• असार २२ २०८१, शुक्रबार

भाषण मात्र छाँटेर हुँदैन पहिला गन्ध नआउने मोजा त लगाउनुस्…….

माघ ४ २०७९, बुधबार

दाङ । ढोकाको सामुन्य घुइँचो लागेको थियो । भित्र ठाउँ नभएर बुजो लागेका होलान् भन्ने सोचेँ । रिपोर्टिङ गर्न पस्नै पर्ने भएकाले कोच्चिएर जान खोजेँ । त्यो जुत्ता खोल्न धौ मानेको समूह रहेछ । जुत्ता हराउने डरले केहिले कुनातिर कोच्दै थिए । धेरैले फुकाल्दै थिए । आयोजकले अब कार्यक्रम शुरु हुन्छ । ‘सबैजना भित्र गैदिनुस्, जुत्ता फुकालेर जानुहोला’ भन्न थाले ।

अनुशासित सहभागिहरु पौष ११ गते सिरडी साइमन्दिरको हल भित्र जुत्ता खोल्दै पसे । त्यो घुइँचोमा मोजाको गन्ध यसरी फैलियो कि केहिबेर टिक्नै नसकिने भयो । सास फेर्न एकपटक बाहिर आएँ । अलिक खालि भएपछि हतार हतार भित्र पसेँ । अनि मैले खुट्टाका औंलामा कापकाप पाकेर धेरै मानिसहरुले दुःख पाएको दृश्य सम्झिएँ । मोजामा मयल बस्छ र पसिनासित खुट्टामा टाँसिन्छ । सम्भवतः घरमा गएर खुट्टा नधुने सबै थिएनन् । जसले धुँदैनन् उनीहरुको त्यो मयल औंलाका कापकापमै जाम लाग्छ । मसिना मसिना रौँसँग खुट्टाका छालामा पनि प्वालहरु प्रशस्तै हुन्छन् । मोजाबाट छानिएर भित्र पसेको मसिनो मयल लेस्सिएर अनेक समस्या ल्याइदिन्छ ।

सरसफाइ अभियान्ताहरुले खाना खाइसकेपछि दाँत माझ्ने । भित्रि वस्त्र सकभर दिनमा एक पटक बदल्ने भन्छन् । बरु सुट बुटहरुमा पालिस र सान नलगाएपनि हुन्छ । तर मोजा, कट्टु, गञ्जी लगायतका जो भित्री शरीरसँग टाँसिन्छन् तिनी वस्त्र धुनै पर्छ । डुङ्डुङ गन्हाउँदासम्म लगाउनु हुन्न । सकभर दैनिक स्नान गर्नु । सकिँदैन भने भित्रि वस्त्र फेर्नु भन्ने छ । जसले सिधा आफ्नो स्वास्थ्यलाई असर गर्दछन् । जो जीवनका लागि घातक हो ।

त्यहाँ महत्वपूर्ण वक्ता कम्युनिष्ट इतिहासका जानकार एवं लेखक शशिधर भण्डारी हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो, माओ लङमार्चमा जाँदा एकलाख लालसेना सहित हिंड्नुभयो । उनीहरु मध्य ८० हजार बाटैमा हराए । कोहि हैजाले मरे, कोहि डुबेर, लडेर अन्तमा २० हजार बाँचे भन्नुभयो । त्यसै बेलादेखि चिनमा तातोपानी खाने लत बसेको विभिन्न इतिहासमा पढ्न पाइन्छ ।

सुरक्षित पानीका लागि उमालेर खानु परेको हो । मलाई लागेको थियो, कमरेडहरु मोजा असाध्यै गन्ध आए तपाईंहरुका खुट्टमा पनि फोहरले समस्या ल्याउँछ भन्नुहुनेछ । फोहरले हैजा लागेको प्रसंग त सहि थियो तर यहाँको वातावरणसँग मिलाउनु भएको भए अझ उत्तम हुन्थे । भाषण सुन्नेहरुले पनि गज्जबले बुझथे । यदि उहाँले मोजा नियमित धुनुहोला र गन्ध नआउने लगाउनुहोला भन्नु हुन्थ्यो ।

