• मंसिर ११ २०८१, मंगलवार

रामसरीको लोभलाग्दो स्वरोजगार

पुष ३ २०७९, आईतवार

झट्ट हेर्दा २७/२८ वर्षकी देखिने रामसरी पुन (थापा) आफ्नै गाउँमा स्वरोजगार गरेर रमाइरहेकी छिन् । उनी बिहान सिर्सिरे हावासँगै बयली खेल्दै बाँसको घारीमा पुग्छिन् ।

उनलाई राम्रैसँग थाह छ, कति उमेरको बाँस चोया कलाउनका लागि योग्य हुन्छ । उनको छनौट अचूक जस्तै छ । उनले डोको बुन्नका लागि छनौट गरेको बाँस कुनै पनि खेर जाँदैन ।

‘एउटा घनो बाँसको २०० रूपैयाँ पर्छ’, पुनको आफ्नै खाले अनुभूति छ । गाउँमा बाँस किन्न पाइन्छ, साह्रै परपर जानु पर्दैन । त्यसो त रोल्पा जिल्लाको दक्षिणमा पर्ने खुंग्रीस्थित हरिगाउँ बाँस पाइने गाउँ हो ।

बिहानै चोया कलाउने, दिनमा डोको बुन्ने र साझमा घरडेराको काम गर्ने उनको दिनचर्या बनेको छ । सधैं व्यस्त रहने उनी मूल सडक किनारामा बसेर डोको बुन्दै नजिकै रहेको विद्यालयको गतिविधि नियाल्छिन् ।

सडकमा हिँड्ने जोकोही पनि उनको हातको कला र आँतको सिप देखेर प्रशंसा नगरिरहन सक्दैन । गाउँघरमा लोग्ने मानिसहरूले यो सिप बिर्सिइ सकेका बेला रामसरीले यसको संरक्षण र सम्वर्द्धन गरिरहेकी छिन् ।

सिपको संरक्षण त भइरहेको छ नै, उनको स्वरोजगारीको  दुकान पनि खुलेको छ । उद्योगको रूप लिन सक्ला वा नसक्ला यो उनको सोच र लगनमा भर पर्ला ! तर दुकान भने उनको स्वउत्पादनको छ ।

सुरूमा पत्याउन नसकिने भए पनि उनको नजिकै बसेका जोसुकै आगन्तुकले पनि क्षणभरमा उनको कला र सिपको अघाउन्जेल प्रशंसा गर्छन् । उनले लोभ लाग्ने भाषामा भन्छिन्, ‘दिनको ढ्यारी बस्छ ।’

औंला भाँचेर हिसाब गर्ने हो भने पनि दिनका एक हजार रूपैयाँले हिसाबले एक महिनामा ३० हजार नगद उनको हातमा पर्छ । यो भनेको निम्न माध्यमिक तहको शिक्षकको मासिक तलव बराबर हो । उनको स्वरोजगार यसै पनि आकर्षक छ ।

‘स्याउला सोहर्ने ठूला राङ्गे ६०० रूपैयाँ, डोका भने साना ठूला हेरेर ३००/३५० पर्छन्’ उनको सहज मौखिक मूल्य छ । बुनि सकेको हुँदैन ‘यो मेरो र त्यो तेरो’ भनी ग्राहक राङ्गे/डोका आफूले छनौट गर्न थालिहाल्छन् ।

उनले चोया कलाएर पनि दिनमा ४/५ वटा डोका बुनिसक्छिन् । उनको पौरख रहरलाग्दो छ । यही कमाइले घर धान्ने र छोरी हिरा थापालाई विद्यालयमा पढाउने गर्न सकेकी छन् उनले ।

‘ढुक्क छ, घर धान्न समस्या छैन’, उनी निर्धक्कताका साथ बोल्छिन् । हिउँदका छोटा दिनमा पनि उनी ४/५ वटा डोका नियमितजसो बुन्छिन् । लामा दिनमा धेरै डोका बुन्न सकिने उनको आशा त छँदैछ ।

बुनेका डोका घरआँगनमै बिक्रि हुन्छन् । बाहिरफेर बजार खोजिराख्नु पर्दैन । उनको अनुभव छ, ‘हात हातै किनेर लगिहाल्छन् ।’ जाँगर चाहियो, उत्पादन खेर जाने चिन्ता छैन ।

तर पनि सिप र उद्यमकी धनी रामसरीका दिन सधैं एकनासका हुन सकेनन् । उनले पारिवारिक विछोड सहनु पर्‍यो। पतिसँग सम्बन्ध विच्छेद भयो । अहिले छोरी पालेर एकल जीवन निर्वाह गरिरहेकी छिन् । तथापि आँट र उद्यमशीलतामा कुनै कमी आएको छैन ।

३ वर्ष अघि रूखबाट खसेर देब्रे खुट्टा भाँचिएपछि निकै दुःख पाएकी उनी अहिले खुट्टामा रड राखेर पनि निको भइसकेकी छिन् । धनपैसाको कमी र निरन्तर नेपालगञ्ज अस्पतालको आउजाउले निकै सकसमा थिइन् उनी त्यति बेला ! यस्तो छ उनका दुःखका दिनको सम्झना !

अहिले त केही राहत मिलेको अनुभूति छ उनलाई ! भन्छिन्, ‘घरमूलि पनि आफै, मजदूर पनि आफैं !’ उपचारको ऋण तिरिसकेपछि उनी उनकै भाषा र अभिव्यक्तिमा ‘ढुक्क छिन्’ अब त ।

आफ्नो माइती घर खलसिंगे गाउँमा बाबु खिमलाल पुनसँगै ८/१० वर्षको उमेरदेखि चोया डोकामा रमाउन थालेकी उनले त्यति बेलै आफ्नो सिप प्रदर्शन गरिसकेकी थिइन् । बाँस छनौट गर्नु, चोया कलाउनु र डोका बुन्नु उनका लागि सरल र सहज काम हो ।

सात दिदीबहिनीमध्ये साँहिली उनी डोको बुन्ने सिपमा सबैभन्दा अगाडि नै थिइन् । उहिले सिकेको त्यो सिप अहिले आएर उनका लागि बरदान साबित भएको छ ।