काठमाडौंको कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानबाट देखिएको छ । सुरूवातदेखि नै विवादित बनेको लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएको थियो । उक्त आशंकापछि ब्यूरोले डिएसपीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ । यसो त गृहमन्त्री रवि लामिछानेले पनि लिगमा भएको अवैध बेटिङ र फिक्सिङको आशंकामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
सिआइबीको प्रारम्भिक अनुसन्धानबाट पनि खेलाडीहरू स्पट फिक्सिङमा लागेको देखिएको उच्च स्रोतले जानकारी दियो । स्पट फिक्सिङमा ३ जना नेपाली खेलाडी र कम्तीमा ४ जना विदेशी खेलाडी संलग्न भएको स्रोतले बतायो । उनीहरूलाई एक पटक स्पट फिक्सिङ गरे बापत एक देखि ३ लाखसम्मको अफर गर्ने गरिएको देखिएको छ । नेपाल टी–२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई दिएको थियो ।
भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो । पटक पटक सरेको लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट छ । यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो । ब्राउजरमा वान एक्स ब्याट डटकम हान्दा सिधै वान एक्स बेटिङ खुल्ने भएकाले बेटिङ र स्पट फिक्सिङको आशंका भएको थियो । सेभेन थ्रीकै संलग्नतामा फिक्सिङका लागि खेलाडीलाई प्रयोग गर्ने गरिएको क्यानका एक केन्द्रीय सदस्यको आरोप छ ।
यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोट्र्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए । लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए । उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो । आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो ।