एजेन्सी । अफ्रिकी देश कंगोको एउटा चर्चमा भएको बम विष्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
चरमपन्थी इस्लामिक संगठन आईएसआईएससँग आबद्ध सशस्त्र समूह अलाइड डेमोक्राटिक फोर्सेज–एडीएफले विस्फोटको जिम्मेवारी लिएको छ। एडीएफ कंगोलाई आधारभूमि बनाएर विद्रोही गतिविधि सञ्चालन गर्दै आएको युगान्डालीहरुको सशस्त्र हतियारधारी समूह हो।
२०१९ को मध्यतिर चरमपन्थी समूह इस्लामिक संगठन आईएसआईएससंग आबद्धता जनाएको यो समूहले विगतका वर्षहरुमा सयौं निर्दोष गाउँलेहरुलाई मारेको आरोप छ।
गत वर्षको अप्रिल यता मात्रै एडीएफले ३७० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य सयौं मानिसको अपहरण गरेको संयुक्त राष्ट्रसंघद्वारा गत महिना जारी प्रतिवेदन जनाइएको छ।