पौष शुक्ल पूर्णीमादेखि एक महिनासम्म घर घरमा भनिने स्वस्थानी र शालिनदीको व्रत यसै पौष २२ गतेदेखि आरम्भ हुने भएको छ । कोभिड-१९ ले विगतका दिनहरुमा समस्या पारेको थियो जात्रा पर्वहरुमा । साँखु बजारबाट एक-डेढ किलोमिटर पूर्वतर्फ शालीनदी क्षेत्र रहेको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदी क्षेत्रले चिनिन्छ । शालिनदी श्रीस्वस्थानी देवीको पावन पीठ हो ।
पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । स्कन्द पुराण, केदार खण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीहरूका घरघरमा श्री स्वस्थानी देवीको व्रत उपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाका अनुसार सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् ।
माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानीदेवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ । शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् ।
शालिनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्य देशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नाग-नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालिनदी क्षेत्रमा बसेर गर्ने गर्छन् ।
वर्षेनी हजारौं व्रतालुहरू शालिनदीमा स्नान गर्ने गर्छन् । हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । तिनीहरू ब्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपति क्षेत्रसम्म पुग्छन् । व्रत प्रतिष्ठा गर्दै माघ शुक्ल पूर्णीमामा श्रीस्वस्थानी देवीको व्रत साङ्गे गरी विशेष यज्ञ समेत गर्छन् ।
माघ महिनामा शालिनदी क्षेत्र साँखु शहर नयाँ दुलहीझैं झपक्क सिँगारिन थालिसकेको छ, अहिले पनि । साँखुलाई पहिले लावण्य देश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनैबेला यहाँ शंखदेव नामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यसअर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनिन थाल्यो । शंखरापुर पछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो । हाल शंखरापुर नगरपालिका यसै नामले प्रसिद्ध छ ।
शालिनदी क्षेत्रमा प्रसिद्ध माधव नारायणको मूर्ति, ठूला-ठूला पाटी र सत्तलहरू छन् । यहाँं सधैजसो कथा प्रवचनहरू भैरहन्छन् । ४ सय मिटरजति दक्षिण समथर क्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानी कथाका अनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा-हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ ।
स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघ स्नान र श्रीस्वस्थानी देवीको पूजा उपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको हो । यसैक्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानी देवीको उपासना गरेकी हुन् । स्वस्थानी देवीको स्वरूप यस्तो छ । सुवणर् वणर्की, तीन नेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमल नयनी, सिंहासनमा बसेकी, ४ हात भएकी देवीले सम्पूणर् भक्तहरूको मनोकाङ्क्षा पूरा गर्छिन् भन्ने जनविश्वास छ । एक हातमा नीलकमल, अर्को हातमा शंख र अर्को हातमा ढाल अनि अर्को हातमा वरद मुद्रा लिएकी देवीले आम भक्तहरूको सदिच्छालाई साकार पार्छिन् ।
स्वस्थानीको शाब्दिक अर्थ हुन्छ- आ-आफ्नो स्थानमा बसेर आ-आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्यूत नहुनु, सम्पूणर् क्षेत्रबाट सबैले आ-आफ्नो पदीय आचरण, मर्यादा अनुकूलको विधि व्यवहार गर्न सकेमा सबैतिरको कल्याण हुन्छ ।
साँखु (शंखरापुर) प्राचीन समयदेखि नै पावन क्षेत्र हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्ग मध्येको पावन ज्योतिर्लिङ्गेश्वर मन्दिर रहेको छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिरलाई ज्योतिर्लिङ्गेश्वर मन्दिरको नामले चिनिन्छ । नित्य पूजा-आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तर समेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खाली जमिन कैलाश क्षेत्र छ ।
गणेश, शिव, देवीहरूका मन्दिर पनि रहेको यो क्षेत्रमा शालीनदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्परा अनुसार शिवजीे विराजमान रहनु भएको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । वैशाख शुक्ल पूर्णीमाका दिन यस मन्दिर परिसरमा विशेष पर्वपूजा हुने गर्छ । १ महिना सम्मको अनुष्ठान स्वस्थानी सत्य युगीन इतिहास हो ।
कलि युगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्व विशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेका छन् । स्वस्थानी श्रवण, विभिन्न क्षेत्रहरुमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानव जीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्धापर युग हो ।
कलि युग धर्म र कर्म दुवैको समय हो । स्नानले तन शुद्धि, दानले धनशुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सवै पवित्र बन्छ । बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको अधिक महत्व छ ।
माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघ स्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् ।
वज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसीनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रह्माप्रति जाइलागे । ब्रह्माजी डराएर योगनिद्रामा रहेका विष्णुलाई जागा भएपछि त्रिदेव ब्रह्मा-विष्णु-शिवले संयुक्त रूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनी देवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभलाई वध गर्न सफल भए ।
यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ । तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडौँ खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनी देवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।
काठमाडौँ उपत्यकाको उत्तरपूर्व मणिचूड डाँडोमा वज्रयोगिनी मन्दिर रहेको छ । काठमाडांँैबाट करीब २२ कि.मि.को दुरीमा साँखु बजार छ । साँखु बजारदेखि उत्तर उकाली चढ्दै गएपछि वज्रयोगिनी मन्दिर पुग्न सकिन्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । तीनतले यो मन्दिर अलि एकान्त स्थलमा छ । वरिपरि घना जङ्गल छ ।
शहरलाई ८ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति रहेको छ । लिच्छवि कालको अभिलेखले साँखु शहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ । हिन्दुहरूले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडौँ को दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मनाउँछन् । वज्रयोगिनीको अर्को नाम डाकिनी पनि हो ।
हिन्दुहरूले ६४ ज्योतिर्लिङ्गलाई शिवलिङ्गका रूपमा विशेषगरी मनाएझैं ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मा योगिनी, खड्ग योगिनी, विद्या योगिनी आदि प्रमुख हुन् । देवमाला वंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनी देवीको मन्दिर भेटिएको छैन ।
स्कन्द पुराण, हिमवत् खण्ड नेपाल माहात्म्यमा ‘ने’ नामक मुनिले योगिनी देवीको विशेष उपासना गरी देवीको वरदकृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको आंकलन सहजै गर्न सकिन्छ । तन्त्र शास्त्रमा वज्रयोगिनीको स्वरूप बताइएको छ । देवीको स्वरूप र ध्यान मुद्रा फरक फरक छ ।
शरीरमा छिरविरे रंगको नरम पहिरन भएकी यी देवीको मुख भने पूणर्चन्द्र जस्तो छ । मृग नयनी, रसिला ओठ, सिन्दुर र चन्दन लेपन गरेकी, अति षोडशीरूप भएकी, कल्प वृक्षमुनि बसेकी, रत्न सिंहासनमा विराजमान भएकी, देव्रे हातमा त्रिशूल घुमाइरहेकी, तीन नेत्रले शोभित, गुञ्जाफल लिएकी देवीको स्वरूप विचित्रको छ । कैंची र नरमुण्डमालाले शोभित भएकी देवी अग्ली छिन् ।
घोररूप भएकीले डरलाग्दीे देखिन्छिन् । चन्द्रमुखी देवीको मुखमा मासु, रगत समेत अड्केको प्रतित् हुन्छ । धर्ममुद्रामा रहेकी वज्रयोगिनी देवीले कमल र कलश धारण गरेकी छिन् । साँखुमा बस्नेहरू यी देवीलाई आफ्नो कुलदेवीका रूपमा हेर्छन् र नित्य उपासना पनि गर्छन् । अघि मणिचूड पर्वतबाट यिनको उदय भएको हो भन्छन् । वज्रयोगिनी मन्दिर परिसरमा प्रत्येक वर्ष चैत्र शुक्लपूणर्िमाका दिन ठूलो मेला लाग्छ । यो मेला एक हप्तासम्म चल्छ ।
योगिनीका दुई दिदी- बहिनीहरू छन् । माथिल्लो सत्तलमा रहेकी देवीलाई खटमा राखेर साँखु बजारमा ल्याइन्छ । ७ दिनसम्म साँखु बजारमा चहलपहल बढी हुन्छ । वरिपरिका असंख्य श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउँछन् । बिशेष गरी स्थानीय नेवार समुदायमा यो एउटा विशेष पर्व नै हुन्छ । टाढा-टाढा रहेका आफन्तहरू पनि यतिबेला यहाँ आएर आफन्तहरूसँग भेटघाट, खानपिन, मनोरञ्जन र देवीको दर्शन गर्ने गर्छन् ।
देवीलाई बजारमा ल्याउँदा सिंहिनी, ब्याघ्रिणी र त्यहाँ रहेको बुद्ध स्तूपलाई पनि खटमा राखेर ल्याइन्छ । वज्रयोगिनी मन्दिरसँगै रहेको चैत्य गुँ विहारको चैत्य मानिन्छ । अघि लिच्छवि कालमा वज्रयोगिनी रहेको स्थानलाई गुँ विहार भन्ने गरिन्थ्यो । प्राचीन समयदेखि आम नेपालीहरू हिन्दु र बुद्धधर्मलाई आत्मासात् गर्थे भन्ने स्पष्टोक्ति यसबाट मिल्छ । वज्रयोगिनी देवी मन्दिर नजिकै रहेकी सरस्वती देवीको पनि पूजा-उपासना गर्ने गरिन्छ । खासगरी वसन्त पञ्चमीमा त्यहाँ केटाकेटीहरू देवीको पूजा गर्न जान्छन् ।