काठमाडौं । आज भोलिको मौसम चाकु खाने मौसम हो । यसका विभिन्न विशेषताहरु छन् । व्यवसायिक र साँस्कृतिक हिसावले यसका बारेमा विभिन्न भनाईहरु रहेका छन् । चाकु बनाएर खाने र खुवाउनु आफैमा एउटा संस्कृति हो ।
यही संस्कृतिलाई मानिसले आफूले मात्र नभई भगवान नाम दिइएका पुर्खाहरुलाई पनि चढाउने गरेको पाइन्छ । आफूले उत्पादन गरेका हरेक वस्तुहरु खाने बेला पूर्खाहरुलाई सम्झेर चढाउने चलन पनि परापूर्वकालदेखि चल्दै आएको छ । खानेकुराहरुको महत्व दर्शाउन मौसम अनुसारका पर्व र उत्सवको प्रचलनहरु चलाइएका हुन्छन् ।
माघे संक्रान्तिमा घिउ, चाकु, तिल, सख्खर खाने चलन छ । कब्जियतबाट बच्न तरुल, पिडालु लगायतका कन्दमुल खाने गरिएको हो । माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुका साथै शरीरलाई भित्रबाटै न्यानो बनाइराख्छ । यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।
त्यति मात्र हैन, चाकु, तथा सख्खरले शरीरमा आवश्यक विभिन्न खनिज पदार्थको आपूर्ति समेत गर्छ । घिउले यसले शरीरमा बोसो जम्न दिंदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।
घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त हुन्छ । यसको प्रयोग यसकारण गरिन्छ कि जाडो याममा हामीलाई बढी उर्जाको आवश्यकता हुन्छ । उक्त उर्जा घिउ, चाकु, सख्खरबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज प्राप्त गर्न सकिन्छ । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरन समेत प्राप्त गर्न सकिन्छ तर, मधुमेह र मिर्गौलाका बिरामीले भने यसको बढी प्रयोग गर्नु हुँदैन ।
उखुलाई आगोमा खारेर चाकु बनाइन्छ । आज हामी मानिसको स्वास्थ्यका लागि चाहिने यही चाकुका परिकारहरु देखाउने छौं ।