त्यत्रा नेताले यति भनेको भए सम्भव त ५० प्रतिशतले मोजा धोएर लगाउन सिक्थे । मैले यो लेख लेख्न पर्ने पनि थिएन । उहाँ सहित अरु वक्ताले पनि नेपालका सन्दर्भसँग जोड्नु भएन । अझ त्यो हलमा सहभागिको चेहरा हेरेर बोलेको जस्तो पनि लागेन । एक दिन खर्च गरेर कार्यक्रममा आएका सहभागिले कति बुझे के सिके र उनको जीवनमा के कति परिवर्तन आयो, ख्वै ? घोराहीको एउटा होटलमा पसेर नबसि फर्कियौँ । टेबलमा जुठो चुहिएर पहेंल्यै छ । बस्ने कुर्सी पनि पुछपाछ पारेको छैन । अर्को अर्कै हस्को आएको जस्तो न सिकसिक लाग्ने जस्तो छ । हरेक टेबलमा एउटा जुठो भाँडो छ । सबै टेबलका चुरोटदानीमा गन्ध ह्वास्स आउँछ । चुरोटको खाग र ठुटाले भरिएको छ । त्यहाँ के बस्नु ? त्यसको दुई दिन अघि लखन पार्क नजिकको एउटा कार्यक्रममा सहभागि भएको थिएँ ।

त्यहाँ एकजना अतिथिले माइक चपक्कै समातेर बोल्नुभयो । अलिअलि असन्तुष्टि पनि थियो । त्यसैले अलि जोड्ले बोल्नुभयो । एउटा हात र शरीरको हावभावले मन्तव्य आकर्षक पनि थियो । उहाँले भाषण सकेर बसिसकेपछि खाजा आयो । तिनै हातले पकौडा समातेर कुपुकुपु बडो मिठो गरि खानुभयो । उहाँले हात धुनुभएन । उहाँले समातेको माइक्रोफोन सम्झिएँ । धेरै वक्ताहरु बोल्दा थुक उछिट्टिएको थियो । त्यहि थुक उछिट्टिएको माईक्रोफोन समातेका हात नधोएर खाएको देख्दा नरमाइलो लाग्यो । कोरोना कालमा हरेक वक्ताले बोल्नुअघि माइक्रो फोनमा सेनिटाइजर दलिन्थ्यो । अहिले त समातेर पनि त्यहि हातले खाना खाने भुल गरिरहेका छौँ । मैलेपनि खाजा खाएर खोल भुईमा फालेँ । हाल्ने ठाउँ कतै देखिन ।

गोजीमा अटाउने जत्रो पनि थिएन । अनि फर्केर हेरेँ सबैले त्यसरी नै फालेका थिए । टायलले चम्किने हलमा प्लाष्टिकजन्य फोहरका सोत्तर फिँजियो । चिया पिउनेले चुहाएका पनि थिए । सम्भवतः भुईमा राङ्टा बस्यो होला । त्यत्रो हल घिनलाग्दो बनाउँदासम्म कसैले पनि सोचेनौँ । न आयोजकले व्यवस्था गर्यो, न त खाजा खुवाउनेले एउटा डस्टिविन ल्याए । नास्ता बाँडे जस्तै गरि उठाउन आएको भए त्यत्रो फोहार हुने थिएन । उद्योग वाणिज्य संघको एउटा बैठकमा गएको टे«यमा बिष्कुट आयो । सामूहिक हात हालेर कपाकप खायौँ ।

कोरोना आउँदा हेरेपनि सर्छ भन्नेहरु अहिले सामूहिक छोएको खान थालेका रहेछौँ । भौतिक दुरी कायम गरेर बाँचेकाहरुले एउटाले समातेको अर्काले खान्छौँ । हातको मयल बिर्सियौँ । सूर्ति कोचारेर पुछेका हात भुल्यौँ । मेरो बानी पनि नङले दाँत कोट्याउने छ त्यो थुक पनि हातमै पुच्छने गरेको छु । साबुनले हात धुँदा कालोकालो पानी बग्छ दुईपटक साबुन लगाउँदा पनि चोखिन्छ । यस्ता हातले छोएको अरुलाई खान दिए त अपराध हो भन्ने सम्झिएँ । मैले बिष्कुट खाँदा पत्रिकाको नेप्कीन बनाएँ ।

मेरा हातप्रति विश्वास लागेन । म विशेष परिस्थितिमा बाहेक दिनमा एकपटक पसल खुलेपछि जनता एजुकेशनल हाउस मेनरोड पुग्ने गर्छु । त्यहाँ हरेक विहान सञ्चालक रामभक्त गुप्ताले पसल अगाडि नेत्रलाल चोकसम्मकै फोहोर टिपेको भेट्छु । उहाँको कामप्रति भित्रैदेखि श्रद्धा जाग्छ । त्यसरी फोहोर टिपिरहेको फोटो खिचेर हाल्दिउँ कि भनेर जिस्काउँछु, ‘म फोहर त देख्नै सक्दैन’ उहाँ भन्नुहुन्छ, ‘शनिबारको विहान पुरै समय घरको सरसफाइमा बित्छ ।’

