• मंसिर १२ २०८१, बुधबार

पासपोर्टको लागि हप्तौं कुर्नु पर्ने रोल्पालीको पीडा

माघ ७ २०७९, शनिबार

रोल्पा । विदेश गएका युवाहरुले पठाएको रेमिट्यान्स नै राज्यको प्रमुख आयस्रोत बनेको अवस्थामा रोजगारीका लागि विदेसिने क्रम बढिरहेको छ । यसैबीच विदेश जानका लागि बनाइने पासपोर्टको अनलाइन फारम भर्न हप्तौं कुर्नुपर्ने भएकोले रोल्पाका सेवाग्रही मर्कामा परेका छन् ।

जिल्ला सदरमुकामबाटै अनलाइन मार्फत् फारम भर्न पाइने व्यवस्था भएपनि दैनिक ४० जनाले मात्रै फाराम भर्न पाउने व्यवस्था भएकोले ग्रामिण इलाकाबाट पासपोर्ट बनाउन सदरमुकाम आउनेहरुका लागि भने निकै समस्या परेको सेवाग्राही रवीन्द्रले दाईले बताए ।

उनले पासपोर्टको फारमका लागि पालो कुर्दा कुर्दा हैरान भएको गुनासो गर्दै भने, ‘कर्मचारीहरु कार्यालयमा नभेटिने र भेटिएपनि आफ्ना मान्छेको काम छिटो गरिदिने तर नचिनेकोलाई बेवास्ता गर्ने गर्दछन् ।’

श्रम मन्त्रालयले छिटो भन्दा छिटो यो समस्याको समाधानका लागि निर्देशन दिन उनले माग गरेका छन् । उनी जस्ता अन्य केही सेवाग्राहीले भने स्थानीय तहमै पासपोर्टको लागि फारम भर्ने व्यवस्था गरिदिएमा ग्रामिण इलाकाका सेवाग्राहीहरुलाई सहज हुने माग गरेका छन् ।

सेवाग्राही रवीन्द्रका अनुसार पासपोर्टको फारम भर्न सदरमुकाम आउँदा सरकारी कर्मचारीको ढिलासुस्ती र लापरवाहीले गर्दा सेवाग्राहीलाई आउँदा, जाँदा र होटेलमा बस्दा–खाँदा धेरै पैसा खर्च हुने र आर्थिक भार पर्ने गरेको छ । सकेसम्म स्थानीय तहमै पासपोर्ट बनाउने व्यवस्था भएमा धेरै राम्रो हुने र सदरमुकाममै जान परेपनि छिटोछरितो काम हुनेपर्ने माग पीडितहरुको छ ।