केही समयअघि नुवाकोटमा रहेको नुवाकोट साततले दरबार पुग्ने अबसर जुर्यो । सानैदेखि पृथ्वीनारायण शाहको विषयमा पढेको र सो दरबारको बारेमा विद्यालयमा पढाइन्थ्यो । जब म नुवाकोट दरबार पुगे त्यसपछि मेरो मनमा पलाएको लामो समयदेखिको एउटा हुट्हुटी विस्तारै शान्त बन्दै गयो । विद्यालयमा पढाइएको र पृथ्वीनारायण शाहका बारेमा धेरै कुरा सुनिन्थ्यो । शाहको बारेमा बुझ्नका लागि मलाई सधै हुटहुटी भइरहन्थ्यो । तर म उनको समर्थक, दरसन्तान, आफन्त र पृथ्वीनारायणवादी भएर होइन केबल म इतिहास बुझ्न मात्रै चाहन्थे ।
मानिसहरु इतिहासलाई एकांकी तरिकाले बुझ्ने गर्दछन् । म त्यसो गर्दिन । मानिस दोषरहित प्राणी नभएकोले उनका र उनले चलाएको राज्य प्रणालीको पनि केही दोषहरु थिए होलान् भन्ने बुझाइ रहेको छ । आज पृथ्वीनारायण शाहको शालिकमा थुक्ने मानिसहरु पनि छन् । सायद आज र अहिले पनि उनको शालिकमा कसैले थुकिरहेका होलान् या सरकारले दिएको विदाको सदुपयोग गर्दै पृथ्वी जयन्ती मनाइरहेका होलान् । पृथ्वीनारायण शाहले स्थापना गरेको शासनले नेपालका धेरै जातका मानिसहरुमाथि थोपरेको अत्याचारका विरुद्द त्यसरी उनको शालिकमा थुकेर उनलाई तिरस्कार गरिएको हो भन्नेहरु पनि छन् ।
इतिहासमा भएका घटनाहरुलाई पनि द्वन्द्ववादी भएर हेर्ने हो भने उनको शासनका पालामा अन्याय भएन होला भनेर भन्न सकिन्न । यदि उनकै पहलमा उर्लेर आएको व्रिटिसलाई रोक्ने प्रयास नगरिएको भए आजको नेपालको सरहद रहने थियो कि थिएन ? भन्ने प्रश्नहरु पनि छन् । हो, हरेक सत्ताहरु वर्गीय र पक्षपाति हुन्छन् । जातीय हुन्छन् । क्षेत्रीय र धार्मिक हुन्छन् । हिजो उनको शासनकालमा हाम्रा पुर्खालाई अत्याचार गरेको थियो भनेर आजका मानिसले आजका मानिसलाई कारवाही गर्न खोज्नु न्यासंगत होला जस्तो मलाई लाग्दैन । किन कि अन्याय गरेको हिजोको शासन चलाउने मान्छेले हो, आजको मान्छेले होइन । आजको सत्ताको संरचनाले पनि हिजोकै जसरी नै अत्याचार गरेको छ भने त्यसका विरुद्ध विद्रोह गर्नैपर्छ । किन कि अन्यायका विरुद्द विद्रोह गर्नु त आज विश्वव्यापी नियम नै बनिसक्यो ।
आज धेरै मानिसहरु राजामहाराजा तथा तिनले हिजो चलाएका शासनहरुका बारेमा विविध बहस गर्दछन् । केही मानिसहरु पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा उभ्याउँछन् भने केही मानिसहरु क्रुर शासकको रुपमा लिने गर्दछन् । हो, शासकहरु क्रुर नै हुन्छन् । हिजो पनि थिए र आज पनि छन् । त्यही त हो वर्गीय, जातीय र क्षेत्रीय पक्षधरता भनेको ।
इतिहासका पानाहरु पल्टाउँदा गोरखाका राजा नरभूपाल शाहले पनि राज्य विस्तार गरेको पाइन्छ । नरभूपाल शाहको राज्य विस्तारको योजनालाई सफल बनाउन वि.सं १८०० मा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई नुवाकोट आक्रमण गर्न लगाएका थिए । तर नुवाकोट आक्रमणमा गोर्खाली सेनाले २ चोटी पराजय व्यहोर्नु परेको इतिहास छ ।
