काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विश्वकपमा युवा स्टार खेलाडि किलियन एमबाप्पेको असाधारण प्रदर्शनको प्रशंसा गरेका छन् । राष्ट्रपति म्याक्रोनले एमबाप्पेले देशको गौरव बढाएकोमा खुसी व्यक्त गरे ।
‘एमबाप्पेको असाधारण प्रर्दशनले फ्रान्सको गौरव बढाएको छ । हामी लगभग हारको स्थितीमा थियौं तर एमबाप्पेले खेलमा फर्काए’ म्याक्रोनले भने‘यस्तो प्रदर्शन फुटबलमा कमै देख्न पाइन्छ ।’
आइतबार सम्पन्न कतार विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमामा ४–२ ले पराजित हुँदा फ्रान्सको उपाधि रक्षा गर्ने सपना पूरा हुन सकेन ।
निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । टोलीलाई उपाधि दिलाउन नसके पनि फाइनलमा ह्याट्रिक गरेका एमबाप्पे विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका थिए ।
यसअघि जेफ हस्र्टले सन् १९६६ को विश्वकपको फाइनलमा पश्चिम जर्मनी ( हाल जर्मनी) विरुद्ध ह्याट्रिक गरेका थिए ।
एमबाप्पेले ८० औं,८१ औं र एक सय १८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन । जसमा पहिलो र तेस्रो गोल पेनाल्टीमार्फत थियो ।