• मंसिर ११ २०८१, मंगलवार

असुरक्षित नेपाली आकाश : कस्ले दिने यसको जवाफ ?

विषय प्रवेश :
सडक दुर्घटनाबाट बगेको मान्छेको रगतले देशैभरिका सडकहरु रक्ताम्य छन् । सडक दूर्दशाको यो भयावह चित्र हेर्दै गर्दा नेपाली आकाशको असुरक्षित र दर्दनाक परिवेश फेरि उजागर भएको छ, यसपालि माघे संक्रान्ति सबैले उत्साहका साथ चाड पर्व मनाइरहँदा । कसैले पत्याउन समेत नसकेको भयावह चित्र पोखराको सेती खोंचले देखाएको छ, यसपालि । जहाँ नयाँ भनिएको विमानस्थलको टावरसँग यती एयरले लैण्डिङ्ग अनुमति लिएको १० सेकेण्ड नबित्तै ७२ जना यात्रुहरु सोलोलो भए ।

कति त ‘बचाऊ’ भन्दै थिए पनि तर गोजीबाट मोबाइल झिक्दै भिडिओ बनाइन थालियो । उद्धारको संवेदनशीलता भन्दा पनि टिक्टक् र रमाइलो गर्ने हाम्रो चरित्र लासमाथि दागबत्ति दिँदै गर्दा आर्यघाटमा फोटो खिच्नेहरुको धुइरो लागेजस्तै गरी । जब जब देशले नयाँ प्रधानमन्त्री पाउँछ, तब तब देशमा ठूला दूर्घटनाहरु हुने गर्छन् । चाहे थाई एयरको विभत्स दृश्य होस् वा सप्तकोशीको बाँध फुटेर नेपाली जनजीविकामा दशकौँसम्म कालो दाग देखापरिरहोस् । दुखान्त र वियोगान्त सम्झनाहरुकै साथमा जव तयारी र पर्याप्त परीक्षण बिना नै उद्घाटनका लागि हतारो गरिन्छ । सरकारबाट विमानस्थलको तयारी, परीक्षण के कस्तो थियो, अर्को निजगढको विमानस्थलको उद्घोष त्यहीँ गर्न भ्याएका थिए, राजनीतिकर्मी भनिने ठूलाहरुले केही दिन अघिमात्रै ।

शोक र भोक विदा :
देशभरि शोक छ, भोक छ, रोग छ, कष्ट छ, हैरानी छ, चिन्ता छ, कुन्ठा छ, शोकाकूल छन् आमनागरिक र विदेशतिर भासिएका छन्, खान र लाउनैका लागि । देशमा ठूलो परिवर्तन गरे राजनीतिकर्मीहरुले तर देशको अवस्था उस्तै छ, मात्रै होइन, जटिल छ । प्रजातन्त्रदेखि लोकतन्त्र र संघीयता अनि गणतन्त्रसम्म ल्याइयो तर लोकतन्त्रकै उपहास कहीँ नभएको अभ्यास प्रतिपक्षी बिनाको नकच्चरो शैलिमा संसद चल्दैछ केवल भाग पाउनैका लागि । संसारमा धर्म, संस्कृति सिकाउने देशबाट अब विदेशीहरुले लोकतन्त्रको परिक्षणको नमूना के सिक्ने हुन्, थाहा छैन । यति हो कि नेपाली आकाश सुरक्षित छैन भन्दै युरोपियन संघले नेपाली उडानलाई कालोसूचीमा राखेको वर्षाैं भइसकेको छ, अब त्यो सूचीबाट हटाउने प्रयास भइरहेको बेला नेपाली आकाशमा आन्तरिक सबैभन्दा ठूलो यात्रु संख्याकोे एकै चिहान भएको छ ।

