घोराही, ११ पुस । अभिभावकको उपस्थिति न्यून देखेपछि पत्रकार चन्द्रप्रकाश नेपालीले दर्शकदिर्घाको कुर्सी गन्न थाल्नुभयो । उहाँले मोटामोटी हिसाव एक सयदेखि डेढ सयसम्म निकाल्नुभयो । बालविकास माध्यामिक विद्यालयको विद्यार्थी संख्या भने एक हजार आठ सय ३८ छ भने एक हजार भन्दा बढि अभिभावकको संख्या रहेको विद्यालय प्रशासन बताउँछ ।
केही अभिभावक पिपल बुटामुनीको चौतारीमा घाम तापिरहेका थिए । त्यस विद्यालय स्थापना भएको ६२ वर्षपछि र विद्यालयको इतिहासमै पहिलो सार्वजनिक सुनुवाई हुँदै थियो । त्यसरी अलग्गै बसेका अभिभावकलाई त्यसको महत्व सम्भवत थाहा थिएन । सोल्जर बोर्डले २०१७ सालमा भारतीय सैनिकका बालबालिका पढाउन विद्यालय स्थापना गर्यो । त्यसलाई २०२३ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरियो ।
अहिले पहिलो पटक शक्तिराम डाँगी नेतृत्वको समितिले सार्वजनिक सुनुवाई गरेको हो । मञ्चको अगाडि बायाँतिर शिक्षक थिए । त्यसको तिन गुणा जति बढि अभिभावक बसेका देखिन्थे । झण्डै आठ पृष्ठ लामो विद्यालयको प्रतिवेदन पढेर सुनाएपछि फ्लोर ओपन गरियो । उपस्थित अतिथि र अभिभावकले यसै बखत कुरा राख्नुस् भनियो । औपचारिक मन्तव्यको कार्यक्रम राखिएको छैन भनियो । अनि सबैतिर सुनसान भयो ।
अभिभावक दिर्घामा बसेकाको अनुहार पढ्दा कसैकोमा पनि जिज्ञासा र कौतुहलता देखिन्नथ्यो । न कोही खुशी भएर धन्यवाद व्यक्त गर्ने मुडमा थिए, न त गुनासा सुनाएर पीडा बिसाउने अक्कर परेका जस्ता लाग्थे । कुनै पनि प्रतिकृया नदिएर बसिरहे । केही समयपछि अतिथि दिर्घाबाटै अभिभावक यज्ञबहादुर भण्डारीले मौनता तोड्नुभयो । ‘विभिन्न नाममा शुल्क असुलेको देखियो कहिलेसम्म हो ?’ उहाँले भन्नुभयो ‘मासिक शुल्क, परिक्षा शुल्क, नयाँ कक्षामा भर्ना हुँदा शुल्क, कि निशुल्क नभन्नुस् कि फी नलिनुस् ।’
यो सुनेर अभिभावकले तरर्र ताली बजाए र बल्ल जागेको संकेत गरे । ‘कक्षा १० का ७१ जनामा आज हाजिर गर्दा उपस्थित ३४ जना र अनुपस्थित ३७ जना विद्यार्थी रहेछन्’ शिक्षक झग्गुप्रसाद पौडेलले भन्नुभयो ‘हामीले कसरी तपाईंका बच्चालाई गुणस्तरीय शिक्षा दिने ?’ उहाँले भनेजस्तै विद्यार्थी संख्याको आधारमा अभिभावकको पनि न्यून उपस्थिति रहेका थियो । उहाँले अभिभावकतर्फ इंगित गर्दै बेला बेला आइदिनुस्, बच्चाका बारेमा बुझिदिनुस् भन्नुभयो । चुप्प लागे ।
लगानी गरेपछि माया हुन्छ भनेको सत्य सावित गर्दै प्रमुख अतिथि करीब ३४ वर्ष बिताएका पूर्वप्रधानाध्यापक हिमप्रसाद श्रेष्ठ मन्तव्य राखिसक्दा आँखाभरी आँशु डल्बलाउनु भयो । अन्तिम वाक्य घाँटीमै अड्कियो । ‘मैले यो स्कूललाई सहयोग गर्न खोजिराख्या छु’ उहाँले भन्नुभयो ‘पछिसम्म याद हुने किसिमले अक्षयकोष राख्न खोज्या छु ।’ उहाँका अनुसार त्यसबेला फुसको छानो भएको दुई कोठे कच्ची इटाको घर थियो ।
