• चैत्र ३० २०८१, आईतवार

रातोटीका फूलमय गर्दन, प्रमुख अतिथिको मानमर्दन

माघ ४ २०७९, बुधबार

‘मान्छे बुढो भए निहुं खोज्छ, गोरु बुढो भए भीर खोज्छ’ भन्थे सांच्चै हो रहेछ । आजकाल मलाई लाग्न थालेको छ- बिस्तारै म निहुं खोज्न थालेको छु । हिजोआज हुने गरेका कतिपय कामहरु मेरो दृष्टिमा गलत, बेठिक, अनुचित वा असामयिक लाग्न थालेको छ, किन हो कुन्नी !

माथिको शीर्षकबाट शुरु गरौं । मेरो अल्प ज्ञान, सुक्ष्म बुद्धि, समय प्रवाहमा बग्न नसकने भएकोले वा सूचनाको अज्ञानताले होला मैले आजकाल जुनसुकै कार्यक्रममा प्रमुख अतिथि आशित हुनैपर्ने अवस्थालाई नितान्त गलत देख्न थालें ।

एउटा उदाहरण हेरौं-कुनै संस्थाको वार्षिक साधारण सभा थियो । एकजना वरिष्ठ व्यक्ति : पूर्वप्रधान मन्त्रीलाई प्रमुख अतिथिमा आमन्त्रण गरिएको रहेछ । उहाँ कारणवश अन्तिम समयमा आउन नसक्ने खवर प्राप्त भएछ । अब त्यहाँ एकाएक ठुलो आपत, बडो फसाद, नसोचेको अप्ठेरो आइपर्यो । पदाधिकारीहरुबिच राय परामर्श भयो र सो समस्याको समाधान निकालियो : संस्थाकै अध्यक्षलाई प्रमुख अतिथि बनाउने र उपाध्यक्षलाई सभाको सभापतित्व गर्न लगाउने ।

क्या गज्ज्व ! एक त संस्थाको साधारण सभा, भन्ने हो भने नितान्त संस्थाका सदस्यहरुमात्रले चलाउने कार्यक्रम हो त्यो । ल भो कसैको मानमतिनो पनि हुने, ठुला मानिस आँउदा संस्थाको अलिक प्रचार हुने, पछिल्ला दिनमा कामकाजमा भरथेग हुने, … ठानिएर यसो गर्ने गरिन्छ पनि । यद्यपी त्यस्ता कार्यक्रम गरेर संस्थालाई खासै फाइदा भएको आजसम्म पाइएको छैन ।

त्यस क्षणको रमाइलो कुरा के थियो भने उपाध्यक्षले सभाको सभाध्यक्षको काम र प्रमुख अतिथिको रुपमा संस्थाका अध्यक्ष हुने ठहरियो । प्रमुख अतिथिले संबोधन गर्नुपर्दा आफु मुनीकालाई सभापतिज्यू भन्नु पर्ने, गज्जब भएन त ! के प्रमुख अतिथि विना कार्यक्रम हुन सक्दैन ?

यसै अवधारणामा अझै कुरा गरौं । त्यहाँ मञ्चमा बोलाइएका मानिसहरु करिब १५ जनामध्ये संस्थाकै कार्यकारी समितिका पदाधिकारी र सदस्यहरु ११ जना एवं बाँकी ४ जना बाहिरका थिए । अब फूलको बुके, खादा पहिराई यसरी गरियो मानौं त्यहाँ उपस्थित व्यक्तिहरु अन्यत्रबाट आएका अति सम्मानगर्नु पर्ने विशिष्ठ पाहुनाहरु हुन् । ती १५ जना कुनै पनि त्यति विशिष्ठ पाहुना छँदै थिएनन् ।

११ जना त आफ्नै संस्थाकै सदस्य, उनीहरु कसरी पाहुना भए । वांकी ४ जनालाई संस्था बाहिरको मानेर थोरै सिष्टता गर्नसम्म सकिन्थ्यो । त्यो भनेको मञ्चमा निमन्त्रणा गर्नु नै उहाँहरुलाई उचित आदर गरेको ठहर्ने थियो । अतः यस बबुरोलाई सो काम गलत, बेठिक, अनुचित वा असामयिक लाग्यो । बबुरोलाई लाग्दैमा के हुन्छ र ? यस्तो परिपाटी घट्नुको सटृा बढिरहेको छ । फूलको बुके, खादा पहिराई, पुष्पगुच्छा प्रदान आदि फजुल खर्च त हाम्रो कार्यक्रमको अभिन्न अंग भइसकेको छ ।

