• मंसिर २० २०८१, बिहीबार

जुम्लामा अभिव्यक्त सांस्कृतिक परिवर्तनको चाहना

पुष ६ २०७९, बुधबार

जुम्लामा सांस्कृतिक परिवर्तनको चाहना प्रकट भएको छ, त्यो पनि जिल्लाव्यापी अभियानात्मक स्वरूप बोकेर । हालसम्म समाजमा विद्यमान छाउप्रथा, बाल विवाह, लैंगिक विभेद लगायतका सामाजिक कुरीति अन्त्यका लागि युवा शक्ति एकजुट भएर लागि परिरहेको छ ।

उनीहसदिदऔं देखि विद्यमान बाल विवाह र छाउ प्रथा उनीहरूको निशानामा परेको छ । साथै लैंगिक विभेदका कुरा पनि उनीहरूले साथमा लिएर गइरहेका छन् ।

त्यहाँ अहिले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पनि कुरा भरपूर मात्रामा उठाउन थालिएको छ । अशिक्षा र वेरोजगार अन्त्यका कुरा पनि साथमा जोडिएर आएका छन् ।

यसका लागि राजनीतिक पार्टीहरूले चासो नदिए पनि सामाजिक संघसंस्था भने खुलेर नेतृत्व गरिरहेका देखिएका छन् । प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य नेपालले यसको जिम्मा लिएको देखिन्छ ।

यो अभियान समाजमा रहेका सांस्कृतिक सोच, विचार र गतिविधिमा समयानुकूल परिवर्तन ल्याउने देखिएको छ । यसमा स्थानीय जनताको आकर्षण बढ्न गएको छ ।

गाउँगाउँबाट सैयौंको संख्यामा किशोरकिशोरी यो अभियानमा समेटिएका छन् । त्यसैले पनि यो अभियान जनअनुमोदित हुँदै गएको छ ।

बाल विवाह अन्त्य र छाउ प्रथा अन्त्यमा यसको जोड रहेको छ । तर पनि स्थानीय सरकार स्थापना गरी सञ्चालन गरिरहेका राजनीतिक दलहरू यसमा चासो व्यक्त गरिरहेका छैनन् । संघसंस्थाले यस्ता लोकप्रिय कार्यक्रम लगिदिँदा राजनीतिक दलहरूको साखमा गिरावट आउँछ भन्ने प्रतिद्वन्द्वितापूर्ण सोच उनीहरूमा व्याप्त छ ।

पार्टी प्रतिबद्धता पत्र र निर्वाचन घोषणा पत्रमा यी विषयका बारेमा दर्जनौ पाना भरेर उद्घोष गर्दै हिँडेका राजनीतिक दलहरूका लागि यी विषय पुराना र खल्लो लाग्छन् होला ।

तर समाज यिनै कुरीति र समस्याले ग्रस्त छ । यस्ता समस्या समाजमा जस्ताको तस्तै छ । तर जनता भने आर्थिक सामाजिक रूपान्तरणका अभियानका पर्खाइमा छन् । यो पखाइमा साथ पाएपछि सामाजिक संघ संस्थासँगै जुम्ली जनता कुरीति हटाउन अभियानमा लागि परेका छन् ।

मंसिर महिनामा लैंगिक हिंसाविरूद्ध स्थानीय राज्यले केही औपचारिक कार्यक्रम लगे त्यसले अभियानको रूप लिन सकेन । सरकारी कार्यालयमा सिमित रहन गयो ।

गाउँबस्तीमा जान सकेन । तर अहिलेको युवा अभियान गाउँगाउँमा पुगेको छ, त्यो पनि निकै उत्साहका साथ जनसहभागितासहित ।
नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित सञ्चालित यो अभियानले जिल्लामा सांस्कृतिक परिवर्तनको चाहनालाई केही पूरा गर्ने देखिन्छ ।