• मंसिर २० २०८१, बिहीबार

थोत्रा जहाजहरू हटाऊ

माघ १ २०७९, आईतवार

पोखरामा आइतवार यति एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि यसले सबैलाई निधार खुम्च्याएर सोच्ने बनाएको छ । लापर्वाहीको पनि हद हुन्छ ।

कसैको पनि जीवन कौडीको मूल्यमा निर्माण भएको हुँदैन । थोत्रा जहाजहरू प्रयोगमा ल्याउनाले यी निरन्तर दुर्घटना बेहोर्नु परिरहेको छ ।
छानविन समितिले हरेक पटक रिपोर्ट दिन्छ, थोत्रा जहाज भएको कारण दुर्घटना हुन गएको भनेर । आफै थोत्रो र डेट गएको जहाज छ, अरू के कारण खोज्ने ?

मापदण्ड निर्माण गरिएको छ, कागजमा ! लगानी कर्तालाई पैसा कमाउनु छ, जीउधन सुरक्षाको मतलव छैन । सरकार कर असुल गर्न पाए मख्ख छ, मापदण्डको ख्याल छैन ।

मानिसमा पनि कमी कमजोरी हुन सक्छन् । तर त्यसमा पनि यन्त्र नै पुरानो भएपछि के गर्नु ! अहिले सम्मको रिपोर्टमा ब्ल्याक बक्स हेर्ने, सुन्ने र रेकर्ड थाह पाउने भने पनि जहाज किन्दा हेर्ने, सुन्ने र त्यसको जीवन समाप्त भएको थाह पाउने चलन नेपाली हवाइ व्यवसाय लगाानीकर्तामा छैन ।

सेती नदीको खोचमा खसेको जहाज त्यत्तिकै उल्टोपाल्टो भएर हल्लिंदै आउन सक्दैन । जहाज पुरानो भएर यस्तो हुने गर्छ । प्रत्यक्षदर्शीका अनुसार ‘खस्ने बेलामा जहाज पूरै उल्टै भयो, एकैचोटी भुईंमा’ बज्रिएको थियो ।

जहाज नियन्त्रण किन हुँदैन ? जहाज कण्डिसनमा नै नभएपछि कसरी नियन्त्रण हुन्छ ? मानिसको स्वास्थ्य अवस्था ठीक नहुँदा सन्तुलित रूपमा हिँड्न सक्छ ?  जहाज पनि त्यही हो । कण्डिसनमा भए न सन्तुलन हुन्छ ।

जब दुर्घटनापछि रिपोर्ट तयार पारिन्छ, त्यति बेलामा व्यवसाय चौपट हुने, यात्रु तथा चालक दलको मनोविज्ञानमा असर पर्नजाने आदि नानाथरीका मनोवैज्ञानिक कुरा गरेर रिपोर्ट तयार पारिन्छ ।

यो रिपोर्ट यथार्थताभन्दा कोसौं टाढा हुन्छ । यसको परिणाम भनेको पुनः उही प्रकृतिको दुर्घटनालाई निमन्त्रण गर्नु हो ।

त्यसैले विना ढिलाई थोत्रा जहाज हटाऊ, मापदण्ड अनुसार नयाँ जहाज ल्याऊ !