• आश्विन १४ २०८१, सोमबार

मगर संघको आयोजनामा गरियो धनुष वाण प्रतियोगिता, को-को भए विजयी ?

पुष ३० २०७९, शनिबार

काठमाडौं । माघे सकरातीको अवसर पारेर काठमाडौंमा तारा खेल प्रतियोगिता सम्पन्न गरिएको छ । परापूर्वकालदेखि जनजाति बाहुल्य गाउँबस्तीहरुमा खेलिने यो खेल मानिसहरुको बसाइसराईसँगै शहरमा पनि खेलिन थालिएको हो ।

काठमाडौंमा राष्ट्रिय तारा खेल (धनुष वाण) प्रतियोगिता—०७९ आयोजना गरि सो खेल सम्पन्न गरिएको हो । महोत्सवको पहिलो दिन काठमाडौंको टुँडिखेलमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र नेपाल मगर खेलकुद संघ केन्द्रिय समितिको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले गरे । उक्त प्रतियोगितामा पहिलो स्थान म्याग्दी मगर समाज काठमाडौं उपत्यका समूह ‘ए’ का धापन डम पुन र सहधापन कमल पुर्जाको समूहमा रहेका मिम पुन, श्याम पुर्जा र शिव घर्तीको समूहले जितेको छ ।

कुल आठ ओटा सहभागी समूहलाई पछि पार्दै १० डोरको ५० अंकमा पाँच जनाको समूहले ४८ अंक प्राप्त गरि पहिलो स्थान हासिल गरेको हो ।

त्यसैगरि उक्त प्रतियोगिताको दोस्रो स्थान नेपाल छन्त्याल संघ समूह ‘ए’ का धापन राजु छन्त्याल र सहधापन हरि छन्त्यालको समूहमा रहेका हर्क छन्त्याल, रेशम छन्त्याल र आकाश छन्त्यालको समूहले ४६ अंक प्राप्त गरि दोस्रो स्थान प्राप्त गरेको हो ।

प्रतियोगिताको तेस्रो स्थान भने म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको समूह ‘बि’ का धापन छक बुढा र सहधापन तुल घर्तीको समूहमा रहेका जुलुम पुन, बेन बुढा, कमल पुनको समूह र थासाङ स्पोट्र्स क्लबका धापन फारम शेरचन र सहधापन ठाकुर गौचनबिच समान ४१-४१ अंक भई बराबर भएकोमा पुनःगोला प्रथा गराई दुबै समूहलाई १० डोेर तारा हान्न लगाउँदा थासाङ स्पोट्र्स क्लबले १० मा ८ डोर र म्यादी मगर समाजले १० डोर मा ९ डोर तारा हानी प्रतियोगिताको तेस्रो स्थान जित्न सफल भएका हुन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट धनुषधर म्याग्दी मगर समाज काठमाडौं उपत्यका समूह ‘ए’ का मिम पुन भएका छन् । उनले १० डोरमा १० अंक ल्याउने १० जना खेलाडीहरूलाई अन्तिम १ डोरमा पनि खोल नजिक तारा हानी सर्वोत्कृष्ट धनुषधर पुरस्कार प्राप्त गरेका छन् ।

मगर र छन्त्याल लगायतका जनजाति समुदायका मानिसहरुले आफ्ना पूर्खाले कुनै बेला जंगली जनावरको शिकार गर्नका लागि प्रयोग गरेको धनुष वाणलाई आधुनिक समयमा खेलको रुपमा परिवर्तन गरि माघीको अवसरमा खेल प्रतियोगिताको रुपमा आयोजना गर्दै आएको चलन चलिआएको छ ।