संसद बनिसकेपछि सरकार निर्माणको बाटो खुला भएको छ । सार्वभौम व्यवस्थापिका नै सरकार निर्माणको आधार भएकाले अबका केही दिन सरकार निर्माणका गृहकार्यका दिन रहने छन् ।
यी दिनहरू निकै पेचिला र सापेक्ष संश्लेषणात्मक पनि हुने छन् । संसदको निर्वाचन भएको पनि केही लामो समय भइसकेको छ । अनावश्यक समय व्यतित गर्दा पनि जनविश्वासमा कमी आउँछ ।
सरकार नै निर्माण गर्न नसक्ने संसदले के गर्ला भन्ने पनि हुन्छ । जनता आफ्नो जनादेशको निकै नजिकबाट हेक्का राख्ने आधारभूत मतादेशकर्ता पनि हो ।
सबैलाई थाह छ, जनादेश कसैको पनि पोल्टामा परेन । बरू मिलेर सरकार चलाऊ भन्ने आयो । मिल्न सक्ने र नसक्ने राजनीतिक दलहरूको जिम्मामा छ । तर सरकार निर्माणको जिम्मेवारी भने संसदमा छ ।
राजनीतिक पार्टीहरूका स्वार्थ आआफ्ना छन् । उनीहरूले ती स्वार्थ पूर्तिका लागि अत्तो थाप्ने काम गर्न सक्छन् । तर जनताको जनादेश अनुकूल हिँड्नै पर्ने बाध्यतालाई शिरोधार्य गर्न भने इन्कार गर्न सक्दैनन् ।
देश लामो संघर्षको भूमरीबाट गुज्रदै आइरहेको छ । आन्तरिक स्थिरताको अनुभूत कमै गरेको छ । तर अहिले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको आआफ्ना स्वार्थका कारण बाह्य संकटको भूमरीमा नजानिदो गरी धकेलिन थालेको छ ।
यसले नेपालमा राजनीतिक संक्रमण सकिइसकेको देखाउँदैन । बरू लम्बिदै गएकोे देखाइरहेको छ । देशको शान्ति, स्थिरता र प्रगतिका लागि यो राम्रो संकेत होइन ।
राजनीतिक पाार्टीहरू देश, काल र परिस्थितिअनुरूप चल्न सक्नुपर्छ । त्यो उचाइको सोच बोक्न सक्नुपर्छ । सफलतापूर्वक कार्यान्वयनमा लैजान सक्नु पर्छ ।
‘भाइ फुटे, गवार लुटे’ को अवस्था सिर्जना गर्नु हुँदैन । यसका लागि आपसी तिक्तता, इगो, पूर्वाग्रह र बदलाको भाव त्याग्नसकनु पर्छ, शीर्ष नेताहरूले !
देशलाई थप अस्थिरता र निरन्तर संक्रमणको बाटोमा धकेल्न कसैलाई पनि छूट छैन र हुँदैन पनि ।