• मंसिर ११ २०८१, मंगलवार

आफ्नो देशका विकृतिमाथी आफ्नै विचार

लोकतन्त्रको आगमनसँगै हाम्रो देश कमाएर खाने होइन, गुमाएर खाने भएको छ । भाषा, संस्कृति मात्रै होइन भूमि र मानिस पनि गुमाएको छ देशले । व्यापारघाटा तीव्र भएपछि केही विलासी र धेरै महँगा सामानमा आयात प्रतिबन्ध लगाइएको थियो तर विगत आठ महिनामा भएको यो व्यवस्थाले भंसार राजस्व मात्रै घटाएन, तीव्र महँगी पनि बढायो । निजीक्षेत्रहरुले यो प्रणाली हटाउन भगीरथ प्रयत्न गरे, हट्यो पनि । चुनावमा हारेको र नयाँ संसद आइसकेको बेला काम चलाउ सरकारले यस्तो प्रतिबन्धको फुकुवा गरेकोमा केहीले त बोले पनि तर के गर्नु यही सरकारले नै गरेको हो पहिलेको प्रतिबन्ध पनि ।

देशको सिमाना चुनावमा मात्र मिचिएको होइन, चुच्चे नक्साको इतिहास लामो भइसकेको छ । कसैले मुख जुधाएर कुरा गर्न सक्तैन । देश चुनावमा होमिएको बेला भनियो रुपन्देहीको दशगजामा पर्खाल लगाउँदा, नेता होमिए पनि चुनावमा, तर स्थायी सरकार प्रशासन यन्त्र जिउँदै थियो । महाकालीमा नदीको धार नै परिवर्तन गर्ने गरि तटबन्ध निर्माण हुँदा कुटनैतिक नोट बल्ल पठाइन्छ । त्यस्तो नोट कतिवटा यसअघि गयो पत्तो अत्तो नै भएन । लोकतन्त्र धान्न चुनाव लाग्दा २ सय वटा सवारी साधन आएको मात्रै होइन, हालको लोकतन्त्र पनि दक्षिण पश्चिमतिरैबाट आएको हो । लोकतन्त्रदेखि नै देशमा शासन स्थिर छैन, यसपल्टको चुनावले परिणाम देखाइसकेको छ, अब पनि पहिलेझैं बिना आशीर्वाद सिंहदरबार या बालुवाटार छिर्न सकिने अवस्था छैन । देशमा एकमना, दुईमना, तीनमना सरकार देखियो । प्रतिपक्षी नै नहोला जस्तो भइसकेको छ अहिले त । कडा प्रतिपक्षी हुँदा कुनैबेला संसदमै ढलेका थिए प्रजातन्त्रका विरासत भनिएका प्रधानमन्त्री गिरिजा कोइराला ।

लोकतन्त्र आगमनसँगै देशमा उब्जनी केवल युवाशक्ति खाडीमा गएर मात्रै कम भएको होइन रहेछ । दिशाहीन नीतिका कारण विश्व माटो दिवस डिसेम्बर ५ मनाइरहँदा कृषि प्राविधिकहरुले ओकलेको तथ्य पनि हेरियो कि स्वदेशको माटोको उर्बराशक्ति नै रहेनछ । मौसम अनुसारको बाली प्रणाली नभएको, अधिक रासायनिक मल हालिएको, बेसिजनका बालीनाली, धेरै खाने छिटो मोटाउने नाममा हामीले माटोको शक्ति पनि गुमाइसकेका रहेछौँ । देशको संस्कृति, धर्म, एकता, राष्ट्रियताको शक्ति त छिन्न भिन्न भएकै छ । दुई तिहाईको सरकार नपच्दा आप्mनै धोती पुmुस्केको यथार्थ सायद नेताहरुले पछुतो गर्दै होलान् । कतै स्वतन्त्रहरुले गालैमा चड्कन हानेका छन् भने कसैले आप्mनै घर जलाएर धुरी चढ्ने मनसाय राख्दा रष्ट्रिय दल पनि बन्न नसकी निन्याउरो मुख लाउँदैछन् ।

कसैले एकाध सिट ल्याउँदैमा विजयी बनेको भन्न मिल्दैन बरु विजयी त सागर ढकालहरु हुन् जसले कमसे कम हिम्मत गरेको छ, घरैभित्र पसेर । कसैले घरभित्र पसेर सिंगो घर भत्काए भने कसैले अरुको घरको भित्तामा टाँसिएर आफ्नो साख बचाए, यसपालिको चुनावमा । सरकारबाट हटियो भने सुरक्षाको सबैभन्दा ठूलो दस्ताले मात्रै आफूलाई रक्षा गर्न नसक्ने बुझेका छन् यिनले र त पाहुना हँदै चुनाव जिते जस्तो गर्दै सत्ता बार्गेन गर्दैछन् । जति बार्गेन गरे पनि अहिले हंग संसद बनेको छ, यसले पूणर् कार्यकाल बितायो भने अनौठो मान्नुपर्छ । दुई तिहाईमा त ढलेको संसद खिचडी हुँदा नढल्ला भन्न सकिन्न । स्वदेशी विदेशी भई पहिलेजस्तै गरि टेको दिन नपर्ने पर्याप्त आधार पनि देखिँदैन ।

