वर्षभरिको चिसो महिनामध्ये माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति भनेर पनि भन्ने गरिन्छ । नेपाल बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशेषता बोकेको मुलुक हो । विविधतायुक्त हाम्रो देश नेपालमा सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली भन्ने राष्ट्रिय गानले भने जस्तै सबै समुदाय मिलेर यो पर्वलाई भव्यताका साथ मनाउने गर्दछन् ।
माघे संक्रान्ति चाड विशेष त चेली पर्वको रूपमा मनाइन्छ । थारुहरुको विशेष पर्वको रुपमा लिइने माघे संक्रान्ति पर्वलाई माघी भनेर आजको दिन नयाँ वर्षका रूपमा हर्षोल्लास छाउने गर्दछ । आजको दिनमा उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ । मगर लगायतका अन्य समुदायले माघे सक्रान्तिलाई आआफ्ना परम्परा अनुसार विशेष महत्वका साथ मनाउने गर्दछन् ।
तराई, पहाड र हिमाल सबै क्षेत्रमा यो पर्व आआफनै शैलीमा यो पर्व मनाउने गर्दछन् । कतिपय शक्तिपीठमा माघे सक्रान्तिकै लागि भनेर विशेष मेला लाग्ने गर्दछ । माघी मेलाका रुपमा आजको दिन विभिन्न घाटहरू, नदीहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ । तामाङ समुदायले समेत आजको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् ।
यस दिन विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ तामाङ समुदायले आज चेलीबेटीलाई पूजा गर्दछन् । यो दिन बिहानै नुहाई धुवाई गरेर, चोखो कपडा लगाएर घरमा पुजापाठ गरिन्छ । त्यसपछि आफन्त कहाँ जाने–आउने हुन्छ । शुद्ध रूपमा तयार पारिएको परिकार खाने गरिन्छ । पूजा गरेपछि दिदीबहिनीलाई तरुल जलाएर बनाएको टीका लगाइदिएर दक्षिणा दिने चलन छ । विभिन्न तरुल, फलफूल, सेलरोटी, अचार लगायतका खानेकुरा र दक्षिणा राखेर दिइन्छ ।
माघे संक्रान्ति जाडो महिनामा मनाइने चाड भएकोले जाडोमा न्यानोका लागि पोसिला खानेकुरा खाने गरिन्छ । आजको दिन तिलका विशेष पकवान तयार गर्ने गरिन्छ । घ्यू, चाकु, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डु र भुजा अर्थात् मुरैको अनि च्यूराको लड्डुका परिकार खाने तथा आफन्तलाई दिने गरिन्छ ।
खेतबारीमा रोपेको तरुल खनेर ल्याउने र सक्रान्तिको अघिल्लो रात वन तरुल, सख्खरखण्ड उसिनेर खाने गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदि खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले पनि निकै फाइदाजनक मानिने यस्ता पोसिला खानेकुरा खानाले विभिन्न रोग लाग्दैन । विभिन्न खानाका परिकार खाने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ ।
बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र विविधतायुक्त नेपाली समाजमा माघे सक्रान्ति जस्ता पर्वले विशेष महत्व राख्दछ । यस्ता पर्वले धार्मिक सहिष्णुता कायम राख्न मदत गर्दछ । यस्ता पर्वले नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध बढाएको छ । सबै समुदायले मनाउने यस पर्वले राष्ट्रिय एकता सुदृढ पार्न तथा जातजातिबीच सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।