• मंसिर १२ २०८१, बुधबार

मेसीले राष्ट्रिय टिमबाट सन्यास नलिने

पुष ४ २०७९, सोमबार

काठमाडौं । विश्वकप २०२२ विजेता अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले आफूले राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन्। च्याम्पियनका रुपमा देशबाट खेल्न चाहेको पनि उनले उल्लेख गरेका छन्।

आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअरमै सबैभन्दा प्रतिष्ठित पुरस्कार हासिल गरेका मेसीले अर्जेन्टिनाको खेल सम्बन्धी च्यानल टिवाइसी स्पोर्ट्ससँग भने, ‘म राष्ट्रिय टोलीबाट सन्यास लिइरहेको छैन। च्याम्पियनको रूपमा राष्ट्रिय टिमबाट खेल जारी राख्न चाहन्छु।’

आफूलाई फुटबल मन पर्ने बताउँदै उनले प्रतिप्रश्न गरे, ‘मलाई फुटबल मन पर्छ, म के गरुँ?,’ आफू राष्ट्रिय टोलीमा रहँदा रमाइलो महसुस गर्ने उनले बताए। ‘र, विश्व च्याम्पियनको रूपमा केही थप खेलहरू अनुभव गर्न चाहन्छु,’ उनले थपे।