विद्यार्थीहरु घरबाट बोरा ल्याएर बस्ने पढ्ने चलन थियो । अहिले जस्ता डेष्क बेञ्च थिएनन् । न त विद्यालयको खेलमैदान टायल बिच्छाएको सुन्दर थियो । त्यसपछि बल्ल अभिवावक शुसिला सुनार बोल्न आँट गर्नुभयो । ‘बिहान १० देखि साँझ सम्म विद्यार्थी बस्छन् । अभिभावक पनि आइरहन्छन्’ उहाँले भन्नुभयो, ‘टवाईलेटमा पानी छैन साबुन छैन सरसफाइ छैन । व्यवस्था गर्नुहोला अरु केही छैन ।’
यस्तै गुनासा हरेक दिन एकजना अभिभावकले गर्ने हो भने विद्यालय साँच्चै सुध्रिन्छन् । तर कार्यक्रम छ भन्दा पनि उपस्थित नहुने भइ हाले पनि आवाज ननिकाल्ने समस्या छ । उहाँ पछि अर्का अभिभावक मनिराम वलीले पनि हात उठाएर बोल्ने अनुमति लिनुभयो । ‘पढाईसँगै विद्यार्थीको रुची चाहना के छ कसैको खेल होला, संगीत होला अरु केही होला’, उहाँले थप्नुभयो, ‘प्रथम पढाई हो ।
त्यसपछि विद्यार्थीको चाहनामा पनि ध्यान दिनुपर्छ ।’ यसरी बोल्दा वडाअध्यक्ष भानसिंह बुढा, घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका नारायण पौडेल पनि बाहिरी सक्नुभएको थियो । यहि कुरा फ्लोर ओपनमै सुनाइदिएको भए कानमा सिधै पर्ने थियो । सहजकर्ता पत्रकार देवेन्द्र बस्नेतले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार कक्षा नर्सरीमा भर्ना हुन एक हजार आठ सय रुपैयाँ लाग्छ । भने मासिक सहयोग चार सय २० प्रत्यक विद्यार्थीले बुझाउनु पर्छ ।
माथिल्लो कक्षामा भर्ना सहयोग दुई हजार नौ सय र मासिक सहयोग भनेर नौ सय ५० लिने गरेको देखिन्छ । यसरी संकलन गरेको सहयोग बाट ६७ लाख बढि रकम शिक्षकहरुको तलव भत्तामा खर्च हुन्छ । यति धेरै लगानी गर्ने अभिवावक भने नाफा घाटा बुझ्न जाने गरेको देखिँदैन । आफूले बुझाएको सहयोग रकमबाट शिक्षकले गरेका काम पनि बुझ्दैनन् ।
अभिवावकले मोबाइलले आमाबावुले छोरा छोरी र छोरा छोरीले आमाबबु बिर्सिने गराएको छ । दैनिक दुई घण्टा मात्रै भएपनि मोबाइल लुकाइदिनुस्’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीले भन्नुभयो, ‘शिक्षकहरु यो गेटभित्र पस्दा घरका काम बिर्सिनुस् । सुख दुःख सबै बाहिर राखेर आउनुस जानेबेला लैजानुहोला । यो देशो बागडोर सम्हाल्ने दक्ष कर्मठ सक्षम योग्य नैतिकवान शिक्षा हासिल गराउन जाँदैछु भन्ने सम्झिनुस् ।’
उहाँले कोरोना लगायत बहानाबाजी गर्ने ठाउँ नभएको बताउनु भयो । नतिजा गतिलो ल्याएर आफनो कर्तव्य पालना र जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । सार्वजनिक सुनुवाईमा आएका सबैजसो अभिभावक एक शब्द पनि नबोलेर फर्किए ।