प्रभु कृपा नभई यहाँ केही नहुने हुँदा प्रभुहरुलाई खेल्ने अवसर पर्याप्त मात्रामा फेरि मिलेको छ । त्यसैले सिमानामा तैँ चुप मै चुप रहनु पर्ने हुनसक्छ । धेरैले पान मात्रै होइन जलपान पनि उतै गरेका र सबै कुरा उतैबाट सिकेको तर विकास र समृद्धि मात्रै आफूले सिक्न नजानेको हो । यदि आत्मनिर्भर हुन सिकेको भए प्रजातन्त्रको प्राप्तिसँगै देशभरिका उद्योग, कलकारखाना कौडीका भाउमा लिलाम हुन्नथे । गोरखकालीको टायरले टायर आयातको कमी हुँदा, उदयपुर, हिमाल सिमेन्ट, हेटौंडा सिमेन्टले विदेशी सिमेन्ट आयातमा कमी गरिदिँदा यी सबै भस्मासुरको हातमा पर्न गएको कुरा कसैबाट छिपेको छैन । देशको जवानी निर्यात हुँदा प्राप्त रकम २२ प्रतिशतको जिडिपी हिस्सा हुने तर देशकै पर्यटन क्षेत्रले २ प्रतिशत जिडिपीमा हिस्सा नदिने देश हो हाम्रो ।

हाम्रो संस्कृति खुट्टा तान्ने संस्कृति हो, उद्योगी, व्यापारीहरुको लगानी उद्योग व्यापार क्षेत्रमा भन्दा राजनीतितिर बढ्न थालेको छ, यसले देशको अर्थतन्त्रलाई सुधार गर्दैन ।

हामीले कुनैबेला निर्यात गर्दा कुनै बेला भ्यागुताहरु गथ्र्यौं रे, त्यो पनि बाकस बन्द नगरी खुल्लै । बाकस बन्द नगरी नेपालको सामान समुद्रपार देशहरुमा पुग्दा सबै छक्क पर्थे रे, कति इमान्दार नेपाली, कति निष्ठा र पारदर्शीता, सामान प्याक् नगरी पठाउँदा पनि सात समुद्र पारि सही सलामत पुगेको भन्थे रे । एकपल्ट त कोलकत्ताको बन्दरगाहमा एक सोझा भन्सार अधिकृतले भनेछन्, ‘होइन यी सामान प्याक् गरि पठाए राम्रोसँग पुग्छ नत्र हामी जिम्मेवार हुन्नौँ’ ।

नेपाली व्यापारीले भनेछन्, ‘धन्दा मान्नु पर्दैन, यो बाकस सही सलामत समुद्रपारि देशको बन्दरगाहमा पुग्छ, किन कि उक्त भ्यागुतो उफ्रेर बाकस बाहिर जान लाग्यो भने ३ भ्यागुताहरुले खुट्टैमा तान्छन्, त्यसैले कुनै उछिट्टिने सम्भावना छैन’ । कुरो बल्ल स्पष्ट भयो देशमा दुई तिहाई बुर्लुक्कै उफ्रिएको, भरे त धुजाधुजा ईश्वर, परमेश्वर मालिकहरु कति थरिका कसैले  बुझ्नै सकेन र अहिलेको चुनाव अघि तिनलाई हराउन सबै गठबन्धन खटेर लाग्यो, र त्यो दललाई साइजमा राख्न सफल पनि भएको देखियो ।

छुच्चो चिरबिरे बोली र आफ्नै दम्भले जनताको मतलाई लत्याइएको कारण आज कसैका प्रियपात्रहरु गुमनाम भएका छन्, अनावश्यक भ्यूटावरले देशको गरिवी हेर्न सकेन । उता नबोली नबोली भरेङ चढ्न सिपालुलाई धेरै आशीर्वाद छ, घरैमा मातृशक्ति हुनु, एमसिसी, एसपिपी छिराउन उनै आवश्यक पर्नु सिमानामा खुलेर नबोल्नुलाई परमेश्वरको निगाह भइरहेको बुझ्न गाह्रो छैन । र, त अप्राकृतिक गठजोड अन्त नसुहाए पनि हाम्रोमा गतिलै सुहाउँछ, यद्यपि मतदातालाई यी कुरा चित्त बुझेको होइन र त उनीहरुले आफ्नो शक्ति देखाएका छन् । अबको संसद अनि सरकार चलाएर लोकतन्त्रको नमूना थप हेरौँ भन्दैछन् मतदाताहरु, र यसपालि संसदले सरकारै दिन सकेन भने पनि अन्यथा मान्नु हुन्न, दुई तिहाई हुँदा पनि ४ जना मन्त्री लिएर बालुवाटार बसेको, पछि बार्दली गएको हो ।

