• मंसिर ११ २०८१, मंगलवार

छुवाछूतको पीडामा आउजी समुदाय

पुष ११ २०७९, सोमबार

बझाङको मष्टा गाउँपालिका अन्तर्गत पर्ने एक सघन ग्रामीण बस्ती जिन्नाडाका दलित समुदाय अहिले पनि फोहोर पानी पिएर जीवन जिइरहेका भन्ने सुन्दा जो कसैको पनि कान ठाडा हुन्छन् । यसले स्वभाविकै रूपमा कौतुहलता जन्माउँछ कि के कारणले त्यसो भइरहेको होला !

तर जिन्नाडाका आउजी समुदायले फोहर पानी पिउनु जातिय विभेदका कारणले मात्र हो, पानी आफैमा फोहर भएर होइन । दलित जाति भएकैले त्यहाँ मानवले मानवमाथि गर्ने विभेदजन्य सामाजिक मनोविज्ञान आजसम्म जब्बर भएर रहेको हो ।

आजको २१ औं शताब्दीको युग, विज्ञान र प्रविधिको युग र त्यसमा पनि हामी २१ औं शताब्दीको आधुनिक मानिस ! तर जिन्नाडाजस्ता नेपालका हजारौैं गाउँबस्तीमा रहेका बस्तीहरूमा छुवाछुत जारी छ । जिन्नाडाका आउजीलाई स्वच्छ खानेपानीको चिन्ताले सताइरन्छ ।

जिन्नाडाका दलित समुदायको बस्तीमा स्वच्छ खानेपानीको परिकल्पना गर्दा त्यहाँ बाटोघाटो, शौचालय, विद्यालय तथा बिजुली बत्तीको समस्या झन् कस्तो होला ? गैरदलित समुदायका लागि एउटा मात्र धारा छ, जुन धारा आउजी समुदायले छुन समेत पाउँदैनन् ।

जिन्नाडा गाउँमा खाने पानीको आयोजना पनि पर्‍यो। तर त्यहाँबाट ल्याइएको पानीको उचित वितरण गरिएन । मात्र एउटा धारा बनाइयो । यो धारामा उच्च जातिको हकभोग रहँदै आयो । यसले गर्दा उक्त धाराबाट निस्केको पानी गैर दलितले प्रयोग गरेपछि बगेको फोहर पानी आउजी समुदायले प्रयोग गर्नुपर्ने बाध्यता बन्दै आयो ।

यसमा थप आश्चर्य त के पनि छ भने पानी डाँडाबाघको मूलबाट ल्याइएको छ । डाँडाबाघ यहाँका नामी देउता भएकाले दलितले यसलाई छुन बन्देज लगाइएको छ । आउजी समुदाय यहाँबाट आएको धारासम्म पुग्ने हिम्मत गर्दैनन् । उनीहरू पनि अन्धविश्वासमा रूमलिएका छन् ।

डाँडाबाघबाट ल्याइएको धाराको पानी छुने हो भने आउजी परिवारमा अनिष्ठ हुने, परिवार सक्किने, पशुचौपाया मर्ने, घरमा नराम्रो हुने भन्ने रुढीवादी सोच उनीहरूमा व्याप्त छ । यसले जनचेतनाको कमी रहेको कुरालाई उजागर गर्दछ ।

यही कमी र कमजोरी आउजी समुदायका लागि फोहर पानी पिउने सहायक कारक बनेको छ । तर मुख्य कारक भनेको सरकार हो । त्यहाँ बीसौं वर्षदेखि यो समस्या ज्युँ का त्युँ रहेको छ, सरकारले यसको सुनुवाइ गरेको छैन ।

देउताको धारो छोए उठिबास लागिहाल्ने सोच पालेर बसेका आउजी समुदायका लागि फोहोर पानी पिउनु नै बेस ! रुढीवादी आडम्बरमा आउजी समुदायले पाएको दुःख नेपाली समाजका लागि एक लज्जाको विषय हो ।

तर यहाँ न जनचेतना फैलाउँदै हिँडेका संघसंस्था पुग्न र यो दशा हेर्न समय पाएका छन् न त गाउँगाउँमा पुगेका सिंहदरवार जिन्नाडा जस्ता दलित वस्तीमा पाउ टेक्न पुगेका छन् । पुगे पनि आखिर त्यो सानो सिंहदरवार नै हो । उसले पनि त्यस्ता बस्तीको अनुहार देख्न नसक्ने ठूलो सिंहदरवारको विरासत बोकेर पुगेको हो ।

होइन भने गास, बास, कपास र शिक्षा तथा स्वास्थ्यजस्ता विषयमा स्थानीय सरकारले दिनु पर्ने ध्यान त्यहाँ पुग्नै सकेको छैन । स्थानीय सरकार पनि ठूला ठेक्का प्रणाली मार्फत् खाने पानी ती ग्रामीण वस्तीहरूमा आपूर्ति गर्न तल्लिन होलान्, ढिलो भएको होला । त्यो पनि आँकलन गर्न सकिन्छ, तर एउटा धारबाट भए पनि आउजी समुदायलाई समान रूपमा खाने पानी उपलब्ध गराउने व्यवस्था गर !