काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको शनिबार विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लोपटक पुस २९ गते भुक्तानी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि, निगमले गएको असार ३० गते एक अर्ब ३५ करोड र कात्तिक १ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको थियो । विगतमा विविध कारणले सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्ला दिनमा नियमित रूपमा किस्ता तिर्दै आएको निगमले उल्लेख गरेको छ ।