यसमा सरकारले शोक विदा दियो, पानीमाथि ओभानो हुँदै जसको सर्वत्र विरोध भएको छ । सबै संयन्त्रहरुबाट उद्धार कार्यमा शरिक हुनु पर्ने बेला देशैभरि काम ठप्प हुने गरी सार्वजनिक बिदा भनियो, देशमा विदाको कमी नै छैन । प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जन्म दिवस, मृत्यु दिवस, चाड, पर्व दिवस, प्रदेश दिवस, स्थानीय पालिकाहरुका दिवस, जाति विदा, वर्षभरिमा महिनैपिच्छेका नयाँ वर्षका विदा, चुनाव विदा, भाषा विदा, भनौँ देशैभरि विदा छ, काम गर्नु नपर्ने, विदेशीसँग थाल थापेर खाने, आपूm केही नगर्ने शोक, भोग, रोगप्रति उदासिन हुने आत्मनिर्भर हुने प्रयत्न नगर्ने अनि सार्वजनिक विदा उरल्धुरल दिइरहने हाम्रो यो संस्कार शायदै अन्यत्र होला ।

भारत र चीनले उत्पादन र आर्थिक आप्mनो क्षमताले विश्व थर्काएका छन् हामी पानी मरुवा भएर दुखान्त घटनाहरुलाई स्मरण गर्दै वियोगान्त कथाहरु लेखेर, पढेर, सुनेर बस्नु परेको अवस्था छ । गहुँको पिठोमा ५० प्रतिशतले भाउ वृद्धि भएको छ, आयातीत इन्धन सरकारले नै दोब्बर नाफा लिएर बेचिरहेको छ हामीले त्यसको विकल्प सोच्नसम्म सकेको अवस्था छैन । श्रीलंकाले सरकारी संयन्त्र कटौती गरेको छ, आपूm टाटपल्टिएर ।

तर हामीकहाँ राजनैतिक, प्रशासनिक संयन्त्र घटाउने आँट छैन, बरु भएभरका दलका मान्छेलाई राजनैतिक रोजगारी दिन संसदलाई नै प्रतिपक्षी विहिनबनाइएको छ । सत्ता बाहिर बस्दा आपूm असुरक्षित महसुस हुँदैछ, दल र तिनका आफन्तहरुलाई जसरी पनि पाल्नु पर्छ, देशमा खर्बौ व्यापारघाटा होस् वा योजनाले परिकल्पना गरेको साँढे आठ प्रतिशतको आर्थक वृद्धिमा बरु माइनसतिर जाओस् । यसै आवको विकासको नाममा गरिने पूँजीगत खर्च आधा वर्षमा १४ प्रतिशत मात्रै किन नहोस्, सत्ता प्राप्तिको बैठकभन्दा अन्य बैठक बसेको देखिएको छैन देशमा । बरु कुनै घटना घटनासाथ विदा दिएर आराम गराउने प्रचलन बढेको छ, विदा दिएर शोक प्रकट हुन्न, काम गरेर र दुर्घटना नै हुन नदिएर बरु हुन्छ ।
बढ्दो दुर्घटना :
सडक दुर्दशा र मान्छेको वियोग यहीँ मिसाउँदा नेपाली मात्रै होइन विदेशी आँखा पनि बढी रसाउँछन्, अतः यहाँ हवाइ उडानको मात्र चर्चा गर्दैछु । सिष्टमले काम गर्दा दुर्घटना हुन्नन्, यत्रो विश्व ब्रह्माण्ड चलेको छ, पृथ्वीले आप्mनो परिक्रमा गरेको छ, कुनैबेला भूकम्प, आँधी तुफान प्राकृतिक घटना देखिए पनि गम्भिर घटना कतै कुनै बेला मात्र हुने गरेका छन् ।

यहाँ मानव निर्मित घटना ज्यादा छ, विमान दुर्घटनालाई अहिलेसम्मको अभिलेख हेर्दा चालककै लापरबाही भनेर प्रतिवेदनहरुलाई पुस्तकालयमा थन्क्याउने गरिएको छ । हो हाम्रो प्रकृति सहज छैन आकाश पनि तर प्रतिष्पर्धा, होडबाजी, पुराना थोत्रा यान्त्रिक साधन, कम्पनीले मिलेमतोमा पाइलटहरु राख्ने प्रचलन, लापरबाही, पुराना माोडेलका जहाजहरु, व्यवस्थापकीय कमजोरी, अनुगमन गर्ने निकायको निस्कृयता, भूगोलप्रतिको अनभिज्ञता जसले गर्दा धेरै मानिसहरुले अकालमा मृत्युवरण गरिरहेका छन् ।