हारेकाले पनि राजीनामा नदिई सरकार चलाइराख्ने देश पनि हो यो । सडक सफा गर्छु, फोहोर फाल्छु, हुकुमबासीहरुको दबदबा रोक्छु भनी चुनाव जितेका र तिनले काम देखाउन खोज्दा जताततै अपजस् खेप्ने देश, ढुंगामुडा, भाला, खुकुरी, गुलेली हान्ने देश पनि हो यो । यहाँका बालेन, पूर्वका हर्क, पश्चिमका हमाल, ढकाल अनि चितवन बीचका रवि आउने देश पनि हो यो, लोकतन्त्रको उन्नत उपलब्धि । देवघाटको भीडबाट तर्सिएर नागरिकतामा मुद्धा चल्ने देश पनि हो यो पनि ।

आर्यघाटसम्म देशलाई पेवा बनाउने मृत्युपछि संस्थाहरु खोलेर राज्यको ढुकुटीमा तर मार्ने र मरेका पितृहरु नै चुनावमा उपस्थित हुने देश पनि हो हाम्रो । धर्म पुराणले दुर्घटनामा मरेका, मारिएकाको अतृप्त आत्माले पोल्ने गरि कंकाल देखाउँछन् भनेर लेखिएको छ । संविधान बन्न बीसौँ हजार मानिसको खर्च भएको र तिनको कंकालले कस्कसलाई लखेटेको छ कि छैन थाहा भएन तर देशलाई ऋणले किचेको छ, व्यापारघाटाले थिचेको छ, महँगीले पिल्सिएको छ, गरिव जनताको आँसुमा पौडी खेलेको छ राजनीतिले ।

यी मात्रै लोकतन्त्रका उपहार भने होइनन् हाम्रा, प्रदेश भन्ने राजधानीको नाम राख्न नसक्ने, राखिएको नाममा रातरातै साइनबोर्ड सार्र्ने र धेरैजसो काम मध्यरातमा गर्नु पर्ने संघीयता र गणतन्त्र अनि लोकतन्त्र ल्याउने देश पनि हो हाम्रो । मध्यरात बितिसकेपछि संसदको घाँटी निमोठ्न शीतल निवास जागा हुने, कार्यकाल सकिनै लागेकोले नागरिकताको धागो भने सियोमा छिरिसकेको र गाँठो मात्रै अड्केको देश पनि त हो हाम्रो ।

देश समृद्ध छैन, भिक्षार्थी छ, सुदामा जस्तै । भागवतमा एउटा प्रसंग आउँछ । कृष्ण र सुदामा बालसखा थिए । दुबैले गुरुकुलमा पढे, फुर्सदमा गुरुलाई दाउरा खोजेर ल्याउनु दुबैको काम थियो । दिउँसो जंगल जान्थे ती । गुरुआमाले खाजाका लागि १२ गेडा चना बराबरी खानु भनेर खाजा दिन्थिन् । कृष्ण दाउरा भाँच्न रुख चढेका बेला सुदामाले सबै खाइदिए, अर्काको भाग खोसियो, उनले भने आज खाजा छैन, तर कृष्ण सर्वज्ञाता भएकाले उनले बुझे, तर नबुझे जस्तो गरे ।

एकदिनको खाजाको गड्बडीले सुदामाको सबै श्रीसम्पति कृष्णले लिए, पछिसम्म उनी ठूलो गरिवीमा परे । पछि कृष्ण द्दारकाधीश हुँदा खाजा चनाको पैँचो तिर्न कनिका लिएर भेट्न गए सुदामा । कनिका खाइदिए कृष्णले कोसेली भनेर, तुरुन्तै सुदामा समृद्ध बने, वैभवशाली भए । यो कथा लाक्षणिक छ, १२ बुँदेले गरेको जे हो त्यसैको परिणति हो यो अहिलेको देशको अवस्था, कस्कसलाई कति समृद्ध बनाउनु वा के कति कहाँ उधारो छ तिर्न बाँकी, हिसाब किताब छर्लङ्ग नभएसम्म देशमा हुने यस्तै हो, ह्याङ पार्लियामेण्ट, ह्याङ गभर्नमेन्ट । संविधान बन्नु अघि देशका प्रतिनिधि पात्रहरुले देशाटन गर्दै लिएका जनमतको पोका कता छ, सायद धुलोले खायो होला ।

भवन आप्mनो नभएकाले भण्डारणको क्षमता नभएको हुनसक्छ । अहिले महंगा वस्तुहरुको आयात खुल्नुमा नयाँ अनुहारलाई तुरुन्तै नयाँ नयाँ गाडीहरु उपलब्ध गराउन पनि हुनसक्छ, आम गरिव नेपालीलार्ई आयात खुकुलो बनाउँदा के फरक पर्छ वा राहत मिल्छ ?