• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकामा १५औँ चरणको मतदानपछि निर्वाचित भए सभामुख केभिन

पुष २३ २०७९, शनिबार

अमेरिकाको तल्लो सदन ुहाउस अफ रिप्रिजेन्टेटिभुको सभामुखमा रिपब्लिकन केभिन म्याक्कर्थी निर्वाचित भएका छन् । १५ औं चरणसम्म पुगेको मतदानपछि केभिन सभामुखमा निर्वाचित हुन सफल भएका हुन् ।

सभामुखका लागि पाँचदिन लगाएर १५ पटक निर्वाचन भएको थियो । आफ्नै दलको सांसदहरुको समर्थन जुटाउन नसक्दा हाउसमा बहुमत हुँदाहुँदै पनि केभिन १४ पटक सभामुख बन्नबाट रोकिएका थिए । हाउसमा रिपब्लिकन पार्टीको २२२ सिट छ ।

र, सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन चाहिन्छ । तर १४ पटकसम्म उनलाई उनकै सांसदले मत नदिँदा अमेरिकी इतिहासमा पहिलोपटक सभामुख निर्वाचित गर्न १५ पटक मतदान भएको थियो ।

यसअघि सन् १९२३ मा अमेरिकामा सभामुखको निर्वाचनका लागि ९ पटक मतदान भएको थियो । १६४ वर्षपछि अमेरिकामा सभामुख छान्न यति धेरै समय लागेको हो ।

१५ औं मतदानमा केभिन २१६ मत प्राप्त गर्दै सभामख निर्वाचित भएका हुन् । डेमोक्रेटिक उम्मेदवार हकिम जेफ्रिजले २१२ मत पाए । हाउसमा डेमोक्रेटसँग २१२ सिट छ । डेमोक्रेटहरुहरुले भने मतदानमा सरुवातदेखि नै एकता प्रदर्शन गरेका थिए । ६ जना सांसदहरुले भने कुनै उम्मेदवारलाई मत दिएनन् ।

म्याक्कर्थीलाई राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका डोनाल्ड ट्रम्पको समर्थन थियो । तर, ट्रम्पका कट्टर समर्थक सांसदहरु नै म्याक्कर्थीको विरोधमा थिए ।

जसकारण १४ औं चरणसम्म भएको मतदानमा पनि सभामुख निर्वाचित हुन सकेको थिएन । अन्तिममा ट्रम्प समर्थक सांसदहरुले केभिनलाई मत दिने निर्णय गरेसँगै १५ औं चरणमा उनी सभामुख निर्वाचित भएका हुन् ।

निर्वाचित भएसँगै केभिनले शपथ ग्रहणसमेत गरेका छन् । उनले सभाखुको रुपमा पहिलो प्रतिक्रिया दिँदै ुगाह्रो काम सुरु भएकोु बताएका छन् ।