नुवाकोटसँगको लडाइँमा पराजय भोगेपछि पृथ्वीनारायणले दोस्रो पटक वि.सं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथि अर्को हमला गर्न लगाए । नुवाकोट किल्लाको रक्षाका लागि खटेका सेनापति जयन्त रानालाई गोर्खासित आत्मसर्मपण गर्न पत्र पठाइयो । तर, जयन्त रानाले काठमाडौं पुगेर गोर्खाली सेनाले नुवाकोटमा आक्रमण गर्नसक्ने सूचना दिँदै थप सैनिक र हातहतियार माग गरे । नुवाकोट काठमाडौंको मातहमा थियो तर उनको मागप्रति काठमाडौंले बेवास्ता गर्यो । फलस्वरुप पृथ्वीनारायणको फौजले वि.सं १८०१ मा नुवाकोट कब्जा गर्यो ।
यी र यस्तै इतिहासका विरासत पढाइएका हामीलाई नुवाकोट दरबार कस्तो होला ? भनेर कौतुहुल लाग्ने नै भयो । त्यसकारण गत बैसाख १ गतेको समय पारेर हामी पनि लाग्यौं नुवाकोट दरबारको अवलोकण गर्न । साथीहरु हरी कार्की, जीवन तामाङ र म मिलेर त्यता जाने निधो गर्यौं । जीवन तामाङ नुवाकोटमा स्थानीय युवा हुन् भने हरी राजनीतिकर्मी । अघिल्लो दिन विदुर पुगिसकेका उनीहरुलाई पछ्याउँदै म भोलीपल्ट दिउँसो मात्र विदुर पुगें । विदुरबाट झण्डै ७ किलोमिटर टाढा उकालो बाटो पार गरेपछि पुगिने नुवाकोट दरबारमा सुरुमा पैदलै जाने आँट गरियो तर गर्मी र हामी शहरीया सुखमा रमाएकाहरु के को त्यो उकालो चढ्न सकिन्थ्यो र ?
एकछिन हिंडेपछि माइक्रो बसमा चढेर हामी नुवाकोट साततले दरबार परसिर पुग्यौँ । ७ तले दरबारको नामले चिनिने नुवाकोट दरबार पुग्दा दिउँसोको ३ बजेको थियो । हामीले त्यहाँ झण्डै एक घण्टाजति समय बितायौं । कोरोनाले कमजोर भएको, व्यापार व्यवसाय चल्न सुरु गरेको र मानिसको जीवन विस्तारै पुरानै लयमा फर्किंदै गरेको भएर हो कि किन हो खोई, त्यहाँ मानिसहरुको जमघट राम्रै थियो ।
पहिलो कुरा, पहिलोचोटी त्यहाँ पुगिएकोले होला मनमा पलाएका धेरै खुल्दुलीहरु मेटिंंदै थिए । झण्डै २ सय ६० वर्षअघि राजाहरुले कसरी शासन गरेका थिए भन्ने कुराको प्रमाण बोकेको सो दरबार हेर्न पाउँदा मनमा निकै उत्साह पलाएको थियो । किन कि त्यो आज एउटा इतिहास बनेर बसेको छ । नेपालमा रहेका जतिपनि ऐतिहासिक महत्वका पुरातात्विक वस्तुहरु छन्, लगभग ती सबैलाई भगवानसँग जोडेर ल्याइएको इतिहास छ ।
गोरखामा मनकामना, काभ्रेमा उग्रचण्डी भगवती र नुवाकोटमा भैरव यसका उदाहरणहरु हुन् । घुम्दै जाँदा हामीले देखेको नुवाकोट दरबार त ०७२ सालको भूकम्प भन्दा पछिको पो रहेछ । जो सकुशल थिएन, जिर्ण थियो, बुढो थियो र धुजाधुजा भएको थियो ०७२ सालको भुकम्पको धक्काले । सकुशल दरबार भएको भए भित्रै गएर अझ धेरै वस्तुहरु अवलोकन गर्न सकिन्थ्यो । तर त्यो अवसरबाट हामी बञ्चित भयौं । कारण थियो, उही भुइँचालो नामको महाकाल ।
चिनियाँ सहयोगमा जिर्ण दरबार मर्मत हुँदै गरेको थाहा पाइयो । दरबार, वरपरका सत्तल, पाटी, पौवा, मन्दिर, सहायक दरबारहरु जम्मै चर्केका थिए । केही जीर्ण बन्दै गएका थिए । ७ तले दरबार लगायत ४, ५ वटा घरहरुलाई ढल्नबाट जोगाउनका लागि फलामका खाँबाहरुले अड्याइएका थिए । मर्मत कार्य पनि चलिरहेको थियो । तर मर्मत कार्यले गति लिएको देखिएन । ती दरबारहरुका भित्र पसेर हेर्ने अनुमति थिएन, किन कि ती सबै पुनसंरचना गरिंदै थिए र जोखिमपूर्ण अवस्थामा थिए ।
