एजेन्सी । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले गरेको हर्कतका बारेमा प्रतिक्रिया दिएका छन् ।
बुधबार फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध खेलपछि बोल्दै एमबाप्पेले मार्टिनेजको खुसियाली मनाउने शैलीबारे आफ्नो प्रतिक्रिया दिए । उनले भने, ‘कसले कस्तो खुसियाली मनायो मलाई मतलब हुँदैन । म यस्तो कुरामा ध्यान दिन पनि चाहन्न ।’
एमबाप्पेले खेलपछि मेस्सीलाई भने बधाई दिएको बताए । ‘मैले मेस्सीलाई बधाई दिएँ । यो उपाधि उनको लागि निकै महत्त्वपूर्ण थियो । मेरो लागि पनि उत्तिकै महत्त्व बोकेको थियो, तर हामी पराजित भयौं । जितेको टोलीलाई बधाई दिनु परिपक्व खेलाडीको पहिचान हो ।’
फिफा विश्वकप कतार २०२२ उपाधि जितेको खुसियालीमा अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले एम्बाप्पेलाई बच्चो बनाएर प्रदर्शन गरेर हिडेका थिए । तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्यालीमा खुसी मनाउनु स्वभाविक थियो । तर, अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफूलाई फाइनलमा पेनाल्टीसहित ४ गोल गरेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेलाई लगातार व्यंग्य गरेका थिए ।
एम्बापपेको फाइनलअघि दक्षिण अमेरिकी फुटबल कमजोर छ भन्ने प्रतिक्रियामा मार्टिनेज खुसी थिएनन् । त्यसैले फाइनलपछि दक्षिण अमेरिकामा लगातार एमबाप्पेको आलोचना भएको थियो । एमबाप्पेलाई लक्षित गर्दै खेलपछि ड्रेसिङ रुममा मार्टिनेजले नारा लगाएको भिडियो पनि सामाजिक संजालमा देखियो ।