नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् ।
कोदोको परिकार खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री नरेन्द्र तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकर लगायत उपस्थित थिए ।
‘हामीले कोदोबाट बनेको मिठाई लगायतका स्वादिष्ट परिकारहरू तयार गर्यौं,जसका लागि कर्नाटकबाट विशेष रूपमा शेफहरू ल्याइएका थिए । प्रधानमन्त्रीले यहाँ खानाको आनन्द लिनु भएकोमा म खुसी छु,‘कृषि राज्यमन्त्री शोभा करन्दलाजेले एएनआईलाई बताइन् ।
आज तयार पारिएका परिकारमा कोदोबाट बनेको खिचडी, रागी दोसा, रागी रोटी, ज्वार रोटी, हल्दी सब्जी, बाजरा, चुर्मा लगायत थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तरराष्ट्रिय कोदो वर्षकोरूपमा मनाउने घोषणा गरेको ।
भारत सरकारले सन् २०१८ को अप्रिलमा कोदोलाई पौष्टिक अनाजको रूपमा सूचिकृत गरेको थियो त्यसपछि यसलाई पोशण मिशन अभियानमा समावेश गरिएको छ । राष्ट्रिय खाद्य सुरक्षा मिशन अन्तर्गत १४ राज्यका २१२ जिल्लाहरूमा कोदोको लागि एक पौष्टिक अनाज कार्यक्रम लागू गरिएको छ ।
एसिया र अफ्रिकामा कोदोको बढी उत्पाउन हुने गर्दछ । भारत कोदोको प्रमुख उत्पादन गर्ने देश हो जसमा कांगनी, कुटकी वा सानो कोदो, कोडोन, गंगोरा वा बार्नयार्ड, चाइना र ब्राउन टप ज्वार, बाजरा, रागी र साना कोदो लगायत विभिन्न प्रजातिहरू छन् । भारतका धेरैजसो राज्यहरूले एक वा बढी कोदो बालीका प्रजातिहरू उब्जाउँछन् ।