काठमाडौँ पुस ३० ।
शिवपुरी क्षेत्रले चिनिने काठमाडौँको नजिकै गोकर्णेश्वर नगरपालिका क्षेत्रको विकट तारेभिरमा अहिले पर्यटन महोत्सव चलिरहेको छ ।
यही माघ १ र २ गते भव्य रुपमा मनाउन लागिएको सो महोत्सवको पूर्व सन्ध्यामा पुसको अन्त्यमा एक वृहत् साहित्य सम्मेलन सम्पन्न भएको छ । लामो समयदेखि कागेश्वरी पर्यटन महोत्सव मनाउँदै आइरहेका परिकल्पनाकार पूर्वमन्त्री रामेश्वर फुँयालको अगुवाइमा धेरै वर्ष अघिदेखि गोकर्णको शिरभाग तारेभिरमा हालै कवि गोष्ठी सम्पन्न भएको छ ।
रामेश्वर फुयाँलको प्रमुख आतिथ्य र कवि वेदमणि घिमिरेको सभापतित्वमा ५ दर्जन स्रष्टाहरुको जमघटमा भएको एक दिवसीय कार्यक्रमका विशिष्ट अतिथिहरुमा कवि एवम् विश्लेषक अच्युतप्रसाद पौडेल ‘चिन्तन’ रहेका थिए ।
कवि रामकुमार पण्डित क्षेत्रीले सञ्चालन गरेका सो साहित्य सम्मेलनमा ५६ स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा कणाद महर्षि, क्यापिटल टिभीकी कार्यक्रम प्रस्तोता सरस्वती गौतम, कविहरु परशुराम पराजुली, शारदा पराजुली, घनश्याम पुडासैनी, मधुसुदन पाण्डेय, निवन्ध कल्पना, जनार्दन अधिकारी, धड्कन, लिलाधर पाण्डे, राजेशमान केसी आदि रहेका थिए ।
अत्यन्तै विकट तारेभिरबाट काठमाडौँको समथर दृश्य हेर्दै सबैजसो आगन्तुकहरु मनमोहक भएका देखिन्थे भने स्थानीय विद्यालयको प्राङ्गणमा सम्पन्न सो कार्यक्रमका पाहुनाहरुलाई स्थानीय भेषभूषामा झल्किएका महिला समूहबाट स्वागत तथा खादा अर्पण गरी सम्मान गरिएको थियो ।
स्रष्टा अच्युतप्रसाद पौडेल चिन्तनले वाल्यजीवनको झझल्को त्यसक्षेत्रमा टहलिँदा
‘तारेभिरमा सलाम छ शिरमा
सुनको औँठी चढाउँला मंसिरमा’
भन्ने गीत तथा आफ्नो रचना ‘छाता वारि म पारि’ शीर्षकको राजनैतिक व्यङ्ग्य कविता प्रस्तुत गरेका थिए ।