उहिले म्हेपी एक सुन्दर, शितल र हराभरा जंगल थियो । म्हेपीको जंगलमा योगाम्बर ज्ञानेश्वरी बस्दथे । ज्ञानेश्वरीले दिनहुँ भक्तिभाव गरेको देखेर शान्तिकर आचार्यले पूजा गर्दथे ।
अहिले पनि शान्तिकर बाँसबाट बनेको विशेष पूजा थाली (जसलाई नेवारी भाषामा कलः भनिन्छ) । उनी त्यो बोकी पूजा गर्न जान्थे । एक दिनको कुरा हो । सधैं जसरी पूजा गर्न जाने क्रममा शान्तिकर आचार्यले आफ्नै सुरमा कलः लिई एकोहोरो दायाँ बायाँ कहीँ पनि नहेरी पूजा गरिरहेका थिए । त्यसै बेला उसको छोरा मेरो बुबा कहाँ जानु हुन्छ, म पनि थाहा नै नपाउने गरि जान्छु भनेर गएछन् ।
सधैं त्यसरी नै पूजा गरिरहेको देखेर देवता खुशी भई म तिमीसँग भएको एक वस्तु माग्छु तिमी दिन्छौ कि दिंदैनौ ? भनेर सोधेछन् । देवता प्रसन्न भई सोधेका कारण शान्तिकरले खुशीहुँदै भने,‘मैले मसँग भएको जे मागे पनि हजुरलाई दिन्छु भन्नुहोस्’ भने । देवताले बाचा गराई मागे ‘मलाई दिने हो भने तिम्रो पछिपछि आउनेलाई दिनु’ भन्नुभयो । पछाडि फर्केर हेर्दा आफ्नै छोरा पो रहेछ । तर पनि दिन्छु भनि बाचा गरेको हुनाले देवतालाई आफ्नो प्राण भन्दा प्यारो छोरा दिए ।
त्यही छोरो अर्को जन्ममा करुणामय भई भारतको कामरूप कामाक्षको यक्षकुलमा जन्म हुन्छ भनेर योगम्बर ज्ञानेश्वरीको शरीरमा लिन भए । त्यसबेलादेखि म्हेपी जंगलको पीठको नाम म्हस पीठ भनियो । योगम्बर ज्ञानेश्वरी बोधिसत्वको शरीरमा लिन भएकोलाई मध्य च्वना विज्यात भनिन्छ । वास्तवमा नेवारी भाषामा ‘म्हये’ को अर्थ शरीर भन्ने हुन्छ ।
यसरी शरीरमा प्रवेश भएको वा लिन गएको हुनाले कालान्तरमा उक्त स्थानको नाम ‘म्हेपी’ रहन गएको हो । वास्तवमा म्हपीलाई किराँत कालमा ‘म्हप्रिङ’ भनिन्थ्यो । लिच्छवि कालका राजा मानदेवको समयमा पशुपति देउपाटनको रत्न संघमा राखेको शाक सम्वत् ३८८ को शिलालेखमा ‘म्हस्प्रिङ ग्राम’ उल्लेख गरिएको छ । त्यसैगरी नक्साल नारायणचौरमा रहेको हाल राष्ट्रिय संग्रहालयमा राखेको राजा बसन्तदेवको अभिलेखमा पनि ‘म्हस्प्रिङ’ उल्लेख भएको छ । यसरी किराँतकालीन शब्द ‘म्हप्रिङ’बाट ‘म्हप्रिङ’हुँदै हिजो आज म्हेपी बनेको हो भन्न सकिन्छ ।
‘म्हेपी’ हिजो आजको शब्द भएतापनि यसलाई खासमा यसरी ‘म्हयपी’ लेख्ने गरिन्छ । ‘म्हयपी’ स्थानमा रहेको मातृकालाई ‘म्हयपी’ अजिमा’ भनेको पाइन्छ । म्हयपी जोगाम्बर अजिमा बारे स्वयम्भू पुराणमा उल्लेख गरेको पाइन्छ । यो रातो मच्छिन्द्रनाथको ऐतिहासिक कथामा पनि उल्लेख गरिएको पाइन्छ । स्वयम्भूको शान्तिपुरमा सिद्धी प्राप्त गरेका शान्तिकर आचार्य (गुभाजु) म्हयपी पीठको निवासी भएको उल्लेख गरेको देखिन्छ । इतिहास केलाएर हेर्ने हो भने ‘योगम्बर’लाई आरधना गर्ने शान्तिकर आचार्यको कथा अनुसार स्वयम्भू भन्दा पनि म्हपी प्राचिन देखिन्छ ।
