काठमाडौं । स्पेन फ्रान्स, पोर्चुगल, मेक्सिको लगायतको देशमा ‘बुल फाईट’ अर्थात् साढे जुधाई टेलिभिजनको पर्दामा हामीले देख्दै आएका हौँ । एउटा निरिह प्राणिलाई धारिलो तरबार बर्साएर सर्वश्रेष्ठ प्राणी मानिसले आफ्नो बर्बरता प्रदर्शन गरेको विषयमा आलोचना एकातिर हुने गरेको छ । तर, नुवाकोटमा मकर सङ्क्रान्ति अर्थात् माघे संक्रान्तिको अबसरमा गोरु जुधाई कार्यक्रमले ‘नेपाली बुल फाइट’ भनेर झन् ‘ब्राण्ड’ पाइराखेको छ ।
यो पटक नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका– ३, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, घलेटोल लगायतको ठाउँमा गोरु जुधाई कार्यक्रम राखिएको छ । माघे सङ्क्रान्ति पर्व नजिकिंदा देशका बिभिन्न ठाउँमा घ्यू चाकु, तरुल खाएर मनाईने प्रचलन छ । वर्षभरी छोराछोरीलाई जस्तै स्याहारसुसार गरेर जुधाउनका लागि गोरुलाई हुर्काउने चलन छ । आफूले गुन्द्रुक र ढिडो खाएर वर्षभरि गोरुलाई मास खुवाउँदै बलियो बनाई गोरु जुधाई प्रतियोगितामा उत्रार्ने गरिन्छ । प्रतियोगितामा दर्जनौ गोरु पालक किसानले आफ्ना बहर गोरुलाई सहभागि गराउँछन् । चामल, अण्डा, पोषिला खानेकुरा खुवाएर पालिएका रहर लाग्दा बहरहरुको ‘बुल फाईट’ रोमाञ्चक हुने गरेको छ ।
बुल फाईटको प्रवद्र्धन गर्न गत वर्षबाट पर्यटन मन्त्रालयलेसमेत सहयोग गर्दै आएको छ । तारुकामा गोरु जुधाउने मेलाको इतिहास दुई सय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् । तारुकामा बिगत १७ वर्ष देखि गोरु जुधाई व्यवस्थित रुपमा सञ्चालन गरिदै आएको छ ।
यो परम्परा तारुकाको स्थानीय झिंकटी घरबाट सुरु भएको हो । यो परम्परालाई स्थानीयले निरन्तरता दिंदै आएका छन् । माघे सङ्क्रान्ति मेलामा गोरु जुधाई मेला हेर्नका लागि यहाँ काठमाडौं, धादिङ, ललितपुरलगायत बिभिन्न ठाउँबाट हजारौं दर्शकहरु आउने गरेका छन् ।
पहिले अव्यवस्थित र प्रचार–प्रसारको अभावमा स्थानीयस्तरमै प्रतियोगिता सीमित हुन्थ्यो । पछिल्लो समय सञ्चार प्रविधि, सामाजिक सञ्जालहरुको ह्वात्तै विकासका कारण केही वर्षदेखि प्रतियोगिता थप रोचक बन्दै गएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत स्थान दिन थालेपछि यसको महत्व ह्वात्तै बढेको छ । २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरु जुधाईले प्रतियोगिता हेर्नको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ ।
तारुकामा विगत डेढ दशकदेखि गोरु जुधाई कार्यक्रमलाई व्यवस्थित बनाइएको तारकेश्वर–३ का पूर्ववडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए । उनका अनुसार गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो ।
तारकेश्वर गाउँपालिका ३ का गोरुपालक किसान चन्द्रबहादुर डंगोल विगतमा जस्तै यो पटक पनि आफ्नो गोरु मैदानमा उत्रार्ने तयारीमा छन् । उनले गोरुलाई आफुहरुले विपक्ष गोरुलाई हराउनका लागि बलियो बनाउन पोषिलो खाने कुरा चामल अण्डा, खुवाएर पाल्ने गरेको बताए ।
…….
कसरी सुरु भयो गोरु झुधाई ?
प्रतियोगितका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् । यो संख्या वर्षेनी बढिरहेको स्थानीयको भनाई छ । तथ्यांक राख्ने नगरे पनि तारुकामा दर्शकको भिड वर्षेनी बढ्दै गएको छ । यो प्रतियोगिताको सुरुवात कसरी भयो ? भन्ने यकिन हुन सकेको छैन । स्थानीय हर्कबहादुर श्रेष्ठका अनुसार झण्डै २ सय वर्षअघिदेखि गोरु जुधाउने परम्पराको थालनी भएको तर्क पेश गर्छन् ।
……
कसरी जाने तारुका र बेत्रावती ?