नेपाली आकाशमा विमान उड्न थालको इतिहास लामो छैन तर थाई एयर र नेपाल वायु सेवाको स्थापना समय उही हो तर थाई एयरले विश्वमा पाएको प्रतिष्ठा र नेपाल वायुसेवाले विश्वमै गुमाएको आप्mनो साख अनि त्यहीँ हुने गरेको चरम लापरबाहीको कथा नसुन्ने नेपालीहरु पनि शायदै होलान् अहिले ।

देशमा विसं २०१२ सालदेखि नै हवाइ दूर्घनामा नेपालीहरुको ज्यान जाँदै गरेको र अहिलेसम्म साना ठूला १०९ वटा घटनाहरु भइसकेका छन् । विगत ६७ वर्षको अवधिमा यस्ता घटनाबाट ९३९ जनाको अवसान भइसकेको तथ्यांक सार्वजनिक भएको छ भने दुर्घटनाबाट बच्नेहरु पनि ६९० जना छन् । यसरी हेर्दा देशमा हवाइ दुर्घटनाबाट मर्नेको संख्या औसतमा एक दर्जन छ वार्षिक ।

यसमा हेलिकप्टर ३६, मल्टी इन्जिन विमान ५२, मनोरन्जनात्मक विमान ३, सिंगल इन्जिन विमान ८ र बाह्य विमान ९ वटा दुर्घटना भइसकेका छन् । नेपाली आकासमध्ये निकै सुगम ठहरिएको, पर्यटकीय केन्द्र बनेको पोखराको माझ सहरमा र भरखरै तयार भएको भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण हुनु १० सेकेण्ड पूर्व स्वदेशी ५३ जना सहित चालक दल एवं विदेशी समेत गरी ७४ जना एकै स्थानमा भष्मीभूत हुनु देशकै लागि अशोभनीय र चरम लापरबाहीको विषय हो ।

कोरोनाबाट बिस्तारै तंग्रन लागेको भनिएको र सन् २०२१ मै ६ लाख पर्यटक भित्र्याइसकिएको अभिलेख संसारलाई दिइरहँदा मानवीय असावधानीमा भएको दर्दनाक यो इतिहासलाई देशले मात्रै नभएर विश्वले नै कहिल्यै नबिर्सने खालको छ । यही आकाशको हिममानव विश्वकै उत्कृष्ठ पर्वतारोही आङ्रितादेखि देशकै पर्यटनमन्त्री त्यो पनि पोखराकै निवासीको हवाइ दुर्घटनामा परेको आलो घाउ सुकिसकेको छैन ।

अहिले मृत्युवरण गर्ने पाइलट समेत त्यहीँकै स्थानीय र दर्जनौँ वर्षहरुका कुशल विमान चालक भन्न समेत सम्बन्धित क्षेत्रले भ्याएको अवस्था छ र त्यसकै सहचालकका पतिले उसै विमानबाट ज्यान गुमाइसकेका र त्यसपछि उनको बिँडो थाम्न भनी सहचालक भएकी उनले पनि उसै विमानबाट जीवनको अन्तिम विदाइ लिनुु कति नमज्जाको कुरो हो, या उनको परिक्षा सकिने र यसै उडानबाट उनको प्रतिष्ठा वृद्धि हुने भनिएको सामाजिक सन्जालमा आएको खबर उनैले पो विमान चलाएकी थिइन् कि ? त्यो त अध्ययन प्रतिवेदनले देखाउला तर निमेषभित्रै भएको यत्रो ठूलो घटना, सुगम क्षेत्रको हुँदाहुँदै अध्ययन प्रतिवेदन तयार गर्न ४५ दिनको समय किन दिइयो, यो रहस्यात्मक विषय हो कि होइन ?