म्हयपी बौध धर्मावलम्बीहरूको लागि पनि प्राचीन केन्द्रको रूपमा रहेको छ । बौद्ध धर्ममा मुख्य तथा चार पीठहरू आत्म, पर, योगिनी र गुह्य पीठमध्ये म्हयपीलाई आत्म पीठको रूपमा राखेको देखिन्छ । ‘म्हय’को अर्थ नै आत्मा वा शरीर हो ।
यी चार पीठहरूको चतुष्कायको क्रममा धर्मकाय, सम्भोयकाय, निर्माणकाय र महासुखायको रूपमा लिइन्छ । धर्मकाय भनेको मर्नु पर्ने शरीरको अवस्था हो, त्यस्तै सम्भोग काय भनेको जन्मदेखि मृत्युसम्मको भोग्नु पर्ने अवस्था हो निर्माण काय भनेको मरेपछि पुनः जन्म लिनु पर्ने अवस्था हो त्यसैगरि महासुखाय भनेको प्राणीमात्रले जन्मपछि चाहने सुखको अवस्था हो यही कुरा बौद्ध दर्शनको चतुष्कायमा व्याख्या गरिएको हुन्छ ।
हाम्रो शरीर अनुसार काय, वाक र चित्र भनि चक्र मण्डल स्वरूपमा बनाएको हुन्छ । यसमा म्हयपी वाक चक्रमण्डल भित्र राखिएको पाइन्छ । म्हेपी अथवा योगम्बर ज्ञानेश्वरी बज्रयानी बौद्ध दर्शन अनुसार ‘प्राज्ञयोपय’को प्रतिक मानिन्छ । ‘प्राज्ञयोपय’को अर्थ ‘स्त्रीत्व र पुरुषत्व’को संयुक्त अवस्था हो जसलाई शुन्यता धर्मको रूपमा व्याख्या गरेको पाइन्छ ।
योग भन्नाले धर्ति हो भने अम्बर भन्नाले आकाश हो । यी दुईको मिलन नै योगम्बर हो, जसको अर्थ एकै समान शुन्यता ज्ञानप्राप्ति भन्ने बुझिन्छ । यस पवित्र भूमिमा योग साधना र ध्यान सिद्धी प्राप्त गर्न विभिन्न ठूला ठूला योगीहरू, ध्यानाचार्यहरूले साधना गरेको इतिहास पाइन्छ । यहाँ समय समयमा तान्त्रिक गुरु, बज्राचार्यहरूले विशेष विधिबाट साधना गरिरहेका हुन्छन् ।
बज्रयान सम्प्रदायहरुको लागि यो पवित्र भूमि हो । हाम्रो देशमा धर्मको नाम कहिल्यै हिंसा भएको छैन । सबै धर्म मान्य मानिसहरूमा सहिष्णुता छ । यसको एउटा ज्वलन्त उदाहरण म्हयपी हो । किनभने यस क्षेत्रमा शाक्त, हिन्दु, बौद्ध, र शिख धर्मावलम्बीहरुले शक्ति पीठको रूपमा समान रूपले मान्दै आएको देखिन्छ ।
बौद्ध परम्परा अनुसार ८४ सिद्ध पुरुषहरूले जहाँ जहाँ र जुन जुन स्थानमा सिद्धी अथवा ज्ञान प्राप्त गरे, ती ठाउँहरुलाई पीठ मानेको पाइन्छ । हिन्दु धर्म अनुसार पीठहरु सत्यदेवीको अंग पतन भएको स्थानको नामबाट बनेको हुन्छ भने यो म्हेपी पीठ त्यसरी बनेको होइन । नेवारी समुदायमा निकै प्रचलनमा रहेको अजिमा पीठहरू पनि भिन्न प्रकारले बनेका देखिन्छन् ।
नेपालमा यी र यस्ता पवित्र भूमिको प्रचार प्रसारको कमिले ओझेलमा रहेका देखिन्छन् । यस्ता पुन्यभूमिहरुको संरक्षण र विकासका लागि स्थानीय निकायले पनि छुट्टै परियोजना ल्याउनु पर्ने देखिन्छ । यस क्षेत्रलाई नेपालमा मात्र नभइ विश्वलाई चिनाउनु पर्ने आजको आवश्यकता हो ।