काठमाडौं । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटभन्दा केही दूरीमा समुद्रतर्फ दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाका सेनाले उक्त जानकारी दिएको हो। जापानका उप विदेश मन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको विशेष आर्थिक क्षेत्र भन्दा बाहिर रहेको हुनसक्ने बताएका छन्।
जापानी रक्षा मन्त्रालयका अनुसार यी मिसाइलले ५०० किलोमिटरको उचाईसम्म उडान भरेको र २५० किलोमिटरको दूरी तय गरेका छन्।
उपरक्षामन्त्रीले अहिलेसम्म कुनै प्रकारको क्षतिबारे खबर नआएको बताएका छन्। उत्तर कोरियाले बिहीबार हाइ थ्रस्ट सोलिङ फ्यूल इन्जिनको पनि परीक्षण गरेको थियो। जानकारका अनुसार यसबाट मिसाइललाई तीव्र गतिमा लञ्च गर्न सहयोग पुग्छ।
उत्तर कोरियाले यसै वर्ष कैयौं मिसाइल परीक्षण गरेको छ। जसमा एक अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल पनि रहेको छ।
यस मिसाइलमा अमेरिकी जमिनसम्म पुग्ने क्षमता रहेको बताइएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद पनि उत्तर कोरियाले आणविक परीक्षण जारी राखेको छ। -एजेन्सी