अब त फोन वा कम्प्यूटरको माध्यमबाट हुने सभा गोष्ठि सम्मेलनमा पनि आ-आफ्ना घरघरमा बसेका मानिसहरुलाई यथास्थानमा आसन गराउने लर्को चलेको छ । के यो जरुरी छ ? छ भने प्रमुख अतिथि हुनेले घरमा पानस वत्ति सलाई ठिक पार्नु पर्रयो उदघाटन गर्नलाई । कसैको संझनाको कार्यक्रम होला तिनको तस्वीर, फूल गुच्छा, माला वा खादा पनि किनेर राख्नु पर्याे ।

अनि विशिष्ठ तथा अन्य पाहुनाहरुलाई घर घरमा खादा कसरी लाइदिने हो सो को पनि उपायहरु निकाल्नु पर्यो । हामी यस्ता परम्परावादी, झन्झटिलो, खर्चिलो, समय वेफ्वांकमा खर्चर्ने र अनावश्यक औपचारिकताबाट बाहिर निक्लनु हुँदैन ? बढी से बढि कार्यक्रम चलाउनेले अतिथि एवं बक्ताहरु उपस्थित भईसक्नु भएको सामान्य जनाउ दिएर कार्यक्रम संचालन गर्न सकिन्छ त ।

हिजो आज कदरपत्र, प्रशंसापत्र अथवा मान सम्मानको सामान्य भेद पनि अलमलिन थालेको छ । कस्तो र कुनहदसम्मको कामलाई के भन्ने, कुनको ओज सो भन्दा माथिल्लो हो, त्यो पनि ख्याल गर्ने गरिएको छैन । एउटा भरखरै सिक्दै गरेको विद्यार्थीलाई सम्मानको प्रमाण दिनु र कुनै उल्लेख्य काम गर्ने प्रतिष्ठित व्यक्तिलाई कदर वा प्रशंसा भनिदिएमा पनि कुनै अनौठो नमाने हुन्छ ।

अल्प ज्ञान रहेको यस व्यक्तिको विचारमा प्रमुख अतिथि भनेको एउटा विशिष्ठ शिरोमणी खालको पदवी हो, जुन कुनै सामान्य हैसियतको व्यक्तीले प्राप्त गर्नै सक्दैन, गर्नै हुँदैन । अत्यन्त विशेष समारोहमा बाहेक प्रमुख अतिथि जस्तो गरिमामय ओहदाको प्रयोग गर्नु बुद्धिमानी हुँदैन, जरुरी नै पर्दैैन । व्यक्तीको ओज, सो विषयमा ज्ञानको गहिराई, समाजमा उनलाई हेरिने दृष्टिकोण, आम जनमतले उनलाई दिने ठुलो सम्मान आदिले मात्र कुनै व्यक्ती प्रमुख अतिथि हुन सक्ने नसक्ने बारेमा निर्क्याैल गर्नु पर्दछ । राजनीतिमा लागेका साना हैसियतकादेखि एउटा सामान्य कार्यालय प्रमुखलाई जे जुनसुकै स्तरको कार्यक्रमा प्रमुख अतिथि भनिदियो भइगयो ।

आज भोली त यो हरफकार जस्तो नगन्यलाई पनि प्रमुख अतिथिको रुपमा निमन्त्रणा हुन के बेर ! हुँदा हुँदा त आफ्नै संस्थाका व्यक्तिलाई प्रमुख अतिथि बनाइदिने क्या गज्जब ! सायद जनताले स्वीकारेका कविशिरोमणी, महाकवि, राष्ट्रकवि, इतिहासविद्, संस्कृतिविद्, भूगोलबेत्ता, मानियका उपकुलपतिहरु, … , नेपालको मानपदवीको कुरा छाडौं विदेशका स्तरीय मान पदवी विभुषणले अलंकारित व्यक्तिहरु तथा जे जस्ता भएपनि मान्नै पर्ने ओहदादायी सम्माननीयहरु तथा मन्त्रीहरु सम्मलाई प्रमुख अतिथि मान्न सकिन्छ कि ! त्यो पनि आफ्नै मन्त्रालयको कार्यक्रममा मन्त्री प्रमुख अतिथि त पक्कै हुनुहुंदैन होला ।

