• फाल्गुन २७ २०८२, बुधबार

पूर्वराष्ट्रपति इयानविरुद्ध पक्राउ पुर्जी जारी, यस्ता छन् उनलाई लागेका आरोप

पुष १५ २०७९, शुक्रबार

काठमाडौं । बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनलाई अवैध हातहतियार राखेको आरोप लगाइएको छ । न्यायाधीशले खामालाई जहाँ भेटे पनि देख्नासाथ गिरफतार गर्न आदेश दिएका बीबीसीले लेखेको छ ।

गत वर्ष मुलुक छाडेका ६९ वर्षीय खामा छिमेकी मुलुक दक्षिण अफ्रिकामा बस्दै आएका छन् । उनले आरोप अस्वीकार गरेका छन् र उनले आफ्नो उत्तराधिकारी राष्ट्रपति कोक्गवेत्सी मासिसीबाट पराजित भएपछि आफूविरुद्ध भएको राजनीतिक षडयन्त्रको एक हिस्साको रुपमा यो आरोप पनि रहेको बताएका छन् ।

दुईपटक पाँच वर्षीय कार्यकाल सकाएर खामाले सन् २०१८ मा सत्ता छाडेका थिए । उनले अहिले सम्पत्ति शुद्धीकरण र चोरिएका सम्पत्तिको प्रयोग गरेको लगायत १४ वटा अभियोगको सामना गरिरहेका छन् । अहिले उनलाई पक्राउ पुर्जी भने पाँचवटा हतियार अवैधरुपमा साथमा राखेको अभियोगमा जारी गरिएको हो ।

उनीसँगै गुप्तचर निकाय तथा प्रहरी सेवाका पूर्वप्रमुखहरुलाई पनि अभियोग दर्ता गराइएको छ । यसै वर्षको सुरुमा एउटा मुद्दाको सिलसिलामा अदालतमा उपस्थित हुन नसकेपछि खामाविरुद्ध पक्राउ पुर्जीको नयाँ कारबाही प्रकरण बाहिरिएको हो । उनी बोत्स्वानाका पहिलो राष्ट्रपति सेरेत्से खामाका पुत्र हुन् ।