• मंसिर ११ २०८१, मंगलवार

साताव्यापी रुपमा सञ्चालित दशौं राष्ट्रिय पोल्ट्री दिवस समापन

पुष १७ २०७९, आईतवार

काठमाडौं । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता : खाद्य र पोषण सुधार हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित एकसाता अघि सुरु भएको दशौं राष्ट्रिय पोल्ट्री दिवस, २०७९ आज समापन भएको छ ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरको सभाहलमा दिवसको समापन गरिएको हो । पुष ११ गतेदेखि सुरु भएको सो दिवस अन्तरगत विभिन्न कार्यक्रमहरु गरिएका छन् ।

विभिन्न इट्टभट्टामा काम गर्ने श्रकिमहरुलाई कुखुराको अण्डा र मासुको परिकार खुवाउने र कुखुराको मासु तथा अण्डाको महत्वको बारेमा जानकारी दिने, पोल्ट्री व्यवसायीहरुसित विभिन्न सचेतनामूलक प्रशिक्षण चलाउने तथा विभिन्न सञ्चारमाध्यमबाट कुखुराको मासु तथा अण्डाको महत्वको बारेमा जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रशारण गराउने, लेखहरु लेखेर प्रकाशन गर्ने गरिएको छ ।

सोही दिवसको आज एक समारोहकाबीच समापन गरिएको हो । सो अवसरमा बोल्दै पशु सेवा विभाग हरिहर भवनकी महानिर्देशक सम्झाना काफ्लेले देशको राष्ट्रिय उत्पादनमा कुखुरा व्यवसायले राम्रो आर्थिक प्रगति गरेको भन्दै राज्यले किसानका गुनासा र परिमर्का बुझ्नपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो विभागले राज्य र किसानको बीचको पुलको काम गर्ने बताउनु भयो ।

केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाका प्रमुख शर्मिला चापागाइँले विभिन्न रोगहरुका कारणले कुखुरापालन व्यवसाय संकटमा छ तर पनि किसानहरु उत्साहित भएर काममा लाग्नु पर्ने र राज्यले पनि किसानलाई विभिन्न किसिमका सहयोगहरु उपलब्ध गराउनुपर्ने बताउनु भयो । सो अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामप्रकाश श्रेष्ठले साताव्यापीरुपमा मनाइएको पोल्ट्री दिवसको समिक्षा सहित यसका उपलब्धिहरु बारे प्रकाश पार्नुभयो ।

सोही अवसरमा सो कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ पशु विज्ञ बासुदेव नाथले सहभागीहरुलाई स्वागत गर्दै ०१७ साल पुष १७ देखि यो दिवस मनाउन थालिएको जानकारी दिँदै कुखुरापालन व्यवसायबाट आर्थिक उत्पादनका लागि सबैले जोड दिनुपर्ने बताउनु भयो । उहाँले बर्ड फ्लुले सताएको यो क्षेत्र विस्तारै उठ्न लागेको बताउनु भयो ।

सो अवसरमा यो दिवस मनाउने दौरानमा मिडियाको तर्फबाट विशिष्ट योगदान पुर्याउने पत्रकारहरु बासुदेव तिमल्सिना र गोमा पाण्डेलाई पुरस्कृत गरियो । कार्यक्रमको सञ्चालन कृष्णबहादुर कार्कीले गर्नुभएको थियो ।