दरबार तथा वरपरका दृश्य हेर्नका लागि टाढाबाट मानिसहरु त्यहाँ पुगेका थिए । दरबार क्षेत्रबाट पश्चिमतिर आँखा लगाउँदा त्रिशुलीदेखि धादिङ जिल्लाको केही भाग देखिन्थ्यो । दक्षिणतिर हेर्दा पिपलटारी, विदुर र बेल्कोटको भूभाग तथा तादी खोला र त्रिशुली नदीको संगम देविघाट धमिलो तुवाँलोले ढाकिएको देखिन्थ्यो । पूर्वतिर मुन्टो तानेर हेर्दा ढिकुरेको फाँटदेखि चौघडासम्म गरिएको गहुँखेति पोखराको फेवाताल झैं हरियो देखिन्थ्यो । उत्तरतिर हेर्न त्यहाँबाट देख्न सकिएन । किन कि जहाँ नुवाकोट दरबार छ, त्यो भन्दा माथि अर्को पनि अग्लो डाँडा भएकोले उत्तरतिरको रसुवालाई नियाल्न पाइएन । त्रिशुलीदेखि बेत्रावतीसम्म पुग्न ८ किलोमिटरजति टाढा छ । समय अभावका कारण बेत्रावती पुग्न सकिएन । त्यहाँको भूगोल हेर्दा खोला र नदीहरुका तिरमा खेति गर्ने र पहाडमा बनाइएका बस्तीका घरहरुमा त्यतिबेलाका राजाहरुले बसेर खाने गरेका हुन् कि जस्तै लाग्यो ।
यसपाली जस्तै साथ दिने साथी पाइएमा अर्कोचोटी त्यो भन्दा माथि चिनको सिमासम्म नै हुँइकिने मन छ । बेत्रावती १८औं सताव्दीमा नेपाल र भोटबिचको युद्ध समाप्तीपछि २ देशका बिचमा सन्धि भएको ऐतिहासिक ठाउँ हो । सन् १७८८ देखि १७९२ नेपाल र भोटका बिचमा युद्ध चलेको इतिहास छ । दुई देशको बिचको युद्धको कारण व्यपार थियो । नेपालले तिब्बतसम्म नै हमला गरेको थियो । आफूसँग कुनै उपाय नभएकाले तिब्बतीहरूले नेपालसित केरूङमा सन्धि (खासा सन्धि) गरेका थिए । दलाई लामाले कसैबाट कुनै पनि सहयोग पाउन नसकेकाले सन्धिमा उनी अप्ठेरोमा परेका कारण नेपाललाई वार्षिक ५०,००० जरिवाना तिर्न राजी भए । त्यो रकम एक वर्षसम्म तिरे त्यसपछि तिरेनन् । त्यसकारण नेपाललाई अपमान गरेको ठानेर बहादुर शाह तिब्बतसित अर्को युद्धको तयारीमा लागे भन्ने इतिहास पनि रहेको छ ।
दरबार वरपर घुमफिरका क्रममा भैरव मन्दिरका पुजारीले ९ वटा कोट (डाँडा वा टाकुरा) मिलेर बनेकोले नुवाकोट नामाकरण भएको जानकारी दिए । नुवाकोट दरबार नजिक रहेको भैरव मन्दिरमा नेवार थरका मानिस पुजारी रहेछन् । लामो समयदेखि दरबार निकट रहेकोले नेवार थरका मानिसलाई पुजारी बनाएको हो भन्ने मानिसहरुको तर्क पनि रहेछ । खास कुरो के हो पत्ता लगाउनु पर्नेछ । ती पुजारीका अनुसार पृथ्वीनारायण शाहले कब्जा गर्नु अघि नुवाकोट राज्यले काठमाडौंका ३ वटा राज्य (भक्तपुर, पाटन र कान्तिपुर) लाई मालपोत र अन्न लगायतका करहरु बुझाउनु पर्थ्यो रे । घुम्दैगर्दा जिर्ण अवस्थामा रहेका ती पुरातात्विक दरबार र पाटीहरु चिनियाँ सरकारले दिएको आर्थिक सहयोगबाट बन्दै गरेको पनि सुनियो ।
