काठमाडौँ । राजधानी काठमाडौंको टोखा नगरपालिका वडानम्बर ७ धापासीमा अवस्थित तिलिङ्गटार नमुना माध्यमिक विद्यालयले आफ्नो ६१औं वार्षिकोत्सव धुमधामसँग मनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सो विद्यालय नेपालको एक देखाउन योग्य सामुदायिक विद्यालय भएको बताए ।
वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पौडेलले नेपालमा सामुदायिक विद्यालयहरुले राम्रो गर्न नसकेको गुनासोकाबिच तिलिङ्गटार मावि देशमा शिक्षाको गुणस्तर कायम राख्न सफल बन्न गणनायोग्य विद्यालय भएको बताए । उनले भने’ ‘सरकारले सामुदायिक विद्यालयहरुलाई बेवास्ता गरिरहँदा समेत सो विद्यालयले गरेको प्रगति प्रशंसनीय छ ।’
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य ज्ञानबहादुर लामाले तिलिङ्टार विद्यालयले शिक्षा क्षेत्रमा खेलको भूमिका प्रशंसनीय रहेको बताए । उक्त अवसरमा लामाले सो विद्यालयका लागि १ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरे ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जबसम्म शिक्षाको विकास हुँदैन तबसम्म देशको विकास नहुने भन्दै सामुदायिक विद्यालयको गुणस्तर बढाउन नगरपालिकाले आवश्यक र सक्दो योगदान गरेको बताए ।
नगरपालिका भरिका सामुदायिक विद्यालयहरुमा ‘मेयर दिवा खाजा कार्यक्रम’ लागु गरेर सम्पूर्ण विद्यार्थीलाई नगरपालिकाद्वारा निःशुल्क खाजा वितरण गरिएको उनले बताए । आफू नेतृत्वको टोखा नगरपालिकाले ‘मेयर दिवा खाजा कार्यक्रम’ लागु गरेको देखेर नेपाल सरकारले देशमा ‘राष्ट्रपति दिवा खाजा कार्यक्रम’ ल्याएको नगर प्रमुख अधिकारीले दावी गरे ।
कार्यक्रममा कृषि विकास बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले तिलिङ्टार विद्यालय केवल विद्यालय मात्रै नभई विश्वविद्यालय जस्तो लागेको बताए ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयका प्रधान अध्यापक सरोजकुमार पाण्डेले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा विद्यालय प्राङ्गगणमा विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको थियो भने विद्यार्थी तथा अभिभावकहरुले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम गरेर रमाएका थिए ।
विद्यालयको ६१औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा दुई कार्यकाल सामाजिक सेवाको रुपमा व्यवस्थापनको स्तरमा रहेर सेवा गरेका पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षक अभिभावक संघका अध्यक्ष भीम भारती लगायतलाई सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको सो समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरोत्तम राना मगरको अध्यक्षतामा भएको थियो ।