उहाँले साँच्चै गर्नुुहुन्छ किन भने त्यत्रो मेन रोडमा टपाटप भोलाका खोस्टा टिप्नुहुन्छ । त्यसरी खोजिखोजि टिप्दा लाज मान्नु हुन्न । सफा देखेर खुशी हुनुहुन्छ । यस्तो व्यक्तिले घरको सफा म आफै गर्छु भनेपछि विश्वास नलाग्ने कुरै छैन । उहाँका कुरा सुनेर मलाई ज्ञान हासिल हुन्छ, घरमा गएर पहिला मेरो घर अगाडिका फोहोर टिप्छु र भित्र पस्छु ।

बच्चाहरु गाडि चढ्ने र ओर्लिने ठाउँ हो । कसले खसाल्छ थाहै हुँदैन । तर जम्मा भएको हुन्छ । बोर्डिङका बसहरुबाट बच्चाहरु प्लाष्टिकजन्य फोहोर खसाल्दै हिंडेको भेट्छु । पैदल हिंड्ने विद्यार्थीहरुले पनि आफूले खाएको चट्पटेको सेतो प्लाष्टिक फाल्दै हिंड्छन् । उनीहरुले थाहा पाएनन् कि टेरेनन् बुझन बाँकी छ । केहि बच्चाहरुले खाएपछि कहाँ फाल्ने ? भनेर सोध्न थालेका छन् । युवा युवतीहरु त्यो सोध्दैनन् । उनीहरुको लागेको बानी जहाँ पायो त्यहिँ फाल्ने छ ।

मैले यो लेख लेखिरहँदा घोराही–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगीलाई सम्झिएँ । उहाँले उपमहानगरको विपद वातावरण तथा सरसफाइमा हेर्नुहुन्थ्यो, सफा गर्नुस् भन्न टोलटोल जानुहुनथ्यो । बजारबासीले आफू बसेको वरपरको फोहर मेरो होइन भन्थे । अरुले फाल्या मैले किन उठाउने भनेर झर्किन्थे । सटर अगाडि सडकको फोहोर उठाउनुस् भन्दा म नगरपालिकाको कर्मचारी हो ? मैले फोहोर उठाउने तलब खाएको छु र ? म भंगी हो र भन्दै रिसले कुर्लिन्थे । पूर्वअध्यक्ष डाँगीले तपाईंले लगाएको कपडा हावाले ल्याएको धुलोबाट फोहोर भएको हो, हावासँग झगडा गर्नुस् भनेर जवाफ दिएपछि नाजवाफ हुन्थे । लाजकाज टिप्थे । यस्तै घोराही उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुवोध रेग्मीलाई पनि याद गरेँ ।

डाँगीलाई जस्तै प्रश्न रेग्मीलाई आउँथे । उहाँको जवाफ हुन्थ्यो  तपाईंको घर अगाडिको फोहोरले तपाईंलाई असभ्य देखाउँछ । कसले फालेको होइन कसको घर पसल अगाडि फोहोर छ भन्ने हुन्छ । तपाईंको घर आगनको फोहोरले नगरप्रमुखलाई गन्हाउँदैन । त्यो फोहोरले असर गर्ने तपाईंलाई हो त्यसैले तपाईंले उठाउनुपर्छ भन्नुहुन्थ्यो । अझै पनि आफ्नो सटर अगाडिको फोहर टिप्ने सभ्यताको विकास भएको छैन । गुप्ता लगायत केहिले मात्रै घिनलाग्दो देख्न मान्नुहुन्न र उठाउँदै आउनुभएको छ । धेरै जनाले मैले फालेको होइन, मेरो फोहोर होइन भन्दैछन् । जीवनमा आउने परिवर्तन क्रान्ति हो । असभ्यबाट सभ्य बन्नु नै परिवर्तन हो । गरिबहरु धनि बन्नु प्रगति हो ।

टाउकाको भारी वाद र विचार घोकेर झन बोझ हुन्छ । कण्ठ गरेर जति जान्यो उति मुर्ख भइन्छ । खान, लगाउन, व्यवसाय गर्ने र व्यवहार परिवर्तन ल्याउन प्रशिक्षण चाहिन्छ । दिनभरी भाषण सुनेर एउटा गलत व्यवहार त बदलिनु पर्छ । यदि बदलिएन भने प्रगतिशील होइन्न । त्यसले क्रान्ति र परिवर्तन ल्याउँदैन । व्यवहार नबदलेर विचारको विकास हुँदैन । त्यसैले अब त्यो बाटो समातौँ । अझ आफूलाई खाँटी क्रान्तिकारी घोषणा गर्नेले व्यवहार परिवर्तनलाई आधार बनाऊँ । कसका कार्यकर्ता सभ्य छन्, कति सिकेका छन्, अरु भन्दा के अर्थमा फरक छन् ? अबको मापनको आधार हुनुपर्छ । त्यहि मापदण्डले नागरिकले दल र संस्था छान्नुपर्छ । त्यो नै देश र जनताको ठहरिनुपर्छ । त्यसैले गन्ध आउने मोजा नलगाऊँ ।