काठमाडौं हुनेहरुले तारुका जानका लागि कलंकीहुँदै गल्छी–त्रिशूली सडक खण्ड प्रयोग गर्न सक्छन् । जुन सबैभन्दा छोटो छिटो रुट हो । पासाङलाह्मु राजमार्ग अन्तर्गतको काठमाडौं–पीपलटार देवीघाटहुँदै पनि तारुका पुग्न सकिन्छ । जहाँ पुग्न निजी सवारी साधन नहुनेहरुलाई पनि कुनै चिन्ता छैन । निजी सवारी नहुनेहरुका लागि पर्याप्त बस तथा माइक्रो बसहरु सञ्चालनमा छन् । यद्यपि पासाङल्हामु राजमार्गको प्रयोग गरेको खण्डमा भने पीपलटारबाट गल्छी त्रिशूली रुटमा चल्ने गाडी बढल्नुपर्छ । दुवै तर्फबाट बाहेक अन्य केही रुटहरु समेत अस्तित्वमा रहेका छन् । समय हुने र घुमफिर गर्न चहानेहरुका लगि रमाईलो यात्रा हुन सक्छ । तर, ती रुटहरु त्यति सहज छैनन् ।
बेत्रावती जानका लागि काठमाडांैमा हुनेहरुले तीन वटा बाटा प्रयोग गर्न सकिन्छ । पहिलो कलंकीहुँदै गल्छी–त्रिशूली हुँदै बेत्रावती । दोस्रो विकल्पको रुपमा काठमाडौं माछापोखरीबाट ककनी, रानीपौवाहुँदै जान सकिन्छ । यो बाटोबाट जाँदा मनोरम हिमालको सौन्दर्यहरु हेर्दै जान सकिन्छ । तेस्रो बिकल्प टोखा, शिवपुरीहुँदै बेत्रावती जान सकिन्छ । दुरीको हिसावले यो बाटो सबै भन्दा छोटो हो । काठमाडौबाट ७० किलोमिटरको यात्रा पार गरेपछि बेत्रावती पुग्न सकिन्छ ।
तारुका जानका लागि बस तथा माइक्रोमा जानेहरुका लागि अन्तिम स्टेसन तारुका र बेलकोटगढी गाउँपालिकाको रातमाटे को सीमाक्षेत्रमा पर्ने तारुकाघाट हो । जहाँबाट त्रिशूलीको झोलुङ्गे पुल तरेर झण्डै ८ किलो मिटरको यात्रा तय गर्नुपर्छ । त्रिशूलीको पुल तरिसकेपछि स्थानीयस्तरमा चल्ने गाडीहरु पाइन्छन् । तर, हिड्ने जाँगर भएकाहरुलाई भने सालघारीको जंगलहुँदै प्राकृतिक दृश्यावलोकन गर्दै उकालो चढ्नुको मज्जा लिन सकिन्छ ।
जसबाट एकै साथ गोरु जात्रा र हाइकिङ्गको मज्जा लिन सकिन्छ । आफ्नै मोटरसाइकल भएकालाई झन् फाइदै–फाइदा । कार्यक्रमस्थ नजिकै व्यवस्थित पार्किङ्गको व्यवस्थासमेत आयोजकले गरिदिएको छ ।
….
बझाङी राजा जयपृथ्वीबहादुर सिंहको किम्बदन्ति गलत
नेपालका धेरै सञ्चारमाध्यमहरुले यसअघि तारुकाको गोरु जुधाईलाई बझाङका राजा जयपृथ्वीबहादु सिंह तारुका मामाघर आउँदा खुसी बनाउनका लागि गोरु जुधाई गरिएको भनेर प्रचार गरे । सबै सञ्चारमाध्यमले यही किम्बदन्तीलाई जोड् दिए तर तथ्य गलत भएको विषयमा भने ‘फयाक्ट चेक’ कहीँबाट गरिएन ।
हामीले यस विषयमा फ्याक्ट चेक गर्दा बझाङी राजा सिंहको मामाघर नुवाकोट नभई काठमाडौं रहेको देखिन्छ । बझाङका राजा विक्रमबहादुर सिंहका चारवटी पत्नी थिए । तीमध्ये दुईवटी प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरी थिए । रुद्रकुमारी र मेघकुमारीलाई एउटै यज्ञमा उनले बेहुली बनाएका थिए । ती चारवटीबाट उनका १४ जना छोरा जन्मे ।
जेठी रुद्रकुमारीदेवीबाट पहिलो पल्ट जयपृथ्वीबहादुर सिंह जन्मे र बझाङी राजाका उत्तराधिकारी पनि भएको तथ्य रहेको छ । सिंहको नुवाकोटको तारुकासँग कुनै सम्बन्ध देखिदैंन । इतिहासविद गणेश अधिकारीका अनुसार बझाङ्गि राजा जयपृथ्वीबहादुर सिंहको मामाघर नुवाकोट तारुका भएको तथ्य कतै नभेटिएको बताउँछन् ।