• मंसिर २० २०८१, बिहीबार

सक्षमतालाई आधार बनाऊ

पुष १९ २०७९, मंगलवार

प्रतिनिधिसभाको आवधिक निर्वाचनमार्फत् प्राप्त जनादेश मिलिजुली सरकारको हुन आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ ।

नयाँ सरकारले विश्वासको मत लिने गरी संसद अधिवेशन पनि आह्वान भइसकेपछि संसदले आफ्ना गतिविधि अघि बढाउने देखिएको छ । पहिलो त सरकारले लिने विश्वासको मत हो ।

दोस्रो कुरा, सभामुख र उपसभामुख चयनको विषय पनि रहेको छ । वर्तमान सत्ता गठबन्धनबाट योग्य व्यक्ति यसका लागि उपयुक्त हुने छन् । जनताको आशा छ, यस्ता जिम्मेवार पदहरू भागबण्डाका आधारमा गरिने छैनन् ।

त्यसपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको चर्चा पनि चुलिएर आएको छ । यी ओहदा राष्ट्र र राष्ट्रिय गरिमासँग जोडिएर आउनु पर्छ, हल्का खेल, भागबण्डा र मजाकका रूपमा होइन ।

संसदले निर्वाह गर्नुपर्ने यी कार्यभार देश र जनता साक्षी राखेर गर्नुपर्छ । किनकि यिनै ओहदाले वर्तमान राजनीतिक प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउँदै लैजाने हुन् ।

तर प्रचारमा भागबण्डाको गन्ध नमिठो गरी आउन थालेपछि जनतामा पलाएको आशा र हौसला सेलाउँदै जान थालेको छ । यसले अन्ततः सबै कुरा र जिम्मेवारी निस्सार र विश्वासरहित बनाउँदै लानसक्छ ।

नेपाली काँग्रेस सबैभन्दा ठूलो दल भएपछि फेरि पनि ज्योतिषिलाई हेराइ देखाइ गरी देउवा नै प्रधानमन्त्री हुने छनक देखिएपछि जनतामा छाएको निराशाको वातावरण यो गठबन्धनले सदुपयोग गरेको छ ।

यसले पनि काम गर्दा ढंग नपुर्‍याउने, भागबण्डामा जे पनि टुंग्याउने गर्न थालेमा देशमा अर्को समीकरण नबन्ला भन्न सकिन्न । यसलाई वर्तमान सत्ताधारी गठबन्धनले गम्भीरताका साथ लिनुपर्छ ।

देशको नेतृत्व भागबण्डाले गर्न सक्दैन । क्षमता र हैसियतले गर्न सक्छ । त्यस्ता फिगरहरूको खोजी जरूरी छ । यसका लागि हैसियत र ल्याकत जरूरी छ । च्याखे थापने र बार्गेनिङ गर्ने प्रवृत्ति निरूत्साहित गरिनु पर्छ ।

यदि यी कुराहरूमा ध्यान दिइएन भने हरेक प्रयत्न पानीको फोकामा परिणत हुन बेर लाग्ने देखिदैन ।