काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी जनतालाई भ्लादिमिर पुटिनले उनीहरुको मुलुक ध्वस्त पारिरहेको बताएका छन् ।
पुटिनले सैनिक पोशाक लगाएका मानिसहरुको समूहलाई नयाँ वर्षको उपलक्ष्यमा सम्बोधन गरेपछि जेलेन्स्कीले रूसी फौजको नेतृत्व पुटिनले नगरेको बरु उनी ती फौजको पछाडि लुकिरहेको बताएका हुन् । शनिबार दिनभर रूसी फौजले युक्रेनभर नै भयानक आक्रमण जारी राखेको थियो ।
जेलेन्स्कीले उक्त कदमका लागि युक्रेनी जनताले रूसलाई क्षमा नदिने बताएका बीबीसीले लेखेको छ । शनिबारको आक्रमणमा कम्तिमा एक व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जनौँ घाइते भएका समाचारमा जनाइएको छ । आइतबार नयाँ वर्ष सुरु हुनु केही घण्टाअघिसम्म पनि राजधानी किभमा क्षेप्यास्त्र प्रहार जारी रहेको अधिकारीहरुले बताएका छन् । त्यहाँको हताहतीको तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।
रूसी फौजको निरन्तर हवाई आक्रमणबाट दिक्क भइसकेका युक्रेनी जनतामा सन् २०२३ सुरु हुन लाग्दासमेत आक्रमण भएकोमा थप आक्रोस र घृणा चुलिएको छ । किभमा धमाधम विस्फोटका आवाज सुनिँदा केही युक्रेनीले राष्ट्रिय गीत गाएका थिए ।
सरकारी अधिकारीहरुले भने रूसी फौजले नयाँ वर्ष मनाउन जम्मा भएका सर्वसाधारण माथि जानाजान आक्रमण गरेको आरोप लगाएका छन् । त्यसैगरी युक्रेनको सशस्त्र फौजका प्रमुख भ्यालेरी जालुझनीले वायु सेनाले शनिबार रूसका २० मध्ये १२ वटा क्रुज क्षेप्यास्त्र खसाल्न सफल भएको बताएका छन् ।