• फाल्गुन २७ २०८२, बुधबार

चीनले गर्‍यो दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

पुष २६ २०७९, मंगलवार

एजेन्सी । चीनले कोरोना भाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ। दक्षिण कोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको हो।

सोलस्थित चिनियाँ दूतावासले अनलाइन पोस्ट गरेको सङ्क्षिप्त सूचनाअनुसार दक्षिण कोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ। सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध लागू रहनेछ।

चीनबाट कोरिया जानचाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना सङ्क्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरुप व्यवहार गर्ने बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्नो भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ।

महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी उपाय हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए। केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन भएका थिए। कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए।