• आश्विन १४ २०८१, सोमबार

उद्योग वाणिज्य संघको चुनाव हुनु एकवर्ष अगावै सम्भावित उम्मेदवारको दौडधुप

पुष २१ २०७९, बिहीबार

२० पुष दाङ । जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की महरा एग्रोभेट घोराही–१४ मा भेटिनु भयो । उहाँले एग्रोभेट सञ्चालक दोर्णबहादुर महरालाई व्यवसाय समयमा नविकरण गर्न आग्रह गरिरहनु भएको थियो । पुष मसान्तसम्म संघले नविकरण गर्नु भनेको छ ।

त्यसको माथिल्लो पसलमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल भेटिनु भयो । पसलभित्र छिर्दै गरेका उपाध्यक्ष पोख्रेलले संघको व्यवसायिक सचेतना अभियानका बारेमा जानकारी दिँदै गरेको बताउनु भयो । उहाँका अनुसार पसल पसलमा पुग्ने योजना छ । व्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने प्रकृया बताउनु छ । उहाँको हातमा नमुना पान नम्बर थियो ।

‘यस्तै छ कि छैन, कहाँ छ ?’ उहाँले आग्रहपूर्वक सोध्नुभयो, ‘यो देखिने ठाउँमा टाँस्नुपर्छ । अनुगमन टोली आयो भने खोज्छ ।’ उहाँले दर्ता प्रमाणपत्रहरु फ्रेममा हालेर भित्तामा टंगाउन सुझाव दिनुभयो । अनुगमन टोली आयो भने झट्ट खोज्छ । देखिएन भने जरिवाना गर्ने र दुःख दिने हुनसक्छ । यसैगरी पसल दर्ता नगरेकालाई कारोबार अनुसार प्यान वा भ्याटमा दर्ता गर्न सुझाव दिएको छ ।

अहिले सरकारले सोचे जति राजश्व उठाउन सकेको छैन । आन्तरिक राजश्व कार्यालयहरुलाई ताकेता गरेपछि कार्यालय व्यवसायिमा आउने गरेको स्थिति छ । त्यसबेला दर्ताबिना नै अवैध कारोबार गरेको फेला पारेमा व्यवसायिलाई दुःख दिनसक्छ । त्यहाँ सदस्यहरु माधव खनाल, लिलाराम खड्का लगायत हुनुहुन्थ्यो । कर्मचारी भीमा बस्नेत र विन्दु श्रेष्ठ लगायत पनि हुनुहुन्थ्यो ।

पसलका विवरण हेर्न लगेको ल्यापटपको व्याट्री सकिनै लागेको कर्मचारी बस्नेतले बताउनु भयो । उहाँका अनुसार कुनै विशेष कार्यक्रम हुँदा बाहेक संघको कार्यालयमा बसिंदैन । दिनहुँ जसो साउनदेखि व्यवसायिमा जानुपरेको छ । यसरी पेशा व्यवसाय छोडेर संघको अभियानमा पदाधिकारी खट्नुको कारण आगामी वर्ष हुने संघको चुनाव पनि छ । उहाँहरु आउँदो वर्षको चुनावमा मत प्राप्त गर्ने गरि व्यवसायि रिझाउने अभियानमा हुनुहुन्छ भन्न सकिन्छ । जो जो धेरै खटिएका छन् उनीहरु अहिले भन्दा उपल्लो पदको लालसामा छन् ।

त्यसैले पनि बढि मेहनत गरेको धेरैको अनुमान छ । काम गर्नेले जिम्मेवारी लिनु अन्यथा पनि होइन । त्यसैले पनि झन् हौसिने वातावरण बनेको छ । व्यवसायिलाई खरिद विक्री बिल अलग गर्ने, स्टक राख्ने, हिसाब मिलाउने लगायत व्यवसायिक सीपका बारेमा जानकारी लिन सजिलो भएको छ । विभिन्न किसिमका दण्ड जरिवानाबाट बच्न पनि संघको अभियानले सहयोग गरेको बताइन्छ ।

पसल भित्र सञ्चालकसँग दाङ जिल्ला उद्योग वाणिज्य संघका कर्मचारीहरु कागजात हेरिरहेका हुन्छन् । हातमा ल्यापटप बोकेका उनीहरुले पसलको विवरण खोतल्छन् । पचास पसलमा पुग्दा चारवटा दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको संघका सदस्य जगत आचार्यले जानकारी दिनुभयो ।

‘भर्खरै पसल शुरु गरेका हौँ, लक्षण हेर्दैछौं’ भने, सदस्य आचार्यले भन्नुभयो ‘मलाई त पसल छोड्न खुट्टा उचालेको जस्तै लाग्यो ।’ उहाँका अनुसार संघमा आवद्ध नभएपनि सरकारी निकायमा दर्ता गरेका व्यवसायि धेरै छन् । यतिबेला घोराहीमा नयाँ नयाँ व्यापारीक भवन बनेका छन् । शुरुवातमा पसल खोल्ने र तुरुन्तै अर्कालाई बेच्ने दलालपनि उत्तिकै रहेको बताइन्छ । केहीले जग्गा जमिनसँग पसल साटफेर गर्छन् । कतिले विदेशमा कमाएर ल्याएको पैसा व्यवसायमा लगाउँछन् । व्यवसायिक दक्षता हासिल नगरेर पसल खोलेकाहरु केही महिनामै हराउँछन् । ‘हामीले साउनदेखि नै व्यवसायिक सचेतना अभियान शुरु गरेका हौँ’ संघका अर्का सदस्य माधव खनालले भन्नुभयो, ‘पहिलाको भन्दा बिल भरपाई व्यवस्थित गर्नुभएको छ ।’

उहाँका अनुसार कतिपयलाई संघले फाइल दिने गरेको छ । भ्याटमा काम गर्नेले छुटै कर्मचारी राखेका छन् । पानमा काम गर्नेले आफै हिसाब गर्छन् । खरिद विक्री बिल अलग राख्न जानेका छैनन् । हिसाब मिलाउन नसक्दा मिस म्याचमा परेर जरिवाना भोग्छन् । उनीहरुलाई जरिवानाबाट जोगिन तरिका सिकाउन संघ हिंडेको छ । यतिबेला मुख्य बजारका सटरहरु पनि ‘सटर खाली छ’ लेखेर टाँसिएका छन् ।

केही सटरहरु महिनौँदेखि भाडावाल पर्खिरहेका छन् । केही पसल बन्द गरेर गएका व्यवसायि वर्षपुग्दा पनि फर्केका छैनन् । पसल बेच्छु भनेपनि नगद खरिद गर्ने भेटिंदैनन् । एक हप्ता होटल गर्ने, फेन्सी चलाउने अनि चलेन भनेर चटक्कै छोड्ने धेरै छन् । ‘समयमा कर नतिरेर जरिवाना परेको पनि भेटियो’, अर्का सदस्य विकास वलीले भन्नुभयो, ‘नाप तौलको शिविर बस्ने र त्यहाँ लगेर जाँच गराउनु होला भनेका छौँ ।’

उहाँका अनुसार पसल व्यवसाय शुरु गर्नुअघि संघमा गएर बुझ्ने व्यवस्था गरिएको छ । तर, कतै नबुझेर झ्याम्मै हात हाल्ने र पछि घाटा खाने धेरै भेटिन्छन् । मिस म्याचमा करोडसम्म जरिवाना तोकिएका व्यवसायिको केन्द्रबाटै महासंघले पहल गरेर घटाइदिएको सचिव श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दर्ता नगरेर झोला तथा कुम्लामा व्यापार गर्नेहरुले समस्या खडा गरेको व्यवसायिको गुनासो छ । उनीहरुले भाडा पनि तिर्नु नपर्ने, कर नलाग्ने, ग्राहकप्रति जवाफदेही पनि हुनु नपर्ने छुट छ ।

बजार व्यवस्थापन गर्नमा पनि उनीहरुलाई नियम लाग्ने गरेको छैन । यसरी नै अघि बढ्ने हो भने कर तिर्ने व्यवसायिमा निरासा पैदा हुन्छ । राजश्वमा समस्या आउँछ । त्यसैले स्थानीय सरकारले अवैध व्यवसाय नियन्त्रण गर्नुपर्छ भन्ने माग छ । ‘घरको काम छोडेर हिंड्या छौँ’ संघका सचिव नरेश श्रेष्ठले भन्नुभयो, ‘उद्योग वाणिज्य संघप्रति बजार सकारात्मक छ ।’

संघले अभिवावकीय दायित्व पुरा गरेको छ । व्यक्तिगत रुपमा कसैको पसलमा बसेर काम गर्ने होइन । नीतिगत रुपमा सहयोग गर्ने हो । संघले ब्याज विरोधी आन्दोलन गरेर व्यापारी र व्यवसायिको पक्षमा आवाज बुलन्द गरेको छ । शहिद उमेशमार्गका अग्नी पीडित फर्निचर व्यवसायिलाई संघले पाँच लाख २३ हजार पाँच सय ६३ रुपैयाँ सहयोग गरेको थियो । वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजकत्वमा मेनरोडका डुबानमा परेका व्यवसायिको क्षति संकलन गरि सम्बन्धित निकायमा बुझायो र त्यहाँ पनि राहत दियो ।

यसरी व्यवसायिको साथमा संघ रहेको आभास दिलाउन सफल रहेको सचिव श्रेष्ठको भनाई छ । कुनै पनि व्यवसायिको प्राकृतिक प्रकोपले क्षति हुने बित्तिकै व्यवसायिका ढोकामा संघ पुग्छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकी, महासचिव महेन्द्र बुढाथोकी लगायत सम्पूर्ण कार्यसमिति महत्वका साथ व्यवसायिक सचेतनामा सामेल हुने गरेका छन् । तर आगामी पदका आकांक्षीहरुले अलि बढि नै मेहनत गरेका छन् । उनीहरु विशेष अवस्था बाहेक बजारको सचेतना कार्यक्रम छुटाउँदैनन् । यसले चुनावी रौनक शुरु भएको संकेत गरेको छ । एक वर्षपछि हुने संघको चुनाव आकांक्षीहरुलाई अहिल्यै लागिसकेको छ ।