमा जम्मा भएका कारण कार्यक्रममा रमाइलो अनुभूति दिलाएको थियो । कार्यक्रममा वरिष्ठ गायिका आनी छोइङ डोल्माको मिठो प्रस्तुति थियो ।

साथै कार्यक्रमलाई अझ भव्य बनाउन विभिन्न तामाङ्ग कलाकारहरुको पनि उपस्थिति थियो । यो समाचार तयार पार्दासम्म आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ गायक राजु लामाको पनि प्रस्तुति रहने छ ।