यो हरफकारलाई अर्को कुरा पनि अजिब लाग्छ । आजकालको कार्यक्रमा कम्तिमा १५।२० जना विदुषी-महानुभावहरुलाई अगाडीको हारमा मूल्यवान सोफा र पछिल्लो हारमा राम्रा कुर्सीहरु राखेर मञ्चमै बोलाउनु पर्छ । जति धेरैलाई माथी बोलायो त्यतिनै संस्थाको गरिमा बढने हो कि ?मञ्चमै बोलाएर आदर गरेपछि बोल्न दिनै पर्यो, अनादर गर्नु पनि भएन ।

तीन चार हजार शब्दहरु बेलीसकेपछि मेरा दुई शब्दहरु यहिं अन्त गर्दछु भन्न पाइन्छ नै । कार्यक्रको विषय बस्तुमा आधारित भएर बोल्नुपर्छ भन्ने केही छैन । ‘बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत’, यो त हाम्रो मान्यता नै छ । कुनै हैसियत होस् नहोस् विविध प्रकारका अतिथि पृथ्क्कीकरण गर्नै पर्योः प्रमुख अतिथि, विशेष अतिथि, अतिथिआदि ।

अझ बिस्तारै सह अतिथि एवम् उपअथिति उपमाहरु त लागुहुनै बाँकी छन्, ती पनि आंउछन् होला । जब बोल्ने पालो आँउछः उद्घोषकले हैसियत अनुरुपको मर्यादाक्रममा ख्याल गर्नु पर्यो । कतै भुलेर ठुलो हैसियतलाई अगाडी र साधारणलाई पछाडी बोलाइयो भने त बरबादै भइहाल्छ । समारोहमा म भन्दा पछि फलानाले बोल्ने ??? अनि बोल्दा ती मञ्चमा आसिन सबैको भएसम्मको उपमाहरु अलंकारहरु थपेर सबैले सबैलाई नाम पद वा हैसियत फलाकेर सक्दो लामो सम्बोधन गर्नै पर्ने परिपाठी हामीले बसालेका छौं ।

उद्घोषकले मञ्चमा बोलाउँदा व्यक्त गरेको अलंकारहरुमा पछि बोल्नेहरु सबैले सबैलाई सकेसम्म दोहर्याउँदै थप्ने होड नै चल्दछ । लाग्दछ मञ्चमा आसिन व्यक्तीहरु सबै सर्बगुण सम्पन्न, संबैविधाका ज्ञाता, ज्ञानीमानी झण्डै देवता समानका हुन । के हामीले ‘उपस्थित विदुषी एवं सज्जनबृन्दमा मेरो आदरपूर्वक नमस्कार’ भनेर आफ्नो भनाई थाले हुँदैन ? कार्यक्रममा बोलाउंदा शुरु हुने समय लेखिएको हुन्छ, तर अन्त हुने समय लेखिनु पर्छ भन्ने सम्म पनि हाम्रो मान्यता छैन ।

सामान्य एक घण्टाको कार्यक्रम आंकलन गरेर सामेल हुनेले सजिलै दुई तिन घण्टा समय दिनु पर्ने हुन्छ । कारण हामी नेपालीलाई समय नै समय छ, फुर्सतै फुर्सत छ । जति धेरैलाई बोल्न लगायो उती संस्था जुरुक्क उचालिन्छ कि क्या हो ?

लायन्स क्लबहरुका कार्यक्रम पनि यस्तै खालले तन्किरहन्छन् । सम्वन्धित बाहेक अन्य क्लबका पदाधिकारीहरुलाई निम्ता गर्ने, उनीहरु आउँदै गर्छन् आसन गराउंदै गर्ने, तहगत सम्मान फुलगुच्छा, बुके, खादा वा माला हैसियत अनुसार प्रदान गर्दे जाने, सकेसम्म धेरैलाई बोल्न मञ्च प्रदान गर्ने (खास गरी अन्य क्लबका पाहुना त बोल्नबाट बञ्चित हुनै भएन), अन्तिममा पाहुनाहरु सबैलाई हैसियत अनुरुप मायाको चिनो प्रदान गर्ने आदि आदि ।

