काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई विदेश जानबाट रोक लगाएको छ । बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलाशले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोप लागेका उनलाई इजलाशले विदेश जानबाट रोक लगाएको हो । यस्तै उनलाई काठमाडौं उपत्यका पनि नछाड्न भनेको छ ।
छाड्नै पर्ने अवस्था भएमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगीन्द्र कट्टेलले जानकारी दिए । इजलाशले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पीडितलाई हानी पुर्याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताए । धरौटीमै छाड्न आदेश दिएपनि लामिछाने फेरि पनि थुनामा जान सक्ने अवस्था भने छ । उनले अदालतको आदेशको उल्लंघन गरेको अवस्थामा पुनः थुनामा नै पठाइने रजिष्ट्रार कट्टेलले बताए ।
‘पीडितसँग सम्पर्क गर्न पनि उनले पाउने छैनन् । गरेको पाइएमा वा अरू आदेश उल्लंघन गरेमा पुनः थुनामा जानेछन्,’ उनले भने । अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएपनि उनी भोलिमात्रै छुट्न लागेका हुन् ।
सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए । गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो ।
यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् । उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।