• मंसिर १२ २०८१, बुधबार

जाडोयाममा सुख्खा अनुहारको चमक बढाउने सरल उपाय

पुष २२ २०७९, शुक्रबार

जाडोयाममा अनुहार सुख्खा हुने गर्दछ ।  स्वस्थ्य खानपान, अनुशासित दिनचर्या, सरसफाईले सुख्खा अनुहारमा चमक ल्याउन सकिन्छ । सुख्खा छालाबाट राहत प्राप्त गर्न सन्तुलित भोजन गर्नुपर्छ । जाडो महिनामा साबुनको प्रयोग पटक्कै गर्नु हुँदैन । अनुहारमा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्नुपर्दछ ।

पुदिनाका पातलाई पिसेर बनाएको लेदोलाई अनुहारमा लेप गर्नाले घाउ खटिराका साथै अनुहारमा रहेको दागलाई पनि हटाईदिन्छ ।

गोलभेडाको रस निकालेर अनुहार तथा गर्दनमा दल्ने । सो रस सुकेको २० मिनेटपछि चिसो पानीले अनुहार धुने,छालामा निक्खरोपन आउँछ ।

अलिकति बेसन र काँचो दूधमा एक दुई थोपा मह फिटेर बनाएको ‘फेसमेक’को प्रयोगले जुनसुकै छालालाई पनि फाईदा हुन्छ ।
महलाई पानी अथवा कागतीसँग मिलाएर अनुहारमा लगाउँदा अनुहार सुन्दर देखिन्छ ।

सानो चम्चाको दुई चम्चा बेसन, एक चम्चा कागतीको रस, एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गरे पछि अनुहारलाई अलिकति गाईको दूधले सफा गरेर पानीले धुनु पर्छ । त्यसपछि पानी सुकेपछि सो लेप अनुहारमा लगाउने । लेप सुकेको २० मिनेटपछि मनतातो पानीले अनुहार धुने । यसो गर्दा छाला चाउरिन थाले पनि बिस्तारै हटेर जान्छ ।

अन्डाको सेतो भागमा एक दुई थोपा मह फिटेर तयार गरिएको ‘फेस मेक’ हप्तामा एक पटक प्रयोग गर्नाले चिल्लो निस्किरहने छालाका लागि अत्यन्तै लाभदायक हुन्छ ।

अलिकति गाईको दूधमा जैतुनको तेल मिसाएर दिनैपिच्छे सुत्नुभन्दा अगाडि अनुहारमा तलतिरबाट माथितिर मालिस गर्ने ।

अनुहारको चाउरीलाई हटाउन अलिकति कागतीको रसमा त्यति नै मह मिसाएर लेप बनाई सो लेप अनुहारमा दल्ने गर्नुहोस् ।

राति सुत्ने बेलामा मुख धोएर अनुहारमा फिट्किरी रगडेर सुत्ने र बिहान उठेर कागतीको रस पुनःमुखमा लगाउने अनि पाँच सात मिनेटसम्म सुक्न दिई सफा पानीले मुख धुनाले अनुहारको चमक बढ्छ ।