कार्यक्रममा ठुला व्यक्ति ढिला आउनुपर्छ, सामान्य निम्तालु भन्दा अगाडी पुग्नु हुंदैन भन्ने हाम्रो अर्को विशेष मान्यता छ । त्यसैले साधारण निम्तालुलाई भन्दा कम्तिमा आधा घण्टा ढिला अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथिहरुलाई बोलाउने चलन पनि गज्जबको छ । के ठुला मानिसको लागि २४ घण्टे दिन र अरुका लागि ४८ वा ७२ घण्टे दिन हुने हो की ? विशिष्ठका समय मात्र मुल्यवान अरुका समय सधैं फाजिल रहने हो कि ? दुइटा साना उदाहरणहरु यहां राखौं : नेपाल पुस्तकालय संघको ३० को दशकको एउटा कार्यक्रम बारेको हो । शिक्षा राज्यमन्त्री रामशाहपथमा एउटा कार्यक्रमा आउनु पर्ने थियो ।

ठिक समयमा नआइपुग्नासाथ फोन भयो । अनामनगर घरबाट निस्कन तयार तर कार्यकर्ताले लगेको मोटर आइपुगेन छ । उनलाई भनियो– पत्रकारहरु पनि अर्को कार्यक्रमा जानुछरे, १० मिनेट कुर्न सकिन्छ, ट्याक्सीबाट आउनु पर्यो । उनले सो कुरा माने र १० मिनेट भित्रै आइपुगे । अन्यथा सो बखत प्रमुख अतिथि बिना नै कार्यक्रम गर्ने संस्थाले तत्काल निर्णय लिएको थियो ।

अर्को एउटा संस्था बानेश्वरमा छ । यो संस्थाले सामान्य कार्यक्रमहरु एक घण्टाको मात्र निश्चित गर्छ । प्रायः विहान ८ बजे देखि ९ः१५ समय तोकिन्छ । कोही आउन्वा नआउन् ८ः१५ मा उद्घोषकले कार्यक्रम शुरु गर्छन् र समय भित्र गर्न सकिने मात्र कार्यक्रम आंकलन गरिए अनुसार ९ः१५ भित्रै सकाउँछन् । गरे हुँदोरहेछ छ, सकिने पनि रहेछ छ, हामी किन गर्दैनौ !

हरफकारले सुनेको हो- एउटा शब्दमा एकमात्र आदरार्थी अंश थप्न मिल्छ । यदि त्यो सही हो भने व्यक्तिको नाम अगाडी श्री वा पछाडी जी अथवा ज्यू राखे पुग्यो । प्रधानमन्त्री केपी ओलीज्यू भन्ने हो कि वा प्रधानमन्त्री श्री केपी ओली भन्ने हो । हामी त तन्काएर थुप्रै अलंकार वा आदरार्थी अंशहरु थपिरहन्छौं र त्यसमै बडप्पन देख्नथालेका छौं । जस्तै : समादरणीय सम्माननीय श्रीमान् प्रधानमन्त्री केपी ओलीज्यू आदि आदि ।

अत्यन्त खडकिने कुरो त हामी आफैंले समयलाई वेवास्ता गरिरहेका छौं । नेपाली समय त हो नि भन्दछौं । हामी कति निरिह छौं, हुन्छौं किन ??? के बेलायती र नेपाली समय भन्ने फरक फरक हुन्छ र ?समय सबैको समय नै हो । अझ कुनै कुनै निम्ताहरुमा त ठिक यति बजे पनि लेखिएको हुन्छ, तापनि आधा घण्टा वा एक घण्टा ठुला पाहुनालाई कुर्ने चलन छ, यस अर्थमा त्यो ठिक लेखेको के अर्थ रह्यो ? समयको पालना गर्नुपर्छ भन्ने पाठ ठूला साना हामी सबैले सानै देखि सिकेका हैनौं र !

विट मार्दै गर्दा हरफकार माथी उठाइएका विषय बस्तुहरुमा व्यापक छलफल होस्, देश काल परिस्थिति अनुसार सम्मेलन, सभा, गोष्ठी, कार्यशाला, बैठक आदिको स्पष्ट खाका बनोस् ; प्रमुख अतिथि देखि अतिथि सम्मको मान्यताको जग बनोस् ; सभा सम्मेलन गोष्ठी आदिमा समय बचाउन लिन सकिने उपायहरु पत्तालागोस् ; नेपाली समय त हो नी भनेर आफैं नकोसिइन के गर्नु पर्ने हो सोको बाटो पहिल्याइयोस्; ….भन्दै सम्वन्धित निकाय संस्कृति मन्त्रालय नै उपयुक्त हुन्छ कि भनेर सो मन्त्रालयलाई यो कामको जिम्मा लगाउन चाहन्छ ।