त्यतिबेला पनि राज्य साँच्चै व्यवस्थितरुपमा चलेको हुँदोरहेछ । अलि पर पुग्दा सैनिकले परेड खेल्ने टुंडिखेल पनि देखियो । जहाँ मानिसहरु जम्मा भई रमाइलो गरिरहेका थिए । अलि मुन्तिर कैदीलाई थुनेर राख्ने कारागार पनि थियो भन्ने पनि थाहा पाइयो । नुवाकोट दरबार भएको थुम्कोदेखि माथि रहेको अर्को थुम्कोबाट तल्लो थुम्कोसम्म जिप लाइन सेवा पनि सञ्चालन चालु रहेछ । त्यस ऐतिहासिक स्थानलाई पर्यकीय आकर्षणको रुपमा विकास गर्न खोजिएको रहेछ । जहाँ भित्र छिर्न मात्रै रु. सयको टिकट काट्नु पर्ने र जिप लाईन नै चढ्नका लागि रु. २ हजार शुल्क तिर्नुपर्ने रहेछ । हामी भने समय अभावका कारण त्यतातिर भुल्न सकिएन ।
हालको दरबार रहेको उत्तरतिर पर्ने अग्लो थुम्कोतिरबाट आक्रमण गरेका कारण गोरखाली फौजले सफलता हात पारेको हो भन्ने भनाई पनि रहेछ । त्यो गोरखाली सेनाको नुवाकोट माथिको तेस्रो आक्रमण थियो रे । दरबार तथा दरबार वरपर रहेका मन्दिरहरुमा निकै नै कलात्मक बुट्टाहरु कुँदिएका थिए । दरबारको सुरक्षा नेपाली सेनाले गरिरहेको थियो । वातावरणीय सरसफाईका लागि त्यहाँ प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको रहेछ ।
अन्तमा………
नेपाल धेरैवटा मानव सभ्यता भएको देश हो । यहाँ रहेका हालका मानिसहरुका पूर्खाहरु सबै अन्यत्रैबाट आएका हुन् । मोटामोटी पश्चिमका खस, मध्यका मगर, हिमालका शेर्पा, बाग्मतीका नेवार, तराईका कोचेदेखि सबै सबैका पुर्खाहरु विभिन्न समयमा नेपाल छिरेको इतिहास पाइन्छ । त्यसकारण इतिहासमा पनि यिनै मानव समुदायमाथि यिनै भित्रबाट उदय भएका शाषकहरुले शासन गरेका थिए । समयक्रममा एकले अर्कोको राज्यसत्ता कब्जा गरिदिए होलान् । त्यो समयमा पनि हालको जस्तै ‘बलियोले दाङ खान्छ’भने झैं थियो होला ।
त्यसकारण हिजो त्यसरी चलाइएका शासनका जिर्ण अवशेष तथा पुरातात्विक बनिसकेका वस्तुहरुलाई नष्ट गर्नु हुँदैन बरु पुर्खाको चिनोको रुपमा तिनलाई संरक्षण गरेर राख्नुपर्छ । किन कि ती चिजहरु हाम्रा इतिहास हुन् र हुन् नेपाल र नेपालीका परिचय । आज नेपालमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । नेपालमा गणतन्त्र स्थापना भएपछि राजामहाराजाहरुका दिवस मनाउने परम्परामा राज्यले नै रोक लगाएको थियो । तर यसपाली बनेको खिचडी सरकारले पृथ्वी जयन्तीका लागि विदा दिएको छ र राज्यले नै यो जयन्ती मनाइरहेको छ । यो दिवस मनाउन राज्यले दिएको विदाका बारेमा धेरै थरिका बहसहरु चलिरहेका छन् ।
आजै एकथरिले पृथ्वीनारायण शाहको शालिकमा थुकिरहेका छन् भने अर्कोथरि भने उनको जयजयकार मनाइरहेका छन् । हो, हरेक समय र शासनहरु एक वर्गका लागि वरदान र जयजयकार गर्न लायक हुन्छन् भने अर्को वर्गका लागि घृणायोग्य हुन्छन् । आज एकथरि मानिसहरु माओवादीलाई महान मानिरहेका छन् भने अर्कोथरि मानिसहरु हत्याराको आरोप लगाइरहेका छन् । सत्य कुरा के हो भने सत्तालिप्साका कारण आजको गणतान्त्रिक राज्य राजाको दिवस मनाउन बाध्य छ । अर्को सत्य के हो भने ७ दलको संसदीय प्रजातन्त्र र माओवादीको जनवादी गणतन्त्रको गर्भबाट नयाँ व्यवस्था जन्माउने सहमति भएको भए आज फेरि राजा (सामन्ती व्यवस्थाका नायक) को जन्मदिन मनाउनु पर्ने अवस्थामा फर्कनु पर्ने थिएन ।