चनाखो हुन जरुरी छ, जसरी संसदमा प्रतिपक्षी नभई अब केवल नागरिक अगुवा, प्रेस आदिले देशको प्रतिपक्षीको भूमिका निभाउनु परेको अवस्थामा यस्ता घटनाहरुका लागि केवल मोबाइलमा फोटो खिचेर सान्त्वना दिने, लिनेभन्दा पनि अब सशक्त भूमिका निर्वाह गर्नु पर्दछ, संचार र सबै क्षेत्रले । नागरिक उड्ययन प्राधिरणको यो रमिते चाला अनि महाप्रबन्धकहरुको हालसालैको मिडियाहरुका अन्तर्वार्तामा विमान कहिल्यै पुरानो हुन्न, सबै ठीक नभइ उडान अनुमति नै दिइन्न भन्ने जस्ता अभिव्यक्तिहरुबाट आम जनमानसले के बुभ्mने त अब ?
उपसंहार :
एउटै कम्पनी यतिको श्रृंखलाबद्ध दुर्घटना यो एघारौँ हो । निजीकरणकै नममा भूमि सवारीका दुर्घनाहरु धेरै छन्, निजीक्षेत्रका स्कूल, अस्पताल, नर्सिङ् होमहरुको गुणस्तर पनि हेर्ने बेला भइसकेको छ, यो सबै काम सकारको हो । यी भए विमान चालकका कुरा, देशको नेतृत्व र चालक को हुन् त अहिले ? संविधानमा प्रतिपक्षीको के भूमिका छ त, बा ओलीले संवैधानिक परिषदको नियुक्तिमा देउवाजीले प्रतिपक्षका तर्फबाट भाग लिन नगएकै कारण प्रतिपक्षी बिना नै संवैधानिक नियुक्ति हुन सक्ने अध्यादेश ल्याएर सबै कामको दुनो आफैतिर फर्काए जस्तै अहिलेको पाइलट को त ?

पहिला पहिला परिक्षामा फष्ट, सेकेण्ड ल्याउनु भन्दै अभिभावकहरु साना नानीहरुलाई अर्ती उपदेश दिन्थे । थर्ड डिभिजन ल्याउनु भनेको हैसियत गुमाउनु हो भन्थे । अहिले यो उपदेशले काम गर्दैन, देशमा अभिभावक पनि नभएको अवस्थामा त्यत्रो संख्याको संसद सिटमा २३ सिट ल्याउनेले फष्ट ब्वाइ भएर देश हाँके देउवाजीले, त्यसको गुन तिर्न अहिले थर्ड डिभिजन ल्याएर विजयी त्यो पनि आफैले सहजीकरण गरिदिएका, र देशको पाइलट बनेका प्रचण्डले हाँक्छन् त देश ? ओली प्रचण्ड २ पाइलट हुँदा देशमा गम्भिर दुर्घटना भएको थियो, एक वर्षमा २ पल्ट संसदको कोमा प्रवेश ।

अब त देशमा देउवा समेतका बहुपाइलटहरु छन्, हवाइ दुर्घटनाभन्दा अर्को ठूलो दुर्घटना भयो भने को जिम्मेवार हुने ? बजार र महँगीको मार, विदेशी ऋण र करको भारवहन क्षमता आम नेपालीहरुले गुमाइसकेका छन् र धैर्य पनि । बस चढ्दै कोही पुल्चोक, कोही चितवन पुगेकै भरमा राजनैतिक चरम लापरबाहीले जनता भयग्रस्त, रोग र भोकग्रस्तको स्थितिबाट उन्मुक्त होलान् ?

विश्व बैंक लगायत अन्तर्राष्ट्रिय एजेन्सीहरुले विश्व बजारमा थप मन्दी आउने, एसियामा आर्थिक वृद्धि अझै घट्ने भनिरहँदा हामी भने पन्ध्रौँ योजनाले कल्पना गरेको विकासको लक्ष्यमा मध्यावधि समीक्षा गर्दा देशले उँधो मुण्टो लगाएको हेर्दै, र यसै आव को मध्यावधि समीक्षाको अधोगती र आवको ६ महिनामा विकासे पूँजीगत खर्च १५ प्रतिशत बढ्न नसकेको अवस्था हेर्दै चित्त बुझाइरहने हो त ? या दलहरुका स्वैर कल्पनाभित्रका नाटकीय मनोरञ्जनबाट चित्त बुझाउने ?